काठमाडौँ । नेपाल थामी समाजले पहिलो पटक थामी भाषामा तयार गरेको राष्ट्रिय गीत सार्वजनिक गरेको छ ।
समाजको २७औँ वार्षिक साधारण सभाका अवसरमा आज बागमती प्रदेशसभा सदस्य ठूला थामी, कालिञ्चोक गाउँपालिका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटी र नेपाल आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष अमृत सुनुवारलगायतले उक्त गीत सार्वजनिक गर्नुभएको हो ।
प्रदेशसभा सदस्य थामीले थामी भाषामा पहिलो पटक राष्ट्रिय गीत सार्वजनिक हुनु समुदायका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँले गीतले थामी समुदायलाई एकताबद्ध गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै समुदायको संस्कार, संस्कृति र उत्थानका लागि एकजुट भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कालिञ्चोक गाउँपालिका अध्यक्ष शिवाकोटीले थामी समुदायको भाषा, संस्कार र संस्कृतिको संरक्षण तथा विकासमा गाउँपालिकाले सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
महासङ्घका उपाध्यक्ष सुनुवारले राष्ट्रिय गीतले थामी समुदायलाई एकताको सूत्रमा बाँध्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । समाजका अध्यक्ष रणबहादुर थामीले पहिलो पटक थामी भाषामा राष्ट्रिय गीत निर्माण हुनु खुसीको विषय भएको बताउनुभयो ।
गीतका रचनाकार रमेश थामी ‘छड्केसलाम’ हुनुहुन्छ । गीतमा शिखर थामी ‘विद्यालली’, शक्ति थामी, तीर्थराज थामी, मनु थामी, सविना थामी, रामकुमार थामी, कमला थामी, प्रमोद थामी र सुन्दर थामीले स्वर दिनुभएको छ भने सङ्गीत संयोजन खुशी थामीले गर्नुभएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया