काठमाडौँ, असोज १३ गते । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र सडक सम्पर्क पुनःस्थापनाको कामलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबिच समन्वय बढाइएको छ ।
मनसुन प्रतिकार्य कमान्ड पोस्टमा आज बसेको बैठकमा भोटेकोशी बाढी तथा यही असोज ८ देखि ११ गतेसम्म भएको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट भएको क्षति, खोज तथा उद्धार, राहत व्यवस्थापन र अवरुद्ध सडक पुनःस्थापनाका लागि भइरहेका प्रयासबारे छलफल भएको हो ।
बैठकमा प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउने, क्षतिको विवरण अद्यावधिक गर्ने तथा सडक सम्पर्क पुनःस्थापनाका लागि भइरहेका कामको समीक्षा गरिएको थियो ।
केन्द्रीय मनसुन प्रतिकार्य कमान्ड पोस्टका संयोजक डा धर्मराज उप्रेतीसहितको टोलीले रसुवा, नुवाकोट र धादिङका जिल्ला मनसुन प्रतिकार्य कमान्ड पोस्टसँग समन्वय गर्ने निर्णय बैठकले गरेको छ ।
संयोजक उप्रेतीले अस्थायी आवासका लाभग्राही पहिचान, सम्पर्कविहीन व्यक्तिको विवरण रुजु तथा प्रमाणीकरण र सोही आधारमा मृतकका परिवारलाई राहत उपलब्ध गराउने विषयमा छलफल भएको बताउनुभयो ।
बैठकले प्रभावित परिवारलाई राहत तथा अस्थायी आवासको व्यवस्था गर्न आवश्यक विवरण यथाशीघ्र अद्यावधिक तथा प्रमाणीकरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया