तेल अभिव। इजरायलका विपक्षी नेता अभिग्डोर लिबरम्यानले पूर्व सेना प्रमुख गदी आइसेनकोटको नेतृत्वमा बन्ने आगामी सरकारमा दुवै अति–रूढिवादी यहुदी दल (हरेदी) सहभागी हुनेमा आफू शतप्रतिशत विश्वस्त रहेको बताएका छन् ।
च्यानल १२ सँग कुरा गर्दै उनले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकारको आलोचना गरे । उनले अमेरिकी जनमतमा इजरायलप्रतिको समर्थन राज्य स्थापना भएयताकै कमजोर अवस्थामा पुगेको दाबी गरे ।
इरानसँग सम्भावित नयाँ सैन्य टकरावबारे उनले तत्काल कुनै सैन्य कारबाहीको आवश्यकता नरहेको बताए । नेतान्याहुले राजनीतिक स्वार्थका लागि इरानसँगको तनाव उपयोग गर्न खोजेको आरोप लगाउँदै अहिले कुनै सैन्य कदम चालिए त्यो विशुद्ध राजनीतिक उद्देश्यबाट प्रेरित हुने उनको भनाइ थियो ।
लिबरम्यानको पछिल्लो धारणा उनको यसअघिको अडानभन्दा फरक छ । उनले पहिले हरेदी र अरब दललाई बाहिर राखेर धर्मनिरपेक्ष विपक्षी गठबन्धन बनाउनुपर्ने तथा अनिवार्य सैन्य भर्तीसम्बन्धी कानूनमा कुनै सम्झौता गर्न नहुने बताएका थिए । तर, चार विपक्षी जियोनिस्ट दलबाट मात्र सरकार गठनका लागि आवश्यक ६१ सिट जुटाउन कठिन रहेको उनले स्वीकार गरे ।
अरब दलको समर्थनमा अल्पमतको सरकार बनाउने विकल्पलाई भने उनले अस्वीकार गरे । त्यस्तो प्रयासले अन्ततः नेतान्याहुलाई ७० सिटसहित पुनः सत्तामा फर्काउने उनको तर्क छ । बरु सास र संयुक्त तोराह यहुदी धर्म पार्टीसँग सहकार्य गरेर सरकार गठन गर्नुपर्ने उनको धारणा छ । हरेदी नेताहरूसँग प्रत्यक्ष वार्ता नभए पनि दुवै दल नयाँ सरकारमा सहभागी हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।
यसैबिच, नेतान्याहुले राष्ट्रिय एकताको सरकार गठन गर्नुपर्ने प्रस्ताव दोहोर्याएका छन् । उनले सामाजिक सञ्जाल एक्समार्फत यहुदी जनताको राष्ट्रका रूपमा इजरायललाई स्वीकार गर्ने सबै राजनीतिक पक्षलाई सरकारमा सहभागी गराउनुपर्ने बताएका थिए । हरेदी दलसँग सहकार्य गर्ने र तोराहका विद्यार्थीहरूको हैसियतसम्बन्धी व्यवस्था आपसी सहमतिमा कानूनमार्फत टुङ्ग्याउने उनको भनाइ थियो ।
इजरायली राष्ट्रपति आइज्याक हर्जोगले नोभेम्बर ८ मा याशर पार्टीका नेता आइसेनकोटलाई सरकार गठनको जिम्मेवारी दिएका थिए । उनलाई १२० सदस्यीय नेसेटमा बहुमतका लागि आवश्यक ६१ सांसदको समर्थन जुटाउन २८ दिनको समय दिइएको छ । थप १४ दिन समय बढाउन सकिने व्यवस्था छ ।
गत अक्टोबर २७ को निर्वाचनमा नेतान्याहु नेतृत्वको दक्षिणपन्थी गठबन्धनले ५३ र आइसेनकोटको चारदलीय गठबन्धनले ४८ सिट जितेका थिए । संयुक्त सूचीले ११ र रामले आठ सिट प्राप्त गरेका थिए । अरब दलहरूको समर्थनमा औपचारिक गठबन्धन बनाउन भने आइसेनकोट पक्षका नेताहरूले अस्वीकार गर्दै आएका छन् । -रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया