डडेलधुरा । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा लाग्ने ऐतिहासिक उग्रतारा मेला (देहिजाँत) आजदेखि सुरु हुँदैछ । हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात र त्यसको भोलिपल्ट लाग्ने मेला यस वर्ष मंसिर ७ र ८ गते आयोजना हुन लागेको हो ।
उग्रतारा क्षेत्र विकास समितिका अनुसार आज राति ‘रतेडी’ र भोलि दिउँसो ‘दिउसेडी’ मेला लाग्नेछ । छचोडा, खनमडा, दुमडा र जिलोडा गाउँबाट बिहान ‘देउरो’ आएपछि दिउँसोको मेला सुरु हुने परम्परा छ ।
डडेलधुरा सदरमुकामबाट करिब चार किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को डाँडामा अवस्थित उग्रतारा भगवती मन्दिरमा लाग्ने मेलामा हजारौँ श्रद्धालु सहभागी हुने अपेक्षा गरिएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली तथा छिमेकी देश भारतबाट समेत भक्तजनहरू दर्शन तथा पूजाआराधनाका लागि आउने गरेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले बताउनुभयो ।
किंवदन्तीअनुसार करिब २ हजार ५०० वर्षअघि हालको अमरगढी नगरपालिका–८ स्थित लटाउलीमा हलो जोत्ने क्रममा साँकी जातिका स्थानीयको हलोको फालीले जमिनमा लाग्दा रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएको विश्वास गरिन्छ । त्यसयता महागौरी दुर्गा र कालीको स्वरूपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको जनविश्वास छ ।
उग्रतारा माताको दर्शन तथा पूजाआराधना गरेमा दैवी प्रकोपबाट रक्षा हुने, सुख प्राप्त हुने र मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया