कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

अनमोल केसी अभिनीत फिल्म ‘बाटुलो जून’ आजदेखि दर्शकमाझ

४० वर्षअघिको नेपाली समाजको परिवेशमा आधारित चलचित्रमा दुई पुस्ताको प्रेमकथालाई समानान्तर रूपमा प्रस्तुत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । अभिनेता अनमोल केसी अभिनीत नेपाली चलचित्र ‘बाटुलो जून’ आज (बिहीबार)देखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ। अभिनेता भुवन केसीको निर्देशनमा बनेको चलचित्रले पुरानो समयको ग्रामीण परिवेश, प्रेम र सामाजिक सम्बन्धको कथालाई पर्दामा प्रस्तुत गरेको छ।

करिब ४० वर्षअघिको नेपाली समाजको परिवेशमा आधारित चलचित्रमा दुई पुस्ताको प्रेमकथालाई समानान्तर रूपमा प्रस्तुत गरिएको छ। नयाँ पुस्ताको प्रेमकथामा अनमोल केसी र नवअभिनेत्री प्रिन्सी खतिवडा देखिएका छन् भने पुरानो पुस्ताको कथामा भुवन केसी र अभिनेत्री गरिमा पन्तले अभिनय गरेका छन्।

चलचित्रमा अनमोल गाउँका शिक्षकको भूमिकामा छन् भने प्रिन्सी उनकी विद्यार्थीको भूमिकामा देखिएकी छन्। उनीहरूबीचको प्रेम सम्बन्धमा पारिवारिक अवरोध र सामाजिक परिस्थितिले ल्याउने उतारचढाव चलचित्रको कथाको मुख्य आकर्षण रहेको सार्वजनिक ट्रेलरले देखाउँछ।

विशेषगरी यस चलचित्रमा अनमोल केसी अघिल्ला फिल्मभन्दा फरक ग्रामीण चरित्रमा प्रस्तुत भएका छन्। सहरी परिवेशमा हुर्किएका उनले चलचित्रमा काम गर्ने क्रममा नेपाली समाज, संस्कृति र ग्रामीण जीवनलाई नजिकबाट बुझ्ने अवसर पाएको बताएका छन्।

यसै चलचित्रमार्फत अभिनेत्री प्रिन्सी खतिवडाले नेपाली चलचित्रमा अभिनय यात्रा सुरु गरेकी छन् भने लामो समयपछि अभिनेत्री गरिमा पन्त पनि पर्दामा फर्किएकी छन्। चलचित्रमा न्यान्सी खड्का, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमिल्सिना, लक्ष्मी गिरी, दीपक केसी, रेअर राई, श्वेता मिश्र, सुजन भाइ, सविन कट्टेल, सिद्धार्थ सिंह, अमितेश शाह, हिना नगरकोटी र संगी अधिकारी पोखरेललगायत कलाकारको अभिनय रहेको छ।

सनराइज पिक्चर्स प्रालि र भविष्य फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता जिया केसी र भविष्य खड्का हुन् भने विवेक थापा सहनिर्माता रहेका छन्। चलचित्रको लेखन सामीप्यराज तिमल्सेना र सरिन पोखरेलले गरेका हुन्। कृष्ण भण्डारीले सम्पादन गरेको चलचित्रमा रोमन बज्राचार्यको पार्श्वसङ्गीत र प्रदीप श्रेष्ठको एसोसिएट निर्देशन रहेको छ।

यसअघि दसैँमा प्रदर्शन गर्ने तयारी गरिएको चलचित्रलाई अन्य फिल्मसँगको प्रदर्शन मिति नजुधाउने र हलमा पर्दा बाँडफाँट सहज बनाउने उद्देश्यले तिहारपछि सारिएको थियो। निर्माण पक्षले कात्तिक २६ लाई नयाँ प्रदर्शन मिति तय गरेको हो।

पुरानो समयको प्रेम, पारिवारिक सम्बन्ध र ग्रामीण नेपाली समाजको जीवनशैलीलाई नयाँ पुस्तामाझ प्रस्तुत गर्ने उद्देश्यसहित निर्माण गरिएको ‘बाटुलो जून’ आजदेखि दर्शकमाझ आएको छ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया