असार २४, २०८२ मंगलबार July 8, 2025

सामरिक महत्त्वको गम्भीर प्रश्‍न- श्रीकृष्ण अनिरुद्ध गौतम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विश्व परिदृश्यमा व्यापक फेरबदल हुने लक्षण देखिँदै छन् । यसमा नेपाल अपवाद होइन, त्यसैले सम्भावित परिवर्तनबाट आगामी दिनहरूमा नेपाली धरती र परिवेश पनि प्रभावमुक्त रहनेछैन । त्यसको संकेत भारतीय गुप्तचरहरूको बालुवाटार ओहोरदोहोरले प्रकट गरेको त छ नै, गुप्तचर गुप्त रूपमा आएनन्, दिल्लीदेखि नै थाहा दिँदै यसरी खुलेआम किन आए, यसको विशेष अर्थ हुनुपर्छ, र हुन्छ नै ।

त्यो अर्थ कि भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई थाहा होला, नत्र भने उनै भारतीय गुप्तचर प्रमुख सामन्त गोयललाई । यहाँ प्रश्न गुप्तचर किन आए, ओलीलाई किन भेटे, त्यो आफ्नो ठाउँमा छ; त्यसरी भेट्नु गलत हो; यद्यपि गुप्तचरले भेट्छन् । तर उदेक के भने, गुप्तचर टोली दिल्लीबाटै सूचना प्रवाहित गराउँदै आउनुचाहिँ अर्थपूर्ण र अस्वाभाविक हो । अस्वाभाविक हो किनभने राज्य कार्यकारिणीलाई आफ्नै देशका र विभिन्न मित्र देशका गुप्तचरहरूले भेट्छन् नै र विभिन्न सिलसिलामा संयुक्त राज्य अमेरिका, चीन, उत्तर कोरिया, रुसका गुप्तचरहरूले भेटेकै होलान् । तर हल्ला चलाएर भेट्दैनन् । गोप्य आउँछन्, गोप्यै जान्छन् ।

राज्य कार्यकारिणीले गुप्तचरहरूसँग भेट्छन् । गोयल टोलीले बडो ठूलो हल्लीखल्ली गर्दै भेट्नुको प्रयोजनलाई, एक थरीले भनेजस्तै, ओली उदांगिएका अर्थमा लिनु हतार हुन्छ । जे देखिएका छन्, त्यो उनको देखावटी रूप हो, भित्री रूप अर्कै छ र राष्ट्रवाद भोट बटुल्ने तिकडम मात्रै थियो भन्ने निष्कर्षमा अहिल्यै पुगिहाल्नु पनि उचित होइन । ओली ठूलै बाध्यतामा परेका होलान् । परिबन्दमा बेरिएका होलान्, नत्र त्यतिका बोलन्ता ओली यस सन्दर्भमा यसरी मौन धारण गरेर बस्ने थिएनन् । उनी पक्कै त्यत्तिकै मौनधारण गरेर बसेका होइनन् । मनन गरौं, क्षेत्रीय र वैश्विक परिस्थितिमा धेरै ठूलो परिवर्तन हुनेतर्फ घटनाहरू उन्मुख छन् । यी बदलिँदा घटनाहरूको परिवेशमा नेपाल पनि सानोतिनो होइन, बरु गम्भीर रूपमा प्रभावित हुने सम्भावना छ । सम्भावना छ किनभने दुई द्वन्द्वरत प्रतिद्वन्द्वी र महत्त्वाकांक्षी देशहरूबीच धेरै नै सन्तुलन मिलाउनुपर्ने हुन्थ्यो, त्यो सन्तुलन मिलाउन ओलीले धेरै विलम्ब गरे । गोयलको आगमन त्यसैले सांकेतिक छ । त्यो संकेत सार्वजनिक जानकारीमा पुगोस् भन्न नै उनी छर्लंगै देखिने गरी आएका हुन् र यसलाई त्यसै रूपमा बुझ्नु उचित हुन्छ ।

प्रस्टै छ, संयुक्त राज्य अमेरिका खुलेरै चीनलाई घेराबन्दी गर्न लागेको छ र चीनले पनि बेल्ट एन्ड रोड इनिसिएटिभ अन्तर्गत आफ्नो आर्थिक र सामरिक महत्त्वाकांक्षाको विस्तार नै गर्न खोजेको हो । भनिरहनु नपर्ला, नेपाल बेल्ट एन्ड रोडमा हस्ताक्षरकर्ता हो । पाकिस्तानसँग चीनको सहकार्य कति सघन छ, यसको पुनरावृत्ति आवश्यक छैन । यस्तोमा भारतले आफूलाई चीनबाट घेरिइरहेको महसुस गर्नु अस्वाभाविक थिएन र होइन । पाकिस्तान, श्रीलंका, बंगलादेश र नेपालमा चीनको रणनीतिक अभिरुचि न अमेरिकाबाट लुकेको छ, न त भारतबाट नै । यति मात्र होइन, आज चीनका पखेटा युरोप र अफ्रिकासम्म फैलिएका छन् । स्वयं अमेरिकै चीनको व्यापार विस्तार र सामरिक महत्त्वाकांक्षाका कारण आक्रामक हुँंदै गएको छ । यी हरफसँगै के पनि ख्याल राख्नुपर्छ भने, कुनै देशको प्रभाव विस्तार हुनुको अर्थ केवल व्यापार विस्तार होइन, देशविशेषको जीवनशैली, राजनीतिक मान्यता र आन्तरिक ध्येयको विस्तारसमेत हो र यसमा चीनको मनसाय फरक छैन ।

दुई द्वन्द्वरत प्रतिद्वन्द्वी र महत्त्वाकांक्षी देशहरूबीच धेरै सन्तुलन मिलाउनुपर्नेमा ओलीले धेरै विलम्ब गरे । गोयलको आगमन त्यसैले सांकेतिक छ । त्यो संकेत सार्वजनिक जानकारीमा पुगोस् भन्न नै उनी छर्लंगै देखिने गरी आएका हुन् ।

अमेरिका चीनको यस रूपमा विस्तार होस् भन्ने चाहँदैन र भारत मात्र होइन, जापान, अस्ट्रेलिया र युरोपीय देशहरूसमेत महत्त्वाकांक्षी चीनको पक्षमा छैनन् । छैनन् किनभने चीन, विघटित सोभियत संघजस्तै, उनीहरूले दुत्कारेको कम्युनिस्ट व्यवस्थाको संवाहक हो र त्यस्तो चीनको प्रभाव विस्तार रोक्नु अमेरिका लगायतका उल्लिखित देशहरूको साझा स्वार्थ हो । दोस्रो विश्वयुद्धताका एक थरी र त्यसपछिको अवस्थामा अमेरिकी नेतृत्वमा थप अरू देशहरूको गठबन्धन बनेजस्तै यसपाला चीनविरुद्ध नयाँ गठबन्धन बन्दै छ । विश्लेषण गरिरहँदा यसका कारण सृजित दबाब कस्तो होला, त्यसको अनुमान गर्नु आवश्यक छ । यसमा राजनीतिक भविष्यसित जोडिएको प्रश्न हुन सक्छ ।

गोयल काठमाडौं आएर गएको प्रसंग नसेलाउँदै गए मंगलबार भारतको नयाँ दिल्लीमा संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पम्पियो र रक्षामन्त्री मार्क एस्पर तथा भारतीय विदेशमन्त्री एस जयशंकर र रक्षामन्त्री राजनाथ सिंहबीच ‘वान टु वान’ वार्ता भएको थियो । भ्रमणमा रहेका अमेरिकी मन्त्रीहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरे । शिष्टाचार भेट गरे पनि मात्र शिष्टाचारवश उनीहरू दिल्ली पुगेका थिएनन् । दुई देशबीच गम्भीर र दूरगामी महत्त्वका निर्णय गर्न गएका र त्यसैअनुरूप उनीहरूबीच सामरिक महत्त्वका सम्झौताहरू भएका छन् ।

सन् १९८० को दशकमा अमेरिकाले तत्कालीन सोभियत संघविरुद्ध गरेकै जस्तो तयारी अहिले पनि चल्दै छ र यो तयारी अझ कठोर पनि छ । किनभने, उतिखेरका सोभियत नेता मिखाइल गोर्वाचोभसँग अमेरिकी तत्कालीन राष्ट्रपति रोनाल्ड रेगन र त्यसपछिका जर्ज बुस (सिनियर) को व्यक्तिगत सम्बन्ध राम्रो थियो, जबकि चीनका वर्तमान नेता सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच कुनै किसिमको मिल्ती छैन । सोभियत संघ सुधारोन्मुख थियो । आजको चीन राजनीतिक रूपमा सुधार र खुलापनतर्फ उन्मुख हुनु त परै, अरू कठोर बनिरहेको छ । यसर्थ, भावी द्वन्द्व, यदि भएमा, निकै चर्को हुन सक्ने देखिन्छ । तिनका लक्षणले व्यापक परिवर्तनतर्फ इंगित गरिरहेका छन् । त्यसैले अनुमान गर्न मिल्छ र सकिन्छ । विश्वशक्तिहरूबीच पुनश्च वर्चस्वका निम्ति एउटा नयाँ घमासान हुनेछ । यसमा आश्चर्य नमाने हुन्छ ।

सन् १९९० को दशक प्रारम्भका घटनासँगै शीतयुद्धको अन्त्य र नयाँ विश्व व्यवस्थाको उदय भएको थियो र त्यस बखत पनि विश्व मानचित्रमा नयाँ राज्यहरूको उदय भएको थियो । जस्तै- सन् १९९१ को डिसेम्बरमा सोभियत संघ पन्ध्र टुक्रामा विभाजित भएको र त्यससँगै सोभियत अस्तित्व अतीतका पानामा विलीन हुन पुगेको थियो । विश्व परिदृश्यमा आज जेजस्ता संकेत देखिँदै छन् यसबाट के अनुमान गर्न सकिन्छ भने २०४६ साल अर्थात् सन् १९९० को दशककै शैलीका फेरबदल हुन सक्छन्, व्यापक र दूरगामी । चीन र भारतका बीचमा अवस्थित भएका कारण नेपाल सम्भावित उथलपुथलको प्रत्यक्ष साक्षी बन्ने सम्भावना त्यत्तिकै प्रबल छ । तर यसमा चिन्ता तथा जिज्ञासा के भने साक्षी मात्रै बन्ने हो कि उथलपुथलमा होमिने नै हो भन्ने असमञ्जस त्यत्तिकै छ । कतै यसले सन् १९८५–९० ताकाको अफगानिस्तानको नियति त भोग्ने होइन, जहाँ अमेरिकी र तत्कालीन सोभियत स्वार्थहरूको अन्तरसंघर्षमा देशको भविष्य नै बरबाद भएको र त्यहाँ अहिलेसम्म शान्ति स्थापित हुनु त परै, दिनहुँ रक्तपात चलिरहेको छ ?

यथार्थमा इन्डो–प्यासिफिक र क्वाड दुवै छुट्टै प्रतीत भए पनि पृथक् होइनन् । परस्पर परिपूरक हुन् र यी दुवै अवधारणाको ध्येय चीनको उचालिँदो महत्त्वाकांक्षा नियन्त्रित गर्नु र उसको विस्तारलाई रोक्नु हो ।

एकै छिन, (२०४६ सालभन्दा पहिलाका अवस्थाको) फ्ल्यासब्याकमा जाऔं । सन् १९९० आउँदा–नआउँदै पूर्वी युरोपका एकतन्त्री कम्युनिस्ट शासन धराशायी भएका थिए । प्रथम विश्वयुद्धकै हाराहारी स्थापित कम्युनिस्ट पार्टीको सोभियत साम्राज्य भत्किँदै थियो र अन्ततः माथि भनिएझैं स्थापित भएको ७४ वर्षपछि सन् १९९१ मा धराशायी हुन पुगेको थियो ।

लोकतन्त्रका पक्षमा कम्युनिस्ट विरुद्धको त्यो लहरले सम्पूर्ण विश्वलाई नै लपेटेको थियो । मानौं सागरदेखि नदी, खोल्साखोल्सीसम्मकै जल तरंगित भएको थियो एकैसाथ । त्यो भव्य परिवर्तनले पूरै इतिहासकै दिशा बदलिदिएको थियो । बडो रोमाञ्चक थियो त्यो समय । कम्युनिस्टविरुद्धको त्यो लहर भव्य र युगान्तकारी थियो । विश्वलाई चकित पारेको थियो, किनभने त्यो लहर मुख्यतः कम्युनिस्टहरूविरुद्ध एकोहोरिएको मात्र होइन, विश्वका कम्युनिस्टइतर तानाशाहहरूको मुटु पनि हल्लिएको थियो र त्यसैमा सामेल थियो नेपालको त्यति बेला राजा नेतृत्वको निरंकुश पञ्चायती व्यवस्था । तर त्यस्तो अवस्थामा पनि विचित्र के भने, नेपालका कम्युनिस्टहरू लोकतान्त्रिक आन्दोलनको हिस्सा बन्न आएकाले उनीहरू मासिनबाट जोगिएका थिए । जोगिएका मात्र होइन, बिस्तारै पहिलाभन्दा बढी सशक्त रूपमा प्रस्तुत हुन थालेका र आज आउँदा झन्डै दुईतिहाइ मत प्राप्त गरेर सरकारै बनाएका छन् ।

फेरि उतै फर्कौं, निश्चय नै कम्युनिस्ट शासनै भएर पनि चीन, उत्तर कोरिया, क्युबा धराशायी हुनबाट जोगिएका थिए । त्यति बेला जोगिएको चीन आज द्वन्द्वको लक्ष्य बनेको छ । सन् १९९० पछिको अवस्थामा उपस्थित हुन आएको विश्व व्यवस्था र त्यसपछि कायम हुन आएको सन्तुलन गडबडाउन थालेको छ । नयाँ गठजोडहरू निर्माण हुन थालेका छन् । संयुक्त राज्य अमेरिका दोस्रो विश्वयुद्धपश्चात् बनेको उत्तर आन्ध्र सन्धि संगठन अर्थात् नर्थ अटलान्टिक ट्रिटी अर्गनाइजेसन (नेटो) जस्तै तर अझ सशक्त सामरिक गठबन्धन निर्माण गर्नतर्फ अग्रसर भइरहेको छ । पम्पियो र एस्परको भ्रमण त्यसै सिलसिलाको एउटा महत्त्वपूर्ण कडी हो ।

यसपालि त्यसको प्रमुख किरदार हिन्द–प्रशान्त रणनीतिक गठबन्धन अर्थात् इन्डो–प्यासिफिक स्ट्राटेजिक अलाएन्स रहनेछ भने, त्यहीँ चतुष्कोणीय सुरक्षा सहकार्य अर्थात् क्वाड सक्रिय छ । अमेरिका, भारत, जापान र अस्ट्रेलिया यसका सदस्यराष्ट्रहरू हुन् । यो सामरिक सहकार्य हो । यसको परिकल्पना सन् २००७–०८ मै गरिएको र सन् २०१७ देखि अझ सशक्त रूपमा सक्रिय बनाइएको छ । स्मरणीय छ, क्वाड जापानका तत्कालीन प्रधानमन्त्री सिन्जो आबेको अग्रसरतामा गठन भएको र यसमा गए पंक्तिमा उल्लिखित विश्वका चार प्रमुख लोकतान्त्रिक देश अमेरिका, भारत, जापान र अस्ट्रेलियाको सहभागिता रहेको छ ।

यथार्थमा इन्डो–प्यासिफिक र क्वाड दुवै छुट्टै प्रतीत भए पनि पृथक् होइनन् । परस्पर परिपूरक हुन् र यी दुवै अवधारणाको ध्येय चीनको उचालिँदो महत्त्वाकांक्षा नियन्त्रित गर्नु र उसको विस्तारलाई रोक्नु हो । यसै सन्दर्भमा हालै अमेरिकाका विदेशमन्त्री पम्पियो र रक्षामन्त्री मार्क एस्परले दुई देशका बीच विशेष सामरिक महत्त्वका भू–अवस्थितिसम्बन्धी तथ्यांक आदानप्रदान गर्ने सम्झौता भएको हो । यता भारतको चीनसँग बढ्दो तनाव र यी दुईबीच, पहिला दोक्लम र गत केही महिनादेखि लद्दाखको गल्वान उपत्यकामा एकपछि अर्को गर्दै निरन्तर भिडन्तको अवस्था उत्पन्न भइरहेकै परिवेशमा भारतको अमेरिकासँग सघन भइरहेको सामरिक सम्बन्धलाई निश्चय नै अर्थपूर्ण मान्नुपर्छ । यस्तोमा नेपालसामु गम्भीर सामरिक प्रश्न उपस्थित भएको छ, आफूलाई कहाँ राख्ने ? चीनसँग कि भारत-अमेरिकासँग ? कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार