मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

‘जय नेपाल’ नभनेको भन्दै गालीगलौज गरेको आरोपमा प्रहरी हवल्दार निलम्बित

हराएको छोरा खोजिदिन आग्रह गर्दा सहकर्मीमाथि अपमानजनक व्यवहार गरेको आरोप, अडियो सार्वजनिक भएपछि प्रदेश प्रहरीद्वारा कारबाही

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

रौतहट ७ मंसिर। ‘जय नेपाल’ सम्बोधन नगरेको भन्दै सहकर्मी प्रहरी कर्मचारीलाई फोनमार्फत अपमानजनक शब्द प्रयोग गरी गालीगलौज गरेको आरोप लागेका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी हवल्दार बुधन महतो निलम्बनमा परेका छन् ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले घटनाको प्रारम्भिक छानबिनपछि आइतबार महतोलाई निलम्बन गरेको हो । उनीविरुद्ध विभागीय कारबाहीसमेत अघि बढाइएको प्रदेश प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गौरको सञ्चार शाखामा कार्यरत महतोमाथि डुमरिया सुरक्षा बेसमा कार्यरत प्रहरी हवल्दार सुरेशप्रसाद यादवलाई फोनमा अपमानजनक व्यवहार गरेको आरोप छ । यादवले आफ्नो हराएको छोराको खोजीका लागि सहयोग माग्दा महतोले गालीगलौज गरेको आरोप लगाएका छन् ।

यादवका १७ वर्षीय छोरा चन्दनकुमार छठ पर्व मनाउन घर आएका बेला गौरस्थित घरबाट हराएका थिए । एसईई उत्तीर्ण गरेपछि थप अध्ययनका लागि काठमाडौंमा बस्दै आएका चन्दन दुई दिनअघि घरबाट बेपत्ता भएपछि परिवार चिन्तित बनेको थियो ।

छोराको खोजीका लागि यादवले जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुममा सम्पर्क गरेका थिए । कन्ट्रोल रुमबाट सञ्चार शाखामा जानकारी गराउन भनिएपछि उनले पुनः फोन गरेका थिए ।

त्यसक्रममा सञ्चार शाखामा रहेका महतोले आफूलाई प्रहरी नायब निरीक्षक (सई) बताउँदै ‘जय नेपाल’ नभनेको भन्दै अपमानजनक शब्द प्रयोग गरेको यादवको आरोप छ । फोनमा सईका रूपमा प्रस्तुत भएका व्यक्ति प्रहरी हवल्दार महतो रहेको पछि खुलेको थियो ।

घटनासँग सम्बन्धित अडियो सार्वजनिक भएपछि प्रहरी संगठनभित्रै यस विषयले चर्चा पाएको थियो । घटनालाई गम्भीर रूपमा लिँदै मधेश प्रदेश प्रहरी कार्यालयले शनिबार दुवै प्रहरी कर्मचारीलाई जनकपुर बोलाएर सोधपुछ गरेको थियो ।

प्रारम्भिक छानबिन र सोधपुछपछि महतोलाई निलम्बन गरिएको हो । उनीमाथि थप विभागीय कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया