असोज १७, २०८३ शनिबार October 3, 2026

गल्छी-वेत्रावती सडकखण्डमा यातायात सञ्चालन

रसुवातर्फको बेलिब्रिजको जग निर्माण कार्य पनि अन्तिम चरणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, असोज १७ गते । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण लगभग महिना दिनदेखि ठप्प रहेको गल्छी–वेत्रावती सडकखण्डमा पुनः यातायात सञ्चालनमा आएको छ । सो सडकखण्डमा ट्र्याक खोल्ने कार्य सम्पन्न भएसँगै शुक्रबारदेखि यातायात सञ्चालनमा आएका हुन् । गल्छी–त्रशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका प्रमुख इन्जिनियर कृष्णनाथ ओझाले यातायात सञ्चालनमा आएसँगै सडक सञ्जालबाट विच्छेद भएको रसुवा जिल्ला पुनः जोडिएको र सर्वसाधारणको आवतजावतसमेत सुरु भएको जानकारी दिनुभयो । यातायात पुनः सञ्चालनमा आएसँगै सो क्षेत्रका बासिन्दा र यात्रुहरूलाई ठुलो राहत पुगेको उहाँले बताउनुभयो ।

चीनसँगको मुख्य व्यापारिक नाका रसुवागढी जोड्ने यो सडकखण्ड दसैँको मुखमा खुल्दा स्थानीय बासिन्दा तथा व्यापारीहरूले ठुलो राहत महसुस गरेका छन् । बाढीका कारण सडक संरचनामा क्षति पुगेपछि रसुवा आवतजावत प्रभावित हुँदै आएको थियो । ट्र्याक खुलेसँगै यातायात सञ्चालन सहज हुने र बेलिब्रिज जडानपछि सडकमार्ग थप व्यवस्थित हुने अपेक्षा गरिएको छ ।

गत भदौ १० गते चीनतर्फबाट आएको भीषण बाढी र पहिरोले गल्छी–रसुवागढी सडकखण्डको करिब ५५ किलोमिटर क्षेत्रमा ठुलो क्षति पुर्‍याएको थियो । बाढीले खर्र्बौंको भौतिक क्षति पु¥याउनुका साथै सो क्षेत्रका थुप्रै पुल बगाएपछि रसुवा पूर्ण रूपमा सडक सञ्जालबाट विच्छेद भएको थियो । इन्जिनियर ओझाका अनुसार रसुवासँग जोड्ने यो मुख्य सडकमार्ग खुलाउन प्राविधिक टोली र सुरक्षा निकायले चौबिसै घण्टा काम गरेका थिए । मुख्य रूपमा वेत्रावती भिर र उत्तरगया पब्लिक स्कुल नजिकैको कडा चट्टानलाई छिचोल्दै नयाँ ट्र्याक तयार पारिएको हो ।

ट्र्याक खोल्ने काम सम्पन्न भएसँगै सडकखण्डमा बेलिब्रिज जडानको कामसमेत अगाडि बढाइएको छ । नुवाकोटतर्फ बेलिब्रिज निर्माणका लागि जग (फाउन्डेसन) तयार भइसकेको छ भने नेपाली सेनाको सहयोगमा बेलिब्रिज जडानको तयारी सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार रसुवातर्फको बेलिब्रिजको जग निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ । निर्माण कार्यलाई तीव्रता दिँदै एक साताभित्र बेलिब्रिज जडान सम्पन्न गर्ने लक्ष्यसहित काम अगाडि बढाइएको हो ।

‘ग्रेड’ मिलाउन बाँकी

ट्र्याक खोलेर यातायात सञ्चालनमा आए पनि सडकको ग्रेड मिलाउने र ग्राभेल हाल्ने प्राविधिक कामहरू बाँकी रहेको इन्जिनियर ओझाले बताउनुभयो । उहाँका अनुसार यो क्षेत्रमा बेलिब्रिज जडानलाई समेत तीव्रता दिइएको छ । सडकमार्ग खुला भएसँगै बाढीले बगाएका पुलहरूको ठाउँमा आपत्कालीन बेलिब्रिज जडानको प्रक्रियासमेत सँगसँगै अगाडि बढाइएको हो । नुवाकोटतर्फ बेलिब्रिज निर्माणका लागि जग तयार भइसकेको छ भने नेपाली सेनाको सहयोगमा बेलिब्रिजका सामान जडान गर्ने अन्तिम तयारी सुरु गरिएको छ ।

त्यसै गरी रसुवातर्फको बेलिब्रिजको जग निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया