मंग्सिर ९, २०८३ बुधबार November 25, 2026

निजी क्षेत्रका समस्या हटाउन ६४ कानुन संशोधनको प्रस्ताव

प्रस्तावित व्यवस्थाअनुसार उद्योगले यस्तो परिवर्तन गरेको ३० दिनभित्र सम्बन्धित निकायलाई जानकारी दिए पुग्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । उद्योग तथा व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले लामो समयदेखि भोग्दै आएका कानुनी जटिलता, प्रशासनिक झन्झट र नियामकीय अवरोध हटाउने उद्देश्यसहित सरकारले ६४ वटा कानुन एकैपटक संशोधन गर्ने प्रस्ताव अघि सारेको छ । लगानी स्वीकृति, उद्योग स्थापना तथा विस्तार, कर प्रशासन, बैंकिङ, पुँजी बजार, सार्वजनिक खरिद, पूर्वाधार निर्माण, विदेशी विनिमय र जग्गा व्यवस्थापन लगायतका क्षेत्रमा विद्यमान कानुनी व्यवस्था परिमार्जन गर्न खोजिएको हो । ‘लगानी तथा पूर्वाधारसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ को ४१३ पृष्ठ लामो मस्यौदाले निजी क्षेत्रको लगानी वातावरण सुधार गर्न विद्यमान कानुनी संरचनामै व्यापक परिवर्तनको प्रस्ताव गरेको छ । उद्योगी व्यवसायीले नियमित व्यावसायिक निर्णय लिन सरकारी निकायबाट पटक–पटक पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था खुकुलो बनाउनेदेखि समस्याग्रस्त व्यवसायको पुनर्संरचना र पुनरुत्थानमा सहजीकरण गर्नेसम्मका विषय मस्यौदामा समेटिएका छन् ।

मस्यौदाको मूल उद्देश्य उद्योग तथा व्यवसायको स्थापना, सञ्चालन र विस्तारलाई सहज बनाउनु, आयोजना तयारी तथा कार्यान्वयनमा देखिएका अवरोध कम गर्नु, वित्तीय स्रोत परिचालनका विकल्प विस्तार गर्नु र सरकारी निकायबीचको प्रशासनिक समन्वय प्रभावकारी बनाउनु देखिन्छ । प्रस्तावित संशोधन कुनै एउटा क्षेत्र वा उद्योगमा मात्र केन्द्रित छैन । कम्पनी स्थापना, उद्योग दर्ता, उत्पादन क्षमता वृद्धि, लगानी परिचालन, सम्पत्ति व्यवस्थापन, पूर्वाधार निर्माण र व्यवसाय पुनर्संरचनासम्मका प्रक्रियालाई एउटै कानुनी सुधारको दायरामा ल्याउन खोजिएको छ । यसले निजी क्षेत्रको व्यावसायिक निर्णय प्रक्रियामा सरकारी हस्तक्षेप र अनावश्यक प्रशासनिक प्रक्रियाको भार घटाउने अपेक्षा गरिएको छ ।

पूर्वस्वीकृतिको झन्झट हटाउने प्रस्ताव

प्रस्तावित अध्यादेशको सबैभन्दा महत्त्वपूर्ण पक्ष उद्योग व्यवसायको नियमित सञ्चालनमा पूर्वस्वीकृति लिनुपर्ने व्यवस्थाको दायरा घटाउनु हो । औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा १२ संशोधन गरी उद्योगले आफ्नो विद्यमान पुँजी वा उत्पादन क्षमता वृद्धि गर्दा, उद्देश्य थप गर्दा वा परिवर्तन गर्दा उद्योग दर्ता गर्ने निकायबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था हटाउन खोजिएको छ । प्रस्तावित व्यवस्थाअनुसार उद्योगले यस्तो परिवर्तन गरेको ३० दिनभित्र सम्बन्धित निकायलाई जानकारी दिए पुग्नेछ ।

सम्बन्धित निकायले आवश्यक विवरण प्राप्त भएको सात दिनभित्र उद्योगको अभिलेख अद्यावधिक गर्नुपर्ने प्रस्ताव छ । यसले उद्योग विस्तारका लागि सरकारी कार्यालयमा स्वीकृति कुर्दै बस्नुपर्ने अवस्थालाई कम गर्ने अपेक्षा गरिएको छ । त्यस्तै, उद्योगको उत्पादन प्रक्रियामा सुधार, प्रविधि स्तरोन्नति, उपकरण परिवर्तन तथा दर्ता भएको उद्देश्यभित्र रही उत्पादन विविधीकरण गर्न पनि निश्चित अवस्थामा पूर्वस्वीकृति आवश्यक नपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

यसको अर्थ उद्योगीले आफ्नो व्यवसायको आवश्यकता र बजारको मागअनुसार उत्पादन तथा सञ्चालनसम्बन्धी निर्णय छिटो लिन सक्नेछन् । तर, वातावरणीय स्वीकृति, विदेशी लगानी स्वीकृति वा अन्य क्षेत्रगत अनुमति आवश्यक पर्ने गतिविधिमा भने सम्बन्धित कानुनी प्रक्रिया पूरा गर्नुपर्ने छ । यसले उद्योग सञ्चालनमा प्रशासनिक नियन्त्रणभन्दा सूचना तथा अभिलेख अद्यावधिकमा आधारित नियमन प्रणाली विकास गर्ने दिशामा परिवर्तन ल्याउन सक्ने देखिन्छ ।

एउटै विद्युतीय प्रणालीबाट लगानीसम्बन्धी सेवा

लगानीकर्ताले सरकारी निकाय धाउनुपर्ने बाध्यता घटाउन अध्यादेशको मस्यौदाले एकीकृत विद्युतीय लगानी सहजीकरण प्रणाली स्थापना गर्ने प्रस्ताव पनि गरेको छ । प्रस्तावित प्रणालीमार्फत लगानीकर्ताले आवेदन दिन, आवश्यक कागजात पेस गर्न, दस्तुर भुक्तानी गर्न, आवेदनको अवस्था हेर्न, निर्णय तथा स्वीकृतिपत्र प्राप्त गर्न र गुनासो दर्ता गर्न सक्नेछन् । हाल लगानीसम्बन्धी विभिन्न सेवा लिन अलग–अलग सरकारी कार्यालय तथा निकायमा पुग्नुपर्ने अवस्थालाई एउटै प्रणालीबाट सम्बोधन गर्ने यसको लक्ष्य देखिन्छ ।

प्रस्तावअनुसार कुनै लगानीकर्ताले एकपटक पेस गरेको विवरण सरकारी निकायको विद्युतीय अभिलेखमा उपलब्ध र प्रमाणीकरण गर्न सकिने अवस्थामा पुनः सोही विवरण पेस गर्न लगाइने छैन । यसले एउटै कागजात पटक-पटक बुझाउनुपर्ने झन्झट कम गर्नेछ ।

त्यस्तै, सम्बन्धित निकायले थप कागजात माग्दा वा आवेदन अस्वीकृत गर्दा त्यसको कारण र कानुनी आधार स्पष्ट खुलाउनुपर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ । लगानी बोर्डको कार्यालयले सम्बन्धित मन्त्रालय, विभाग, नियामकीय निकाय तथा प्रदेश र स्थानीय तहसँग समन्वय गरी प्रणाली सञ्चालन गर्ने प्रस्ताव छ । यद्यपि, डिजिटल प्रणाली स्थापना हुँदैमा सबै प्रकारका स्वीकृति स्वतः प्राप्त हुने भने होइन । सम्बन्धित निकायको कानुनी अधिकार र जिम्मेवारी यथावत् रहने भएकाले यसको प्रभावकारिता सरकारी निकायबीचको समन्वय, प्रविधिको उपलब्धता र निर्णय प्रक्रियाको गतिमा निर्भर हुनेछ ।

विदेशी ऋणलाई सेयर पुँजीमा बदल्न सकिने

उद्योग व्यवसायका लागि वित्तीय स्रोत जुटाउने विकल्प विस्तार गर्नु पनि प्रस्तावित कानुनी सुधारको अर्को महत्त्वपूर्ण पक्ष हो । यसका लागि कम्पनी ऐन, धितोपत्रसम्बन्धी ऐन, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, विदेशी विनिमयसम्बन्धी ऐन र नागरिक लगानी कोष ऐन लगायतका कानुनमा संशोधन प्रस्ताव गरिएको छ । मस्यौदाअनुसार स्वीकृत विदेशी ऋणको भुक्तानी गर्न बाँकी साँवा तथा कानुनबमोजिम आर्जित ब्याजलाई सेयर पुँजीमा रूपान्तरण गर्न सकिने व्यवस्था गर्न खोजिएको छ । यसबाट विदेशी ऋण लिएका कम्पनीलाई नगद प्रवाह व्यवस्थापनमा राहत पुग्न सक्नेछ । ऋणको दायित्वलाई सेयर पुँजीमा रूपान्तरण गर्दा कम्पनीको वित्तीय संरचना सुधार गर्न र तत्कालीन भुक्तानी दबाब कम गर्न मद्दत पुग्न सक्छ ।

त्यस्तै, कम्पनीले कर्मचारी सेयर विकल्प योजना सञ्चालन गर्नसक्ने व्यवस्था विस्तार गर्ने प्रस्ताव छ । कर्मचारीलाई कम्पनीको सेयरमा सहभागी गराउने यस्तो योजनाले दक्ष जनशक्ति आकर्षित गर्न र कम्पनीप्रति कर्मचारीको दीर्घकालीन प्रतिबद्धता बढाउन सहयोग गर्नसक्छ । प्राथमिकता सेयर तथा सेयरमा रूपान्तरण गर्न सकिने वित्तीय उपकरण जारी गर्ने व्यवस्था पनि थप सहज बनाउन खोजिएको छ । यसले कम्पनीलाई परम्परागत बैंक ऋणमा मात्र निर्भर नभई पुँजी बजारबाट समेत स्रोत जुटाउने अवसर विस्तार गर्नसक्छ ।

स्टार्टअप र निजी पुँजी लगानीलाई प्रोत्साहन

नयाँ उद्यम तथा नवप्रवर्तनमा आधारित व्यवसायलाई पुँजी उपलब्ध गराउन एन्जेल लगानी, बिज पुँजी, भेन्चर क्यापिटल, प्राइभेट इक्विटी र सहलगानी परिचालनमा सहजीकरण गर्ने प्रस्ताव पनि मस्यौदामा समेटिएको छ । नेपालमा विशेषगरी प्रारम्भिक चरणका स्टार्टअप उद्यमले बैंकबाट ऋण लिन धितो, वित्तीय विवरण र व्यावसायिक इतिहास लगायतका कारण कठिनाइ भोग्दै आएका छन् । यस्तो अवस्थामा जोखिम लिन तयार लगानीकर्ता र नयाँ उद्यमबीच पुँजी परिचालनको वातावरण बनाउने उद्देश्यले कानुनी व्यवस्था परिमार्जन गर्न खोजिएको देखिन्छ ।

पूर्वाधार निर्माणमा निजी क्षेत्रको भूमिका विस्तार

सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, २०७५ मा संशोधन गरी पूर्वाधार विकासमा निजी क्षेत्रको सहभागिताको दायरा फराकिलो बनाउने प्रस्ताव गरिएको छ । मस्यौदाअनुसार योजनाबद्ध नयाँ सहर, एकीकृत टाउनसिप, बस्ती विकास तथा सहरी पुनर्विकासका आयोजनालाई सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडेलमा कार्यान्वयन गर्न सकिनेछ । यसले सहरी पूर्वाधार निर्माणमा सरकारी स्रोतमा मात्र निर्भर रहनुपर्ने अवस्थालाई कम गर्दै निजी क्षेत्रको पुँजी, प्रविधि र व्यवस्थापकीय क्षमताको उपयोग गर्ने अवसर प्रदान गर्नसक्छ ।

त्यस्तै, सरकारी निकायबाट आह्वान नगरिएको आयोजना प्रस्ताव निजी क्षेत्रबाट प्राप्त भएमा त्यसलाई प्रतिस्पर्धामा लैजान स्विस च्यालेन्ज विधि अपनाउन सकिने व्यवस्था प्रस्ताव गरिएको छ । स्विस च्यालेन्ज विधिअन्तर्गत कुनै निजी प्रस्तावकले नयाँ आयोजना प्रस्ताव गरेमा त्यसलाई अन्य इच्छुक प्रस्तावकबीच प्रतिस्पर्धामा लैजान सकिन्छ । प्रतिस्पर्धाबाट उत्कृष्ट प्रस्ताव छनोट भएपछि मूल प्रस्तावकलाई प्रतिस्पर्धीको प्रस्तावसँग बराबरी गर्ने अवसर दिइन्छ । यसले निजी क्षेत्रबाट नयाँ आयोजना पहिचान र प्रस्ताव गर्ने वातावरण बनाउन सक्छ । तर, प्रतिस्पर्धाको पारदर्शिता, प्रस्तावको मूल्यांकन र मूल प्रस्तावकलाई दिइने अवसरको कार्यान्वयनमा स्पष्ट मापदण्ड आवश्यक हुनेछ ।

विदेशी लगानीका लागि केही नयाँ क्षेत्र खुला

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा संशोधन गरी विदेशी लगानी गर्न नपाइने क्षेत्रको सूचीमा रहेको आन्तरिक कुरियर सेवा हटाउन प्रस्ताव गरिएको छ । यसबाट आन्तरिक कुरियर सेवामा समेत विदेशी लगानीका लागि बाटो खुल्न सक्नेछ । त्यस्तै, नयाँ सहर, एकीकृत टाउनसिप, बस्ती विकास तथा सहरी पुनर्विकासका स्वीकृत आयोजनामा तोकिएका सर्त पूरा गरी विदेशी लगानी भित्र्याउन सकिने व्यवस्था प्रस्ताव गरिएको छ । तर, यो प्रस्ताव घरजग्गा कारोबारका सबै क्षेत्र विदेशी लगानीका लागि खुला गर्ने व्यवस्था भने होइन । मस्यौदामा न्यूनतम लगानी, आयोजनाको क्षेत्रफल, पूर्वाधार निर्माणको दायित्व र लगानी कायम राख्नुपर्ने अवधि लगायतका सर्त पालना गर्नुपर्ने उल्लेख छ ।

यसले निश्चित प्रकृतिका सहरी विकास तथा पूर्वाधार आयोजनामा विदेशी पुँजी, प्रविधि र व्यवस्थापकीय अनुभव भित्र्याउने अवसर सिर्जना गर्नसक्छ । विशेषगरी ठूला सहरी आयोजना निर्माणमा आवश्यक पर्ने पुँजी परिचालनका लागि विदेशी लगानीलाई लक्षित गरिएको देखिन्छ ।

आर्थिक गतिविधिलाई सहज बनाउने गरी कानुन सुधार गर्न आवश्यक : अर्थमन्त्री डा. वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले समय सापेक्ष नरहेका र पुराना कानुन खारेज गरी आर्थिक गतिविधिलाई सहज बनाउने गरी कानुन सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथिको दफावार छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नयाँ कानुन थप्दै जाने तर पुराना कानुन संशोधन र खारेज गर्न ढिलो गर्ने प्रवृत्तिले अर्थतन्त्रमा अनावश्यक नियामकीय बोझ बढेको बताउनभयो ।

अर्थमन्त्री वाग्लेले विभिन्न अध्ययन र प्रतिवेदनले औँल्याएका १५ वटा ऐन खारेज गर्ने प्रस्ताव अघि बढाइएको जानकारी दिँदै नयाँ आयोग गठन गरेर थप अध्ययन गर्नुभन्दा यसअघि नै प्राप्त सुझाव कार्यान्वयन गर्ने उद्देश्यले विधायिकी सुधारको प्रक्रिया अघि बढाइएको बताउनुभयो । नियमन आवश्यक भए पनि अत्याधिक कानुनी व्यवस्थाले अर्थतन्त्रलाई बाधा पुर्‍याउनसक्ने उहाँको भनाइ छ । एउटा ऐनले आर्थिक गतिविधि सहज बनाउने तर अर्को ऐनले नियन्त्रण गर्न खोज्ने अवस्था सिर्जना हुँदा नीतिगत विरोधाभाष उत्पन्न हुने उहाँले बताउनुभयो ।

अर्थमन्त्री वाग्लेले पुराना ऐनहरू तत्कालीन समय र परिस्थितिअनुसार बनेका भए पनि अहिलेको आधुनिक प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को युगमा तिनको सान्दर्भिकता पुनरावलोकन गर्नुपर्ने बताउनुभयो । पुराना र असान्दर्भिक कानुन खारेज गरेर आवश्यक व्यवस्था आधुनिक ऐनहरूमा समेट्नुपर्ने अर्थमन्त्री वाग्लेको भनाइ छ ।हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाको मृत्यु
२०८३ मंग्सिर ९, बुधबार
आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक
२०८३ मंग्सिर ९, बुधबार
डिजिटल बैंकिङमा नेपालीको पहुँच विस्तार, एक वर्षमै २३ लाखभन्दा बढी प्रयोगकर्ता थपिए
२०८३ मंग्सिर ९, बुधबार
‘अनुसन्धान र नवप्रवर्तनमा लगानी वृद्धि सरकारको प्राथमिकता हो’
२०८३ मंग्सिर ९, बुधबार
बाढी प्रभावित ९७० परिवारलाई घरभाडा रकम वितरण सुरु
२०८३ मंग्सिर ९, बुधबार
आज महिला हिंसा उन्मूलन दिवसः प्रत्येक दश मिनेटमा एक महिला तथा बालिकाको हत्या
२०८३ मंग्सिर ९, बुधबार
निजी क्षेत्रका समस्या हटाउन ६४ कानुन संशोधनको प्रस्ताव
२०८३ मंग्सिर ९, बुधबार