काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री बालेन्द्र शाह साझा राष्ट्रिय एजेन्डा तयार नगरी भारत भ्रमणमा निस्किएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
भारतसँगको द्विपक्षीय सम्बन्ध निकै महत्त्वपूर्ण रहे पनि भ्रमणअघि राजनीतिक दलहरूसँग परामर्श गरी राष्ट्रिय सहमतिको एजेन्डा तय गर्न प्रधानमन्त्री शाह चुकेको खनालको भनाइ छ।
भारतीय समाचार संस्था एएनआईसँग आइतबार कुराकानी गर्दै पूर्वप्रधानमन्त्री खनालले साझा एजेन्डा बनेको भए भारतीय पक्षसँगको छलफल र सम्झौता थप स्पष्ट र प्रभावकारी हुने बताए। प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग कुन विषयमा वार्ता गर्ने र कस्ता सम्झौता गर्ने भन्नेबारे मुलुकभित्र अन्योल रहेको उनले उल्लेख गरे।
एएनआईसँग खनालले भने, ‘नेपालका प्रधानमन्त्रीले देशका लागि साझा एजेन्डा तयार गर्नुपर्थ्यो । त्यसो भएको भए राम्रो हुन्थ्यो। तर, उहाँले त्यसो गर्नुभएन। त्यसैले भारतीय प्रधानमन्त्रीसँग के विषयमा छलफल गर्नुहुन्छ वा कस्तो सम्झौता गर्नुहुन्छ भन्ने कसैलाई थाहा छैन।’
नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउन दुवै देशका साझा चासो र अपेक्षालाई सम्बोधन गर्नुपर्नेमा खनालले जोड दिए। दुई छिमेकीबीच धेरै अपेक्षा रहे पनि सम्बन्धमा केही असहजताका विषय कायमै रहेको औंल्याउँदै उनले तिनलाई संवादमार्फत समाधान गर्नुपर्ने बताए।
खनालले नेपाल-भारत सम्बन्धलाई शान्तिपूर्ण सहअस्तित्व र असल छिमेकीपनका पाँच सिद्धान्त (पञ्चशील) का आधारमा अघि बढाउनुपर्ने धारणा राखे। ‘नेपाल र भारत अत्यन्त निकट र घनिष्ठ छिमेकी हुन्,’ उनले भने, ‘हामीबीच सौहार्दपूर्ण सम्बन्ध हुनुपर्छ र व्यापक क्षेत्रमा सहकार्य पनि विस्तार गर्नुपर्छ।’
प्रधानमन्त्री शाह भारतीय समकक्षी मोदीको औपचारिक निमन्त्रणामा नोभेम्बर २२ देखि २३ सम्मको दुईदिने राजकीय भ्रमणका क्रममा हाल नयाँदिल्लीमा छन्।
गत मार्च २०२६ मा प्रधानमन्त्री पद सम्हालेयता उनको यो पहिलो भारत तथा द्विपक्षीय विदेश भ्रमण हो। भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट र प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता गर्ने कार्यतालिका छ। वार्तामा द्विपक्षीय सम्बन्धका समग्र पक्षसँगै साझा चासोका क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा छलफल हुने बताइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया