मंग्सिर १३, २०८३ आइतबार November 29, 2026

अगाडि बढेन मेट्रोसिटी योजना

उपत्यकाभित्रका नगरपालिकाका प्रमुखलाई मेट्रोसिटी निर्माण हुँदा व्यवस्थित सहर निर्माणभन्दा पनि आफ्नो भूमिका कमजोर होला कि भन्ने डर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, मङ्सिर १२ गते । काठमाडौँ उपत्यकालाई व्यवस्थित सहर बनाउने उद्देश्यले प्रस्ताव गरिएको उपत्यका राजधानी सहर (मेट्रोसीटी) निर्माण गर्ने प्रस्तावित योजना १० वर्षदेखि अलपत्र रहँदै आएको छ ।

उपत्यकावासीलाई महानगरस्तरीय सेवा सुविधा प्रदान गर्न, पूर्वाधार व्यवस्थापन गर्न, वैदेशिक लगानी आकर्षण गर्न, स्रोतको उचित रूपमा व्यवस्थापन गर्न उपत्यकामा मेट्रोसिटी आवश्यक भएको निष्कर्ष निकाल्दै साबिक स्थानीय तह पुनर्संरचना आयोगले २०७३ सालमा सरकारलाई सिफारिस गरेको थियो । उपत्यकामा नदी नियन्त्रण, सहरी यातायात, ढल निकास, अन्य विकासका पूर्वाधारको योजनालाई दिगो र एकीकृत मापदण्ड अनुसार कार्यान्वयन गर्ने उपयुक्त संरचना छैन । उपत्यकामा हरेक नगरपालिकाको योजना छ तर यसले समग्र उपत्यकालाई समेट्न सक्ने अवस्था अझै बनेको छैन ।

काठमाडौँ उपत्यकाको एकीकृत विकासका लागि काठमाडौँ उपत्यकाका १८ वटै नगरपालिकालाई समेटेर साझा समस्यालाई सामूहिक रूपमा समाधान गर्ने उद्देश्यले मेट्रोसिटी निर्माण गर्न आयोगले सरकारलाई सुझाव दिएको थियो । त्यसपछि २०७४ र २०७९  सालमा गरी दुई पटक स्थानीय तहका निवार्चन भई दोस्रो कार्यकालको पनि अन्तिम क्षणमा आइसक्दासमेत उपत्यकास्थित नगरपालिकाका जनप्रतिनिधिले मेट्रोसिटी निर्माणमा चासो देखाएका छैनन् ।

काठमाडौँ उपत्यका मेयर्स 

फोरमका कोषाध्यक्षसमेत रहनुभएका तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले उपत्यकामा एकीकृत रूपमा व्यवस्थित सहरका लागि मेट्रोसिटी निर्माण गर्न सकिने सम्भावना भए पनि त्यसतर्फ जनप्रतिनिधिको चासो कम भएको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, “मेट्रोसिटी बनाउने पहल स्थानीय तहले गर्न सक्छ तर पूर्ण रूपमा सम्पन्न गर्न सङ्घ र प्रदेश सरकारको साथ र सहयोग आवश्यक हुन्छ । यसका लागि तीन वटै तहको समन्वयबिना सम्भव छैन ।”

मेट्रोसिटी निर्माणका लागि आयोगले सरकारलाई गरेको सिफारिसमा उपत्यकाका सबै नगरप्रमुख रहेको उपत्यका नगरपरिषद् निर्माण गर्ने, उक्त परिषद्लाई प्रदेश सरकार बराबरको अधिकार प्रदान गर्ने, उपत्यकाका नगरप्रमुखले नै छनोट गरिएका व्यक्तिलाई उक्त संरचनाको प्रमुख बनाइ सो संरचनालाई प्रशासनिक तथा राजनीतिक अधिकार प्रदान गर्ने गरी मेट्रोसिटीको अवधारणा अगाडि सारिएको थियो ।

साबिक स्थानीय तह पुनर्संरचना आयोगका सदस्य डा. सुनीलरञ्जन सिंहले उपत्यकाभित्रका नगरपालिकाका प्रमुखलाई मेट्रोसिटी निर्माण हुँदा व्यवस्थित सहर निर्माणभन्दा पनि आफ्नो भूमिका कमजोर होला कि भन्ने डरले गर्दा निर्माण प्रक्रिया अगाडि बढाउन नचाहेको हुन सक्ने बताउनुभयो ।

उहाँका अनुसार काठमाडौँ उपत्यकाको १८ वटै नगरपालिकाको भूगोल, स्रोतसाधन र जनशक्ति सीमित छ । काठमाडौँमा महत्वपूर्ण ठुला पूर्वाधार विश्वविद्यालय, खानेपानी स्रोतको उचित सदुपयोग, फोहोर व्यवस्थापन, अत्याधुनिक पूर्वाधारसहितको अस्पताललगायतका संरचना निर्माण गरी सञ्चालन गर्न एउटै नगरपालिकाबाट सम्भव छैन । तत्कालीन आयोगले उपत्यकाको एकीकृत विकास गर्न, आर्थिक रूपान्तरणसहित सबै किसिमका सरकार र निकायका बिचमा समन्वय, सहकार्य गर्न र साझा समस्यालाई सामूहिक रूपमा समाधान गर्न आयोगले उपत्यका मेट्रोसिटीको प्रस्ताव गरेको थियो ।

मेट्रोसिटी अभ्यास विश्वभर 

नेपाल नगरपालिका सङ्घका कार्यकारी निर्देशक कलानिधि देवकोटाले काठमाडौँ उपत्यकाको दीर्घकालीन विकासको प्रमुख आधार भनेकै मेट्रोसिटी भएको बताउनुभयो ।  प्राकृतिक, भौगोलिक  सांस्कृतिक वातावरणसमेत समान भएकाले उपत्यकाको दीर्घकालीन विकासका लागि मेट्रोसिटी निर्माणका लागि उपत्यकाका स्थानीय तहका जनप्रतिनिधिले चासो नदेखाएको उहाँले पनि गुनासो गर्नुभयो । देवकोटाका अनुसार सङ्घीय व्यवस्था भएका मुलुक अमेरिका, भारत, मेक्सिको, अर्जेन्टिना, जापान, फिलिपिन्समा राजधानी सहरको एकीकृत विकास गर्न मेट्रोसिटी निर्माण गरिएका छन् । “मेट्रोसिटी निर्माण गर्न यो १० वर्ष महत्वपूर्ण समय थियो तर अहिलेसम्म कुनै पनि प्रक्रिया अगाडि बढ्न नसक्नु दुर्भाग्य हो,” उहाँले भन्नुभयो । गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख दुई उत्तरी नाका साढे दुई महिनादेखि बन्द
२०८३ मंग्सिर १३, आइतबार
दसौं राष्ट्रिय खेलकुदमा बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
२०८३ मंग्सिर १३, आइतबार
भारत भ्रमणका सहमति कार्यान्वयन गर्न परराष्ट्रको गृहकार्य
२०८३ मंग्सिर १३, आइतबार
न्याय प्रशासन सुधार प्रतिवेदन : जिल्ला अदालतलाई थप अधिकार
२०८३ मंग्सिर १३, आइतबार
पर्यटकीयस्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
२०८३ मंग्सिर १३, आइतबार
राष्ट्र बैंकद्धारा आज आईतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर १३, आइतबार
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरलानाकाका पूर्वाधार
२०८३ मंग्सिर १३, आइतबार