काठमाडौं : आगामी वैशाखमा स्थानीय तहका पदाधिकारीको कार्यकाल सकिने भएसँगै निर्वाचन आयोग र राजनीतिक दलहरूको ध्यान निर्वाचनतर्फ केन्द्रित हुन थालेको छ । निर्वाचनको मिति तय गर्न दबाबस्वरूप आयोगले गत शुक्रबार राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलहरूसँग छलफल गरेको छ ।
आयोगको निर्वाचन तयारीसँगै राजनीतिक दलहरू पनि चुनावी तयारीमा जुटेका छन् । तर, सरकारले भने निर्वाचनको मिति तोक्न ढिलाइ गरेको छ । स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी वैशाखमा सकिँदै छ भने प्रदेशसभाको कार्यकाल मंसिरसम्म बाँकी छ । दुवै निर्वाचन एकैपटक गर्ने कि आ–आफ्नो कार्यकाल सकिएपछि गर्ने भन्ने अन्योलबीच छलफल अघि बढेको छ ।
राष्ट्रिय मान्यताप्राप्त दलहरूसँग छलफल गरेको आयोगले अन्य दलहरूसँग पनि चरणबद्ध रूपमा परामर्श गर्ने तयारी गरेको निर्वाचन आयुक्त गुरु वाग्लेले बताए । समयमै निर्वाचन गर्न आयोग तयार रहेको र त्यसको व्यवस्थापनका विषयमा दलहरूसँग पहिलो चरणको छलफल भइसकेको उनको भनाइ छ । ‘हामीले राष्ट्रिय मान्यताप्राप्त दलहरूसँग पहिलो चरणको छलफल गरेका छौं, दलहरूबाट सकारात्मक सुझाव आएका छन्,’ उनले भने, ‘बाँकी राजनीतिक दलहरूसँगको छलफललाई प्राथमिकतामा राखेर अघि बढेका छौं । मतदाता शिक्षालगायत विषयमा पनि छलफल हुनेछ ।’
आयोगको गत बैठकमा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाका प्रतिनिधिले आफ्ना धारणा राखेका थिए । सत्तारूढ रास्वपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस दुवै निर्वाचन एकैपटक गर्न सकिने विषयमा सहमतिनजिक छन् ।
अलग–अलग निर्वाचन गर्दा एक वर्षमा नौ महिनासम्म मुलुक चुनावमै व्यस्त हुनुपर्ने र निर्वाचन आचारसंहिताका कारण सरकारी कामकारबाही महिनौं प्रभावित हुने भएकाले दुवै निर्वाचन एकैपटक गर्ने व्यवस्था मिलाउनुपर्ने नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौला पन्तले बताइन् । ‘देश सधैं निर्वाचनमै केन्द्रित हुनुपर्ने अवस्थाबाट मुक्त गर्न कानुनी अड्चनलाई फुकाएर स्थानीय तह र प्रदेशको निर्वाचन एकैपटक गरेर जाने कुरामा दलहरू सकारात्मक हुनुपर्छ ।’
तर, एमाले, नेकपालगायत दल यसमा सहमत छैनन् । एमालेले कानुनसम्मत नहुने निर्वाचनको औचित्य नरहेको बताएको छ भने नेकपाले पनि एमालेको धारणामा सहमति जनाएको छ ।
निर्वाचनको मिति तोक्ने जिम्मेवारी सरकारकै भएकाले सरकारले तोकेको मितिमा निर्वाचन गराउने गरी आयोगले तयारी गरिरहेको आयुक्त वाग्लेले बताए । चुनावको मिति तोक्नुअघि सरकारले निर्वाचन आयोगसँग परामर्श लिनुपर्ने कानुनी व्यवस्था छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणपछि निर्वाचनको मिति तोक्ने विषयमा गृहकार्य भइरहेको सरकार पक्षले दाबी गरेको थियो । प्रधानमन्त्री शाह भारत भ्रमण सकेर स्वदेश फर्किसकेका छन् । यद्यपि, निर्वाचन कहिले र कसरी गर्ने भन्ने विषयले मन्त्रिपरिषद्को बैठकमा अझै प्रवेश पाएको छैन । यसकारण निर्वाचनको मिति तोक्न केही ढिलाइ हुन सक्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
निर्वाचन आयोगले आगामी वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेशसभाको निर्वाचन गर्ने प्रस्ताव अघि सारेको छ । संविधान र कानुनमा रहेका व्यवस्थाले केही अन्योल सिर्जना गरेको आयोगका पदाधिकारी बताउँछन् । दुवै तहको निर्वाचन एकैपटक गराउने नाममा स्थानीय तहको निर्वाचन पछाडि धकेल्दा स्थानीय तह जनप्रतिनिधिविहीन हुने र नागरिकको सेवाप्रवाह प्रभावित हुने आयोगका एक पदाधिकारीले बताए । यद्यपि, सरकारले एकैपटक निर्वाचन गर्ने निर्णय गरे पनि आयोगले त्यसलाई सम्पन्न गर्नुपर्ने दायित्व रहेको उनको भनाइ छ ।
संविधान र कानुनसम्मत ढंगले निर्वाचन हुनुपर्नेमा नेकपाको जोड रहेको पार्टीका प्रवक्ता प्रकाश ज्वालाले बताए । आयोगको वैशाख र मंसिरको प्रस्तावलाई नेकपाले सकारात्मक रूपमा लिएको उनले जानकारी दिए ।
‘संविधान र कानुनअनुसार आयोगको प्रस्ताव स्वीकार्य छ,’ प्रवक्ता ज्वालाले मध्यान्हसँग भने, ‘दुवै निर्वाचन एकैपटक गराउँदा संविधान र कानुनअनुसार हुँदैन । स्थानीय तह र प्रदेश दुवैको पाँच वर्ष कार्यकाल हुन्छ । कसैको कार्यकाल घटाउन र बढाउन मिल्दैन ।’
पार्टीका तर्फबाट निर्वाचनको तयारी भइरहेको पनि ज्वालाले बताए । ‘राष्ट्रिय जागरण अभियानअन्तर्गत स्थानीय तहको निर्वाचन तयारी गरिरहेका छौं,’ उनले भने, ‘निर्वाचन घोषणासँगै पार्टीले उम्मेदवार सिफारिस लिन्छ । मंसिरको अन्तिममा केन्द्रीय समिति बैठक, पुस ११ गते देशभरका सबै वडा अधिवेशन र माघ १५ मा सबै पालिका अधिवेशन गर्ने तयारी छ ।’ यी अभियान स्थानीय तह निर्वाचनको तयारीसँगै जोडिएका उनले बताए ।
निर्वाचन खर्च घटाउन दुवै चुनाव एकैसाथ गर्दा उपयुक्त हुने पूर्वकार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए । ‘संविधान र कानुनले स्थानीय तह र प्रदेशसभाको कार्यकाल पाँच वर्षको हुने भनेको छ,’ उनले भने, ‘एउटाको वैशाखमा र अर्कोको कार्यकाल मंसिरमा सकिँदै छ । जटिलता पनि त्यति नै हो ।’
कार्यकाल सकिएपछि लागू हुने गरी कानुनी प्रबन्ध गरेर स्थानीय तहसँगै प्रदेशको निर्वाचन गर्न सकिने उनको तर्क छ । ‘दुवै निर्वाचन एकैपटक गर्ने र कार्यकाल सकिएपछि मात्रै ती जनप्रतिनिधिको कार्यकाल प्रारम्भ हुने गरी व्यवस्था मिलाउन सकिन्छ, यसले देशको खर्च घटाउन मद्दत गर्छ ।’ तर, यस विषयमा सरकार, आयोग र राजनीतिक दलहरूबीच छलफल तथा समन्वयबाट निष्कर्षमा पुग्नुपर्ने उनले बताए ।
निर्वाचन आयोगले यसअघि संघीय संसद्, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने २४ दलसँग छलफल गरेको थियो । आयोगका सूचना अधिकारी नारायणप्रसाद भट्टराईले निर्वाचनको आवश्यक तयारी गरी सम्पन्न गर्न आयोगलाई १२० दिन अर्थात् चार महिनाको समय चाहिने बताए । उक्त समयावधि राखेर सरकारले घोषणा गर्ने निर्वाचन गराउन आयोग तयार रहेको उनको भनाइ छ । आयोगले मतदाता नामावली अद्यावधिकको काम पनि गरिरहेको छ ।
यस्तो छ कानुनी प्रावधान
स्थानीय तहको निर्वाचन २०७९ वैशाखमा र प्रदेशसभाको निर्वाचन २०७९ मंसिरमा भएको थियो । संविधानको धारा २२५ मा गाउँसभा र नगरसभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्ष हुने व्यवस्था छ । त्यस्तो कार्यकाल समाप्त भएको ६ महिनाभित्र अर्को गाउँसभा र नगरसभाको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक प्रावधान छ ।
संविधानमा भनिएको छ, ‘गाउँसभा र नगरसभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्षको हुनेछ । त्यस्तो कार्यकाल समाप्त भएको ६ महिनाभित्र अर्को गाउँसभा र नगरसभाको निर्वाचन सम्पन्न गर्नुपर्नेछ ।’
कानुनतः आगामी वैशाख ३० मा देशभरका ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्थानीय तहका पदाधिकारीको कार्यकाल सकिँदै छ ।
निर्वाचन आयोग ऐन, २०७३ मा नेपाल सरकारले निर्वाचन गराउन मिति तोक्ने उल्लेख छ । आवश्यकताअनुसार एक प्रदेशको निर्वाचन एकैपटक सम्पन्न हुने गरी चरणबद्ध रूपमा निर्वाचन गर्न सकिने व्यवस्था पनि ऐनमा छ । तर, निर्वाचनको पहिलो चरणको मितिलाई नै निर्वाचन सम्पन्न भएको मिति मानिने कानुनी व्यवस्था छ ।मध्यान्ह दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया