काठमाडौँ, मङ्सिर १० गते । नेपालको हिमाली मानवबस्तीको शिरमा रहेका उच्च जोखिमयुक्त चार वटा ठुला हिमतालको जलसतह घटाउने आयोजना कार्यान्वयनमा गएको छ । उच्च तापक्रमका कारण भएको जलवायु परिवर्तनले हिमतालमा पानी भरिँदै गएपछि विस्फोट हुन सक्ने खतरा बढेपछि सरकारले सक्रियता बढाएको हो । विस्फोट हुने अवस्थामा पुगेका चार वटा हिमतालको जलसतह घटाउन सरकारले ग्लोफ सञ्जीवनी आयोजना कार्यान्वयनमा लगेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत रहेको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको नेतृत्वमा यसले काम गर्ने छ ।
काठमाडौँमा बुधबार आयोजना गरिएको उद्घोष कार्यशालामा जल तथा ऊर्जा आयोगका सचिव नवीनराज सिंहले पछिल्ला केही वर्षयता हिमबाढी र हिमताल विस्फोटले नेपालमा ठुलो जनधनको क्षति गराइरहेको उल्लेख गर्नुभयो ।
हालैको भोटेकोशी हिमबाढीको विपत्बाट बलियो पाठ सिकेर हिमतालको जलसतह घटाउने कार्यलाई कार्यान्वयनमा लगिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तीस वर्षको अन्तरालमा कैयौँ किलोमिटर पर सर्दै र गहिरो हुँदै गएका हिमतालको पानी घटाएनौँ भने मानवबस्ती मात्र हैन अहिलेसम्म प्राप्त गरेको विकास पूर्वाधार विस्फोटसँगै बगेर सकिने छ ।” चार वटाबाहेक अन्य हिमतालको जलसतह पनि छिटोभन्दा छिटो कम गर्न सघाउन सरोकारवाला निकायलाई उहाँले आग्रह गर्नुभयो । विश्वको तापक्रम वृद्धि र जलवायु परिवर्तनमा नेपालको नगण्य योगदान छ । त्यसको असर नेपालका हिमालमा अत्यधिक परिरहेको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बरालले बताउनुभयो । उहाँले भन्नुभयो, “बढेको हिमताल शिरमा तरबारको धार बनेर बसेको छ, जलसतह कम गर्नकै लागि विभिन्न निकायसँग एकीकृत सहकार्यमा आयोजना अघि बढाइने भएको छ ।” परियोजनाका निर्देशक तथा केन्द्रका उपकार्यकारी निर्देशक डा. राजन भट्टराईका अनुसार सन् २०१८ देखि तयारी भएको परियोजना अब तालक्षेत्रमै पुगेर काम गर्ने चरणमा प्रवेश गरेको हो ।
विगतमा भएको अध्ययन अनुसार नेपाल, भारत र चीनमा गरेर ४७ वटा हिमताल कुनै पनि बेला विस्फोटको उच्च जोखिमका छन् । नेपालसँग सन् २००२ र २०१६ मा च्छोरोल्पा र इम्जा तालको जलसतह घटाइएको अनुभव छ । आयोजनाले बहुप्रकोपीय जोखिम कम गर्दै आमनागरिकको जीविकोपार्जनमा सघाउने लक्ष्य लिएको जानकारी उहाँले दिनुभयो ।
मनाङको नासोङ गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले हिमालका काखमा अहिले ताल बनेकाले आफूहरूको जीवन जोखिममा परेको पीडा पोख्नुभयो । उहाँले भन्नुभयो, “प्राकृतिक गङ्गापूर्ण ताल सुकेपछि कृत्रिम बनाउनु परेको छ, कति हिमाली गाउँमा पानीको मुहान छैनन्, आकस्मिक बाढी र पहिरो बढेको छ ।”
एकीकृत सहकार्य
नेपाल सरकार, ग्रिन क्लाइमेट फन्डको आर्थिक सहयोग तथा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहकार्यमा हिमतालको जलसतह घटाउन पाँच अर्ब रुपियाँ बजेट रहेको छ । १५ वर्षको अवधिको आयोजना अन्तर्गत सन् २०२६ देखि २०३३ सम्मको पहिलो सात वर्षमा हिमतालको पानीको सतह घटाइने छ । त्यसपछिका आठ वर्ष तल्लो क्षेत्रका सुरक्षा, मर्मतसम्भार र व्यवस्थापनको सुदृढीकरण गरिने छ । ऊर्जा मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल पर्यटन बोर्ड, चुरे तथा जोखिमयुक्त सिमसार संरक्षण विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल मौसम विज्ञान विभागलगायतले एकीकृत सहकार्य गर्ने छन् ।
पहिलो वर्ष चार तालको सर्वेक्षण, वातावरणीय प्रभाव मूल्याङ्कनसँगै कार्ययोजना निर्माण हुने छ । दोस्रो वर्षमा विश्वव्यापी बोलपत्र आह्वान गर्दै अन्य निकायलाई अध्ययनका आधारमा हिमतालको पानी घटाउने जिम्मा दिइने छ ।
जलवायु सूचनादेखि विपत्को जोखिमसम्म
प्रत्यक्ष चार लाख जना र अप्रत्यक्ष रूपमा २० लाख जनसङ्ख्यालाई फाइदा पुग्ने अनुमान गरिएको डा. भट्टराइले जानकारी दिनुभयो । यस आयोजना अन्तर्गत सरकारी संस्थालाई जलवायु जोखिमको अनुगमन गर्न, जलवायु सूचना उत्पादन गर्न तथा योजना र निर्णय निर्माणमा क्षमता अभिवृद्धि गरिने छ । यसले नेपालको जोखिममा रहेका हिमाली नदी आधार क्षेत्रमा विपत् जोखिम कम गर्न भूमिका खेल्ने छ ।
सुधारिएको अनुगमन प्रणाली र विस्तारित पूर्वसूचना प्रणालीलाई बलियो बनाइने उहाँले बताउनुभयो । सर्वसाधारणलाई जलवायुसम्बन्धी प्रकोपका बारेमा जागरुक बनाइने क्लाइमेट इन्भेस्टमेन्ट प्रिन्सिपल तथा ग्रिन क्लाइमेट फन्ड सचिवालयका डा. बापुन फखरुद्धिनले बताउनुभयो ।
जस अनुसार हिमनदी ताल फुटेर आउने आकस्मिक बाढीबाट हुने जोखिमलाई न्यूनीकरण गर्ने छ । प्रकृतिमा आधारित समाधानका साथै जोखिमपूर्ण नदी जलाधार क्षेत्रमा जीविकोपार्जन, पूर्वाधार र तल्लो तटीय पारिस्थितिक प्रणालीको सुरक्षा गर्न सघाउने अपेक्षा नेपालस्थित युएनडिपीका आवासीय प्रतिनिधि क्योको योकोसुकाले जानकारी दिनुभयो ।
एकदेखि तीन मिटरसम्म घटाइने
नेपालका हिमालमा विगत छ दशकयता हिउँ पग्लने क्रम ६५ प्रतिशतले बढेको तथ्य छ । जसले हिमालमा २३ प्रतिशतले हिउँको मात्रा घटाएको छ । कोशी नदी जलाधार क्षेत्रमा मात्र ४२ वटा हिमताल बनेका छन् । जसमध्ये नौ वटा अति जोखिमयुक्त हिमताल रहेको निर्देशक डा. भट्टराईले जानकारी दिनुभयो ।
सङ्खुवासभाको तल्लो वरुण, सोलुखुम्बुको लुम्डिङ च्छो र होङ्गु टु तथा मनाङको डोना तालसहित चार वटा हिमतालको जलसतह घटाइने छ । यीमध्ये सबैभन्दा ठुलो र गहिरो हिमताल तल्लो वरुण हो । यसको क्षेत्रफल दुई वर्ग किलोमिटर र गहिराइ २०५ मिटर छ । सन् १९९० सम्म ०.६४ वर्ग किमी रहेको ताल तीव्र रूपमा बढेर दोब्बर नाघेको हो । यसको जलसतह तीन मिटर घटाइने ऊर्जा मन्त्रालयका सहसचिव सुशील आचार्यले सुनाउनुभयो ।
होङ्गु टु एक वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको ताल छ । लुङ्दिङ च्छो सन् १९६२ मा ०.२० वर्ग किलोमिटर रहेकोमा अहिले ०.७७ वर्ग किलोमिटरभन्दा बढी फैलिएको छ । होङ्गु टु विगतमा ०.४६ बढेर अहिलेको अवस्थामा पुगेको हो । त्यस्तै मनाङको ठुलागी र तलको डोना हिमताल सन् १९९० मा ०.७२ वर्ग किलोमिटर थियो । त्यसयता बढेर करिब एक वर्ग किलोमिटर क्षेत्रफल पुगेको छ । यसले बहुप्रकोपयुक्त जोखिम बढाउँदै लगेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले सुनाउनुभयो । गोरखापत्र दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया