मंग्सिर ९, २०८३ बुधबार November 25, 2026

विधानविपरीत जानेलाई कारबाही हुन्छ : सभापति थापा

सरकारसँग सहकार्य गर्नुपर्ने ठाउँमा सहकार्य र प्रश्न उठाउनुपर्ने ठाउँमा खबरदारी गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक विवाददेखि सरकारका काम कारबाहीसम्मका विषयमा आक्रामक धारणा सार्वजनिक गर्नुभएको छ । पार्टीको आधिकारिकता र नेतृत्वमाथि उठिरहेका प्रश्नलाई अस्वीकार गर्दै उहाँले विधानविपरीत गतिविधि गर्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिनुभएको छ भने सरकारलाई आफूविरुद्ध अनुसन्धान गर्न वा पक्राउ गर्न आए हतकडी लिएर आउन चुनौती दिनुभएको छ । मंगलबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा सम्बोधन गर्दै थापाले कांग्रेसको विशेष महाधिवेशनबाट आएको नेतृत्व उल्टिने सम्भावना नरहेको दाबी गर्नुभयो । पार्टीभित्र असन्तुष्ट पक्षसँग संवाद गर्न आफू तयार रहेको बताउँदै उहाँले विधान र अनुशासनविपरीत गतिविधि गर्न भने कसैलाई छुट नदिने स्पष्ट पार्नुभयो ।

पार्टीको आधिकारिकता सर्वोच्च अदालतबाट उल्टिन्छ भन्नु संसद् पुनःर्स्थापना हुन्छ भन्नुजस्तै भएको उहाँको टिप्पणी थियो । संसद् पुनःर्स्थापना हुन्छ भन्ने मान्ने हो भने मात्रै महाधिवेशनबाट आएको कांग्रेसको नेतृत्व उल्टिने कुरा मान्न सकिने उहाँले बताउनुभयो । थापाले अहिले भइरहेको अर्को अधिवेशन कांग्रेसको आधिकारिक अधिवेशन नभएको जिकिर गर्दै त्यसमा सहभागी हुनेहरूलाई विधानअनुसार कारबाही गरिने चेतावनी दिनुभयो । एउटै पार्टीका दुईवटा महाधिवेशन हुन नसक्ने उल्लेख गर्दै कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित जनप्रतिनिधि अर्को पार्टीमा प्रवेश गरेमा पनि कारबाही हुने उहाँको भनाइ थियो ।

राष्ट्रियसभा, प्रदेशसभा तथा स्थानीय तहका जनप्रतिनिधिले पार्टीको सदस्यता त्यागेर अर्को दलमा आबद्ध भए विधानअनुसार कदम चाल्ने उहाँले स्पष्ट पार्नुभयो । विशेष महाधिवेशनमा सहभागी भए वा नभएको विषयभन्दा पनि पार्टीको सदस्य भएर अर्को पार्टीको सदस्यता लिने गतिविधि गम्भीर हुने उहाँको तर्क थियो ।

देउवालाई मर्यादा कायम राख्न आग्रह

सभापति थापाले पार्टीभित्र विवाद र असन्तुष्टि रहेको स्वीकार गर्दै त्यसलाई लुकाएर राख्ने पक्षमा आफू नरहेको बताउनुभयो । महाधिवेशनमा सहभागी नभएका नेता तथा कार्यकर्तासमेत कांग्रेसकै सदस्य भएको उल्लेख गर्दै उहाँले उनीहरूसँग छलफल गर्न आफूलाई कुनै अप्ठ्यारो नरहेको स्पष्ट पार्नुभयो । विशेष महाधिवेशनपछि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालासँग पटक–पटक छलफल गरेको जानकारी दिँदै उहाँले पार्टीलाई एकताबद्ध बनाउने प्रयास जारी रहने बताउनुभयो । तर, एकताको प्रयासको पनि सीमा हुने भन्दै विधानविपरीत गतिविधि स्वीकार्य नहुने उहाँको भनाइ थियो ।

थापाले निवर्तमान सभापति शेरबहादुर देउवाप्रति सम्मान र चिन्ता व्यक्त गर्दै आफ्नो राजनीतिक कद र मर्यादा कायम राख्न आग्रह गर्नुभयो । देउवा कांग्रेसका अभिभावक, वरिष्ठ नेता र पाँच पटक प्रधानमन्त्री भइसकेका व्यक्ति भएकाले उहाँको अभिव्यक्ति पनि सोहीअनुसार हुनुपर्ने उहाँले बताउनुभयो ।

‘जेन-जी’ आन्दोलनका क्रममा देउवाको घर गगन थापाले जलाएको हो ? भनेर प्रश्न गर्दा देउवाले टाउको हल्लाएर सहमति जनाएको भिडियो आफूले हेरेको प्रसंग सुनाउँदै उहाँले असन्तुष्टि जनाउनुभयो । ‘त्यो उमेर र कदको नेताको बोली राजनीतिक हुनुपर्छ । असहमति पनि राजनीतिक हुनुपर्छ । सीमा र मर्यादाभित्र हुनुपर्छ’, उहाँले भन्नुभयो । देउवालाई सुझाव दिँदै थापाले भन्नुभयो, ‘उहाँ अग्लो हुनुहुन्छ, अग्लाइमै बस्नुहोस् । तपाईंले आफ्नो लेभल मेन्टेन गर्नुहोस् । तपाईं कांग्रेस सभापति, पाँच पटक प्रधानमन्त्री भएको नेता हो, त्यसलाई मेन्टेन गर्नुहोस् ।’
देउवाप्रति व्यक्तिगत गुनासो नभई प्रेम र स्नेहका कारण यस्तो सुझाव दिएको उहाँले स्पष्ट पार्नुभयो । अदालतमा चलखेल भएको भन्ने देउवाको अभिव्यक्तिप्रति पनि प्रश्न उठाउँदै थापाले अदालतमा कसले वारेस राखेको छ भन्ने विषय खोज्न आग्रह गर्नुभयो ।

‘पक्राउ गर्न आउँदा हतकडी लिएर आउनुहोला’

सभापति थापाले आफू वा अन्य कुनै व्यक्तिविरुद्ध हुने अनुसन्धानमा कांग्रेसले अवरोध नगर्ने बताउनुभएको छ । तर, राजनीतिक प्रतिशोधका आधारमा राज्यका संयन्त्र परिचालन नगर्न सरकारलाई चेतावनी दिँदै उहाँले आफूलाई पक्राउ गर्न आउँदा हतकडी लिएर आउन चुनौती दिनुभयो । ‘नेपाली कांग्रेस कसैको अनुसन्धानमा अवरोध गर्दैन, मेरो अनुसन्धान होस् वा अरू कसैको’, उहाँले भन्नुभयो ।

राजाको शासनकालदेखि नै आफूले राज्यका गलत कदमविरुद्ध आवाज उठाउँदै आएको स्मरण गर्दै उहाँले विगतमा राजद्रोहको मुद्दा तथा माओवादी द्वन्द्वका क्रममा समेत कठिन परिस्थितिको सामना गरेको बताउनुभयो । आफूविरुद्ध व्यक्तिगत जीवनमै असर पर्नेगरी प्रश्न उठाउने र सामाजिक सञ्जालमार्फत भय सिर्जना गर्ने प्रयास भइरहेको उहाँको टिप्पणी थियो । ‘पक्राउ गर्न आउँदा खाली हात नआउनुहोला, हतकडी लिएर आउनुहोला । प्रश्न गर्न छोड्दिनँ, तर्साएर तर्सिने मान्छे होइन’, उहाँले भन्नुभयो ।

अध्यादेशको शासनविरुद्ध कांग्रेस चुप नबस्ने

सभापति थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारलाई पाँच वर्ष नै निर्वाध रूपमा काम गर्न दिनुपर्ने धारणा राख्दै सरकारका गलत कामको भने विरोध गरिरहने बताउनुभएको छ । सरकारले अध्यादेश ल्याउने, राष्ट्रपति कार्यालयमा पठाउने र त्यसैका आधारमा शासन सञ्चालन गर्ने प्रवृत्ति देखाएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । ‘अध्यादेश ल्याएर राष्ट्रपति कार्यालयमा फालिदिने प्रचलन बन्यो । यसरी अध्यादेशको शासनविरुद्ध हामी चुप भएर बस्ने ?’ उहाँले प्रश्न गर्नुभयो ।

अध्यादेश ल्याउनुपर्ने अवस्था किन सिर्जना भयो भन्ने विषयमा प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष स्पष्ट पार्नुपर्ने उहाँको भनाइ थियो । प्रतिस्थापन विधेयकसमेत नल्याई अध्यादेशबाटै काम गर्ने प्रवृत्तिले संसदीय अभ्यास र लोकतान्त्रिक प्रक्रियामाथि प्रश्न उठाएको उहाँले बताउनुभयो ।

रास्वपाभित्रको आन्तरिक विवादमा कांग्रेस प्रवेश नगर्ने स्पष्ट पार्दै उहाँले सरकारसँग सहकार्य गर्नुपर्ने ठाउँमा सहकार्य र प्रश्न उठाउनुपर्ने ठाउँमा खबरदारी गर्ने बताउनुभयो । प्रतिपक्षी दलका रूपमा सरकारका काम कारबाहीको निगरानी गर्नु कांग्रेसको जिम्मेवारी भएको उहाँको भनाइ थियो ।हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘अनुसन्धान र नवप्रवर्तनमा लगानी वृद्धि सरकारको प्राथमिकता हो’
२०८३ मंग्सिर ९, बुधबार
बाढी प्रभावित ९७० परिवारलाई घरभाडा रकम वितरण सुरु
२०८३ मंग्सिर ९, बुधबार
आज महिला हिंसा उन्मूलन दिवसः प्रत्येक दश मिनेटमा एक महिला तथा बालिकाको हत्या
२०८३ मंग्सिर ९, बुधबार
प्रदेश-स्थानीय तह निर्वाचन : दलहरू दौडिए, छैन मितिको टुंगो
२०८३ मंग्सिर ९, बुधबार
काठमाडौँ-भैरहवा–लखनउ हवाईमार्ग नेपाललाई बहुआयामिक फाइदा
२०८३ मंग्सिर ९, बुधबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ९, बुधबार
विधानविपरीत जानेलाई कारबाही हुन्छ : सभापति थापा
२०८३ मंग्सिर ९, बुधबार