काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले राजनीतिक दलको पक्षपोषण गर्ने र नेताहरूको चाकडीमा लाग्ने राष्ट्रसेवक कर्मचारीमाथि कानुनबमोजिम कडा कारबाही गर्ने चेतावनी दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै गृहमन्त्री गुरुङले कर्मचारीहरूको मुख्य दायित्व कुनै दलको ‘झोला बोक्ने’ नभई देश र जनताको सेवा गर्नु रहेको स्पष्ट पारेका छन् ।
उनले भनेकाे छन्, ‘राष्ट्रसेवक कर्मचारीको काम कुनै राजनीतिक दलको झोला बोक्ने वा नेताको चाकडी गर्ने होइन, देश र जनताको सेवा गर्ने हो। हामी नेता र कर्मचारी सबैको साझा उद्देश्य एउटै हुनुपर्छ…देशप्रति समर्पित भएर जनताको सेवा गर्ने।’
‘यति कुरा पटकपटक स्पष्ट पारिसक्दा पनि कसैले अझै दलको झोला बोकेर राजनीति गर्न पाइन्छ भन्ने भ्रम पालेको छ भने त्यो भ्रम आजै त्यागे हुन्छ’, गृहमन्त्री गुरुङले चेतावनी दिँदै भनेका छन्, ‘आफ्नो पदीय जिम्मेवारी बिर्सेर जनताको कामभन्दा नेताको चाकडीलाई प्राथमिकता दिने जोकोहीमाथि कानुनबमोजिम कडा कारबाही हुन्छ, यसमा कुनै सम्झौता हुँदैन।’
सरकारलाई चाकडी गर्ने कर्मचारी नभई जनताको दुःख बुझ्ने, आफ्नो कर्तव्य इमानदारीपूर्वक निभाउने र देशप्रति बफादार राष्ट्रसेवक चाहिएको उनको भनाइ छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया