कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

कंगोमा इबोला सङ्क्रमित ११ हजार नाघे, पाँच हजारभन्दा बढीको मृत्यु

विशेषगरी इतुरी र उत्तर किभु प्रान्तमा हिंसा पुनः चर्किएपछि स्वास्थ्य अधिकारीहरू थप चिन्तित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । अफ्रिकी मुलुक कंगोमा इबोला सङ्क्रमण तीव्र रूपमा फैलिँदा सङ्क्रमितको सङ्ख्या ११ हजार नाघेको छ । पछिल्लो सरकारी तथ्याङ्कअनुसार अहिलेसम्म ११ हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ भने पाँच हजार ३८७ जनाको मृत्यु भइसकेको छ । यो कंगोमा देखिएको अहिलेसम्मकै सबैभन्दा घातक इबोला प्रकोप हो ।

कंगोको स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार सङ्क्रमितमध्ये झन्डै आधाको मृत्यु भएको छ । गत मे महिनाको मध्यतिर प्रकोप घोषणा गरिएयता सङ्क्रमण नियन्त्रणका प्रयास भइरहे पनि विभिन्न चुनौतीका कारण अवस्था जटिल बन्दै गएको छ ।

सशस्त्र द्वन्द्व, कमजोर स्वास्थ्य प्रणाली, जीर्ण सडक पूर्वाधार तथा स्थानीय समुदायमा फैलिएको अविश्वास र गलत सूचनाले सङ्क्रमण नियन्त्रणमा कठिनाइ थपेको छ । स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणले पनि उपचार तथा रोकथामका काम प्रभावित भएका छन् । यसपटकको प्रकोपका लागि जिम्मेवार मानिएको ‘बुन्डिबुग्यो’ भाइरसविरुद्ध हालसम्म खोप वा उपचार विधि उपलब्ध छैन। यो भाइरस कंगोका २६ प्रान्तमध्ये आठवटामा फैलिसकेको छ।

ebolaविशेषगरी इतुरी र उत्तर किभु प्रान्तमा हिंसा पुनः चर्किएपछि स्वास्थ्य अधिकारीहरू थप चिन्तित बनेका छन् । उनीहरूले सङ्क्रमित बिरामीसम्म स्वास्थ्यकर्मीको निर्बाध पहुँच सुनिश्चित गर्न द्वन्द्वरत पक्षलाई लडाइँ रोक्न आग्रह गरेका छन् । कंगोका स्वास्थ्य मन्त्री रोजर काम्बाकाका अनुसार कुल सङ्क्रमितमध्ये करिब ७० प्रतिशत इतुरी प्रान्तका छन् । उत्तर किभु प्रान्त भने नयाँ सङ्क्रमण फैलिने प्रमुख केन्द्रका रूपमा देखिएको छ ।

स्वास्थ्यकर्मीमाथि आक्रमण, विद्यालयसमेत प्रभावित

इबोला भाइरसको अस्तित्वमाथि नै शङ्का गर्ने केही स्थानीय समुदायका मानिसले स्वास्थ्य संस्था र चिकित्सकलाई निशाना बनाउन थालेका छन्। यसका कारण स्वास्थ्यकर्मीमाथि पटकपटक आक्रमणका घटना भएका छन् । इतुरी प्रान्तका केही विद्यालयसमेत सङ्क्रमणबाट प्रभावित भएका छन् । त्यहाँका शिक्षकहरूमा सङ्क्रमण देखिएपछि विद्यालय प्रशासन विद्यार्थी तथा बाँकी कर्मचारीको सुरक्षालाई लिएर चिन्तित बनेको छ ।

प्रान्तीय राजधानी बुनियाका दुई विद्यालयका प्रधानाध्यापकले एसोसिएटेड प्रेस ९एपी० लाई बताएअनुसार सङ्क्रमणका कारण विद्यालयले आफ्ना कर्मचारीसमेत गुमाउनुपरेको छ । एक विद्यालयका प्रधानाध्यापक आइज्याक सिंग्मोमाले विद्यार्थी र कर्मचारी गहिरो मानसिक आघातमा परेको बताउँदै मनोवैज्ञानिक सहयोग आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।

इबोलाको इतिहासमा दोस्रो घातक प्रकोप

विशेषज्ञहरूले कंगोमा फैलिएको इबोला नियन्त्रणका लागि थप प्रभावकारी प्रयास आवश्यक रहेको बताएका छन् । यसअघि पनि इबोला युगान्डा, केन्या र नाइजेरियालगायत अफ्रिकी मुलुकमा फैलिएको थियो । सन् १९७६ मा पहिलोपटक पहिचान भएको इबोलाका त्यसयता दर्जनौँ प्रकोप देखिएका छन् । सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको इबोला प्रकोप अहिलेसम्मकै सबैभन्दा ठूलो र घातक थियो । उक्त प्रकोपमा २८ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका थिए भने ११ हजारभन्दा बढीको मृत्यु भएको थियो ।

हाल कंगोमा फैलिएको प्रकोप इबोलाको इतिहासमा दोस्रो सबैभन्दा घातक बनेको छ । पश्चिम अफ्रिकाको प्रकोपको तुलनामा यसमा सङ्क्रमित र मृतकको सङ्ख्या कम भए पनि सङ्क्रमितमध्ये मृत्यु हुनेको अनुपात उच्च देखिएको छ । -कान्तिपुरबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया