जेठ ७, २०८१ सोमबार May 20, 2024

महानवमी पर्व : दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आइतवार हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ ।

महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैंघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना, दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।

पशुबलि नदिनेहरूले भने आइतवार आ-आफ्नो कुल परम्परा अनुसार कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ ।

मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई मारेको (वध) ले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ ।

महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ ।

प्रत्येक वर्ष महानवमीका दिन बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइने गरेकामा यो वर्ष कोरोना भाइरस संक्रमणका कारण नदिइने निर्णय सरोकार भएका निकायको बैठकले गरेको छ । घटस्थापनादेखिको नित्य पूजा र बलिको कार्यक्रम भने भइरहेको दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले बताए ।

कोरोनाका कारण तलेजु भवानी मन्दिर नखुल्ने

हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि यो वर्ष कोरोनाकै कारण नखोलिने उहाँले बताउनुभयो । तुलजा भवानीको यात्रा भने नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा गरिने छ ।

वर्षमा एक दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र खुल्ने परम्परा छ । वर्षमा एक दिनमात्र खुल्ने भएकाले यहाँ दर्शनार्थी एवं पूजा गर्ने भक्तजनको भीड लाग्ने गरेको थियो ।

तलेजु भवानीको दर्शन गर्न चाहने भक्तजन महानवमीका दिन बिहानै लाममा बस्ने गरेका थिए । लाम बसेका सबै भक्तजनलाई देवीको दर्शन गर्न दिने गरिन्छ । महानवमीका अवसरमा आइतवार नेवारी समुदायले भने भीमसेनलाई बलिसहित पूजा गर्ने परम्परा छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया