काठमाण्डौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले देश समृद्ध बनाउन र भ्रष्टाचार सधैँका लागि अन्त्य गर्न भ्रष्टाचारमुक्त समाज निर्माणको अभियानमा लागेको बताउनुभएको छ । शनिबार लायन्स क्लब अफ पोखराको ५०औँ वर्षको अवसरमा आयेजित स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै उहाँले देशमा सुशासन कायम गरी भ्रष्टाचारलाई सधैँका लागि अन्त्य गर्ने बृहत् अभियानका साथ सदनलाई प्रभावकारी बनाउने कार्यमा आफू जुटेको बताउनुभयो ।
राजनीतिमा प्रवेश गरेसँगै इमानदारीपूर्वक, जनहित र राष्ट्रलाई केन्द्रमा राखेर काम गरिरहेको बताउँदै सभामुख अर्यालले भन्नुभयो, “यो देशमा भ्रष्टाचार सधैँका लागि अन्त्य गर्नका लागि एउटा योजना र सोच लिएर अभियानमा जुटेको छु ।” सुशासनको प्रत्याभूति भएमा मात्रै वर्तमान र भावी पुस्ता सुरक्षित रहने उहाँको भनाइ छ ।
सभामुख अर्यालले भन्नुभयो, “हामीले यो देशमा सुशासन कायम गर्यौँ भने हामीसँगै हाम्रा सन्तान र परिवार, समाज सधैँ सुरक्षित हुनेछौँ ।” आसन्न संसद्को कामकारबाहीलाई मर्यादित र नतिजामुखी बनाउने विषयमा चर्चा गर्दै उहाँले भन्नुभयो, “अब सदन सुरु हुँदैछ, सदनलाई सकारात्मक र नतिजामूखी बनाउन सहकार्य र समन्वयलाई जोड दिनेछु । यसका लागि तपाईंहरूबाट थुप्रै प्रेरणा प्राप्त गरेको छु ।”
कानुन निर्माण गर्दा देशको भूगोल सुहाउँदो, अभिभावक तथा अग्रजको सम्मान हुने र भावी पुस्ताले गर्व गर्नसक्ने व्यवस्था समेटिनुपर्ने सभामुख अर्यालले बताउनुभयो ।
प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यसहित ३३४ जना सांसदले कानुन निर्माणमा भूमिका निर्वाह गर्ने उल्लेख गर्दै उहाँले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिसम्म कानुन निर्माणको विषय सार्वजनिक हुने बताउनुभयो ।
सभामुख अर्यालले देशलाई आर्थिक रूपमा समृद्ध बनाउन निजी क्षेत्रको सुदृढीकरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, “जबसम्म हामी निजी क्षेत्रलाई बलियो बनाउन सक्दैनौँ, तबसम्म देश समृद्ध हुन सक्दैन ।”
लायन्स क्लबमा शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र व्यवसायलगायत समाजका विविध क्षेत्रका सफल व्यक्तित्व, अग्रज तथा जनप्रतिनिधिको आबद्धता रहेको सभामुख अर्यालले स्मरण गर्नुभयो ।
उहाँले लायन्स क्लबमा विद्यार्थी, प्राध्यापक, नर्स, चिकित्सक, व्यवसायी, कृषक, मजदुर, गैरआवासीय नेपाली र जनप्रतिनिधि सबै क्षेत्रको प्रतिनिधित्व रहेको बताउनुभयो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया