मंग्सिर ९, २०८३ बुधबार November 25, 2026

काठमाडौँ-भैरहवा–लखनउ हवाईमार्ग नेपाललाई बहुआयामिक फाइदा

हवाईमार्ग छोटो हुँदा जहाजको इन्जिन सञ्चालन अवधि घट्ने र त्यसले इन्जिनको मर्मतसम्भारको आवश्यकतासमेत कम गर्न सहयोग पुग्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, मङ्सिर ९ गते । भारतसँग काठमाडौँ–भैरहवा–लखनउ हवाईमार्ग (बी ३४५) लाई दुईतर्फी सञ्चालन गर्ने सहमतिले नेपाललाई बहुआयामिक फाइदा पुग्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच सोमबार नयाँ दिल्लीमा भएको द्विपक्षीय वार्तापछि पश्चिमी मुलुकबाट नेपाल आउने अन्तर्राष्ट्रिय जहाजले भैरहवा हुँदै सिधै नेपाल प्रवेश गर्न पाउने सहमति भएको छ ।

उक्त सहमतिले अन्तर्राष्ट्रिय उडानमा भोग्दै आएको लामो घुमाउरो हवाईमार्गको बाध्यता हटाउनुका साथै उडान समय, इन्धन खपत र सञ्चालन खर्च घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसबाट हवाई सेवा सञ्चालन गर्ने वायुसेवा कम्पनीको लागत घट्नुका साथै यात्रुले तिर्नुपर्ने हवाई टिकटको मूल्यमा समेत सकारात्मक प्रभाव पर्ने छ । उड्डयन क्षेत्रका जानकारहरूका अनुसार हाल एकतर्फी सञ्चालनमा रहेको बी ३४५ हवाईमार्गलाई दुईतर्फी बनाउने सहमतिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै भैरहवा, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन सहज हुने छ । हवाईमार्ग छोटो हुँदा जहाजको इन्जिन सञ्चालन अवधि घट्ने र त्यसले इन्जिनको मर्मतसम्भारको आवश्यकतासमेत कम गर्न सहयोग पुग्ने छ ।

त्यस्तै गरी भारतका लागि पनि यो सहमतिले हवाई सम्पर्क र सीमापार पर्यटन विस्तारको अवसर बन्न सक्ने छ ।  यसले दुई देशबिच धार्मिक पर्यटन, व्यापार र जनस्तरको सम्बन्ध विस्तारमा सहयोग पुग्ने छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेन्द्र क्षेत्रीले लामो दुरीबाट आउने ठुला जहाजका लागि उडान समय केही मिनेट घट्नुले पनि उडान सञ्चालन खर्च बचत गर्न सक्ने बताउनुभयो । यसबाट वायुसेवा कम्पनीलाई नेपालमा उडान सञ्चालन गर्न थप व्यावसायिक सहजता हुने र त्यसको लाभ यात्रुले समेत पाउने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “हाल पश्चिमबाट नेपाल भित्रिने जहाज सिमराबाट मात्रै प्रवेश पाउने व्यवस्था रहेकामा अब भैरहवाबाट समेत भित्रिन पाउने गरी हवाई प्रवेश मार्ग दिन भारत सहमत भएपछि त्यसले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन तथा त्रिभुवन विमानस्थलमा आउने जहाजको लागत घटाउन सहयोग पुग्ने छ । सहमतिमा सम्झौतामार्फत कार्यान्वयनमा आए उडान दुरी, समय र सञ्चालन खर्च र हवाई टिकटको मूल्य घट्ने छ ।”

सहमतिले यो प्रवेश विन्दुबाट नेपाल प्रवेश गर्ने जहाजलाई भैरहवामा अवतरण गर्न झन्डै १४० नटिकल माइल (एक नटिकल माइल बराबर १.८५२ किलोमिटर) र पोखरामा अवतरण गर्न झन्डै ११९ नटिकल माइल दुरी छोटो हुने उहाँले बताउनुभयो । जस अनुसार भैरहवामा १७ र पोखरामा अवतरण गर्न १४ मिनेट समय छोटो पर्ने छ ।

अब भैरहवा र पोखरा आउने विमान पनि सिमरा पुगेर घुमेर आउनुपर्ने बाध्यता हट्ने छ । ३० हजार फिटभन्दा माथिको उचाइमा हुने उडानले नेपाललाई कुनै फाइदा नरहेको जनाउँदै उहाँले जहाजलाई एक हजार फिट तल झर्न दुई मिनेट समय लाग्ने लागतका आधारमा नेपालले कम्तीमा १० देखि २० हजार फिटको उचाइबाट प्रवेश लिनुपर्नेबारे प्राविधिक पक्षमा छलफल हुनुपर्ने बताउनुभयो । प्राधिकरणका अर्का पूर्वमहानिर्देशक त्रिरत्न मानन्धर सम्झौता कार्यान्वयनमा आएपछि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई आकर्षित गर्न सहज हुने जनाउनुभयो ।

उहाँले भन्नुभयो, “पछिल्लो सहमतिले पर्याप्त हवाई प्रवेश मार्ग र नियमित अन्तर्राष्ट्रिय उडानको अभावमा सञ्चालन हुन नसकेका दुई वटा विमानस्थलले व्यावसायिक गति लिन सक्ने छन् । हवाईमार्ग सञ्चालनसम्बन्धी प्राविधिक प्रक्रिया टुङ्गिएपछि भैरहवा विमानस्थलमा उपकरणमा आधारित अवतरण प्रणाली (आइएलएस) सञ्चालनका लागि समेत सहज हुन सक्ने छ । जसबाट हुस्सु र कम दृश्यता हुने समयमा पनि उडान अवतरणलाई नियमित बनाउन सहयोग पुग्न सक्ने छ ।”

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तार हुँदा लुम्बिनी आउने बौद्ध धर्मावलम्बी तथा भारतीय पर्यटकलाई नेपाल प्रवेश गर्न सहज हुने उहाँले बताउनुभयो । नेपाल वायुसेवा निगमका पूर्वइन्जिनियरिङ निर्देशक अच्युतराज पहाडीले भैरहवा विमानस्थल भारतीय सीमासँग नजिक भएकाले जहाजले भारतको हवाई क्षेत्रमा रहँदा नै आवश्यक उचाइबाट तल झर्ने अनुमति पाए राम्रो हुने बताउनुभयो । त्यस्तो अनुमति नपाए जहाजले भैरहवा विमानस्थलमाथि थप घुमाउरो उडान गर्नुपर्ने हुन सक्ने उहाँले बताउनुभयो । दोहोरा हवाईमार्ग सञ्चालनमा उचाइ निर्धारण, सञ्चार तथा नेभिगेसन प्रणाली र हवाई ट्राफिक व्यवस्थापन महत्वपूर्ण हुने  जानकारी दिँदै उहाँले भैरहवा हुँदै अन्तर्राष्ट्रिय जहाजलाई नेपाल प्रवेश गराउने व्यवस्था कार्यान्वयन गर्न नेपाल र भारतका हवाई ट्राफिक नियन्त्रण केन्द्रबिच प्राविधिक समन्वय, जहाजको प्रवेश विन्दु, उडान उचाइ, दिशा र सुरक्षित दुरी कायम गर्ने प्रक्रियासमेत स्पष्ट हुन आवश्यक भएको बताउनुभयो ।

त्यसै गरी जहाजको प्रकार, तौल, उडान दुरी, अवतरण प्रक्रिया, प्रवेश विन्दुको प्राविधिक अध्ययन, हवाई ट्राफिक व्यवस्थापन तथा सुरक्षा मूल्याङ्कन, दुवै देशका उड्डयन निकायबिच एटिएस लेटर अफ एग्रिमेन्टमा सहमति, संशोधित हवाईमार्गलाई एआइपी र हवाई नक्सामा प्रकाशनलगायत प्रक्रिया पूरा भएपछि उक्त हवाई प्रवेश विन्दु औपचारिक रूपमा सञ्चालनमा ल्याउन सकिने उहाँको भनाइ छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता विक्रमराज गौतमले नयाँ प्रवेश विन्दु सञ्चालनमा आवश्यक प्राविधिक पक्षबारे दुवै देशका अधिकारीले अन्तिम रूप दिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सहमतिले भैरहवा हवाईमार्गलाई दुईतर्फी बनाउने विषयमा नीतिगत आधार तयार गरेको छ । अब यसको कार्यान्वयनका लागि जहाजले भारतीय हवाई नियन्त्रणबाट नेपाली हवाई नियन्त्रणमा प्रवेश गर्ने उचाइ, हवाई यातायात व्यवस्थापन, सुरक्षा मापदण्ड र सञ्चालनबारे छलफल र प्रक्रिया तय हुने छ ।”

नयाँ रुट सञ्चालनका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणलाई जानकारी गराउने, हवाई सूचना प्रकाशन (एआइपी) मा जारी गर्ने, जहाजले कुन उचाइमा प्रवेश गर्ने, हवाई यातायात व्यवस्थापन कसरी गर्ने, उडान सुरक्षा तथा सञ्चालन प्रक्रिया कस्तो हुने भन्ने विषय प्राविधिक छलफलबाट टुङ्गो लागेपछि सहमति कार्यान्वयनमा आउने उहाँको भनाइ छ ।गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘अनुसन्धान र नवप्रवर्तनमा लगानी वृद्धि सरकारको प्राथमिकता हो’
२०८३ मंग्सिर ९, बुधबार
बाढी प्रभावित ९७० परिवारलाई घरभाडा रकम वितरण सुरु
२०८३ मंग्सिर ९, बुधबार
आज महिला हिंसा उन्मूलन दिवसः प्रत्येक दश मिनेटमा एक महिला तथा बालिकाको हत्या
२०८३ मंग्सिर ९, बुधबार
प्रदेश-स्थानीय तह निर्वाचन : दलहरू दौडिए, छैन मितिको टुंगो
२०८३ मंग्सिर ९, बुधबार
काठमाडौँ-भैरहवा–लखनउ हवाईमार्ग नेपाललाई बहुआयामिक फाइदा
२०८३ मंग्सिर ९, बुधबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ९, बुधबार
विधानविपरीत जानेलाई कारबाही हुन्छ : सभापति थापा
२०८३ मंग्सिर ९, बुधबार