काठमाडौं । प्रमुख दुई उत्तरी नाका बन्द हुँदा त्यसको दबाब मुस्ताङस्थित कोरला नाकामा परेको छ । रसुवा र तातोपानी नाका बन्द भएपछि कोरला नाकामा चाप बढेको हो । प्रमुख व्यापारिक नाका बन्द भएको साढे दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि खुलाउन नसक्दा लामो दूरीको कोरला मार्ग प्रयोग गर्नुपरेको व्यवसायीले बताएका छन् ।
रसुवागढी र तातोपानीबाट आउनुपर्ने मालवाहक कन्टेनर कोरला हुँदै ल्याउने प्रयास गरिए पनि त्यहाँको पूर्वाधार, जनशक्ति र सडक क्षमताले बढेको व्यापारिक चाप धान्न कठिन भएको हो । कोरला नाकाबाट काठमाडौंसम्मको सडक लामो, साँघुरो र भौगोलिक रूपमा चुनौतीपूर्ण छ । कतिपय खण्डमा कच्ची सडक र पहिरोको जोखिमसमेत रहेकाले ठूला कन्टेनरको ढुवानी सहज छैन । यसले मालसामान आयातमा लाग्ने समय र खर्च दुवै बढाएको छ ।
कोरलाबाट सामान इम्पोर्ट गर्दा समय बढी लाग्ने, खर्चिलो हुने र भाडा महँगो पर्ने भएकाले बजारमा महँगी पनि बढेको उनीहरूको भनाइ छ । चीनबाट जाडोयामका लागि आयात गरिने लुगा- कपडालगायत फेन्सी सामान महँगिएका हुन् । लामो दूरी, महँगो ढुवानी भाडा र चिनियाँ मुद्रा युआनको मूल्यवृद्धिका कारण जाडोका सामानको मूल्य बढेको व्यवसायीको भनाइ छ ।
कोरला नाका हुँदै मुस्ताङबाट काठमाडौंसम्म सामान ल्याउँदा एउटा कन्टेनरको ढुवानी भाडा पाँच लाख रुपैयाँसम्म पुगेको छ । जबकि, तातोपानी र रसुवा नाका सञ्चालनमा हुँदा केरुङबाट काठमाडौंसम्म सामान ल्याउन डेढ लाख रुपैयाँ हाराहारीमा खर्च हुने गरेको थियो । त्यसैमाथि जाडो सिजनलाई लक्षित गरेर अर्डर गरिएका थोरै सामानमात्रै काठमाडौं आइपुगेका छन् । बाँकी सामान बाटोमै रोकिएको व्यवसायी बताउँछन् ।
उत्तरी नाका बन्द भएपछि कोरला नाकाबाट हुने आयात भने बढेको छ । त्यसको प्रभाव मुस्ताङ भन्सारको राजस्व संकलनमा पनि देखिएको छ । कोरला नाकाबाट हुने आयात बढेपछि मुस्ताङ भन्सारले दैनिक २५ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरिरहेको जनाएको छ । तर, हिउँ पर्न थालेसँगै नाकाबाट हुने आयात नियमित हुनसकेको छैन । भन्सारका अनुसार कोरला नाका हुँदै कपडा, फलफूल, ओखर र विभिन्न औद्योगिक कच्चा पदार्थ आयात भइरहेका छन् । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवागढी नाका पूर्णरूपमा अवरुद्ध भएको छ । त्यसैलाई देखाएर चिनियाँ पक्षले तातोपानी नाका खुलाउन पनि आनाकानी गरेको हो । तातोपानी नाका खुलाउन नेपालले बारम्बार पहल र आग्रह गरे पनि त्यसले परिणम ल्याउनसकेको छैन ।
व्यापार प्रभावित, राजस्वमा समेत असर
रसुवागढी नाका नेपाल-चीन व्यापारको प्रमुख स्थलमार्ग हो । बाढीले सीमावर्ती टिमुरे बस्ती, भन्सार, अध्यागमन तथा सुरक्षासम्बन्धी संरचनामा क्षति पुर्याएपछि यो नाकाबाट हुने नियमित आयात-निर्यात ठप्प भएको छ । यसको प्रत्यक्ष असर चीनबाट आउने विद्युतीय सवारीसाधन, इलेक्ट्रोनिक्स, औद्योगिक कच्चा पदार्थ, लत्ताकपडा तथा चाडपर्व लक्षित उपभोग्य वस्तुको आपूर्तिमा परेको छ ।
रसुवागढी बन्द भएपछि चीनसँगको व्यापारका लागि अर्को प्रमुख विकल्प तातोपानी नाका पनि सहज रूपमा सञ्चालन हुन सकेको छैन । भोटेकोशी बाढीपछि चीनले पहिरोको जोखिम देखाउँदै भदौ १२ गतेदेखि तातोपानीबाट हुने आयात–निर्यात रोकेको थियो । यसअघि पनि अरनिको राजमार्गमा पहिरोका कारण नाका पटकपटक अवरुद्ध हुँदै आएको थियो ।
यता, कोरला नाका काठमाडौं उपत्यकाबाट करिब ४७० किलोमिटर टाढा पर्छ । चीनतर्फको लिजे क्षेत्रमा रहेको चिनियाँ भन्सार करिब चार हजार ७८० मिटरको उचाइमा छ । व्यवसायीले कोरला नाकालाई दीर्घकालीन विकल्पभन्दा तातोपानी नाका सञ्चालन नहुँदासम्मको अस्थायी उपायका रूपमा मात्र हेरेका छन् ।
प्रमुख दुई नाका बन्द हुँदा चीनसँगको व्यापार प्रभावित भएको छ । नाका अवरुद्ध हुँदा भन्सार राजस्वमा समेत असर पर्ने देखिएको हो । वैकल्पिक नाकाबाट आयात बढे पनि त्यसले पुराना नाकाबाट हुने व्यापार र राजस्वको कमी तत्काल पूर्ति गर्नसक्ने अवस्था छैन ।
पहल भयो, उपलब्धि भएन
नाका सञ्चालनका लागि राजनीतिक, कूटनीतिक र व्यावसायिक तहबाट पहल भइरहे पनि सञ्चालनको मिति भने अझै निश्चित हुनसकेको छैन । चीनतर्फ खासा क्षेत्रमा सडक तथा पुल निर्माणको काम भइरहेको छ । निर्माणका कारण केही पूर्वाधारमा असर परे पनि चिनियाँ भू-भागमा सवारीसाधनको आवागमन भने भइरहेको व्यवसायी बताउँछन् । चीनको केन्द्रीय तहबाट तातोपानी नाका सञ्चालनका लागि निर्देशन भएको भनिए पनि स्वायत्त क्षेत्र सिजाङ (तिब्बत) अन्तर्गतको प्रशासनले झाङ्मु पोर्ट सञ्चालनको तयारी अघि नबढाएको उनीहरूको भनाइ छ । खासामा रहेका चिनियाँ भन्सार, अध्यागमन, क्लियरिङ एजेन्ट तथा ट्रान्सपोर्ट कम्पनीले समेत नाका सञ्चालनबारे अहिलेसम्म कुनै औपचारिक निर्देशन नपाएको व्यवसायीले बताएका छन् ।
नेपालतर्फ भने सडकको अवस्था सुधार हुँदैगएको सडक डिभिजन कार्यालयले जनाएको छ । बाह्रबिसेदेखि लिपिङसम्मको करिब २६ किलोमिटर सडकमा ४० फिटे मालवाहक कन्टेनरसमेत सञ्चालन गर्न सकिने गरी अवरोध हटाइएको जिल्ला प्रसाशन कार्यालयले सिन्धुपाल्चोकले जनाएको छ । कार्यालयका अनुसार पहिरो पन्छाएर र अवरुद्ध स्थान खुलाएर सडक सञ्चालनयोग्य बनाइएको छ ।
यसअघि भूकम्पपछि करिब चार वर्ष बन्द भएको तातोपानी नाका २०७६ जेठमा पुनः सञ्चालनमा आएको थियो । त्यसयता कोरोना महामारी, बाढीपहिरो तथा सडकको भौगोलिक समस्याका कारण नाका नियमित सञ्चालन हुनसकेको छैन ।
नाका खुलाउन समन्वय भइरहेको छ : प्रवक्ता क्षेत्री
सरकारले वैकल्पिक नाका प्रयोग र तातोपानी-झाङ्मु नाका सञ्चालनका लागि कूटनीतिक पहल गरिरहेको छ । परराष्ट्र मन्त्रालयले गत भदौ १० गतेको बाढीपछि रसुवागढी नाका पूर्णरूपमा अवरुद्ध रहेको अवस्थामा नेपाल-चीनबीचको तातोपानी-झाङ्मु नाका सञ्चालन गर्न प्रयास भइरहेको जनाएको छ ।
ठूला मालवाहक ट्रक तथा कन्टेनरका लागि तातोपानी नाका खुला गराउनेलगायत अन्य नाकाबाट आवागमन सहज बनाउन चीन सरकार र सम्बन्धित निकायसँग समन्वय भइरहेको मन्त्रालयका प्रवक्ता एवं सहसचिव लोकबहादुर पौडेल क्षेत्रीले बताउनुभयो । तातोपानी क्षेत्रमा सडक र नाकाका पूर्वाधार सञ्चालनयोग्य बन्दै गए पनि चिनियाँ पक्षले नाका खुलाउने मिति तय नगर्दा व्यवसायी र स्थानीय अन्योलमा छन् ।
यसअघि परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँग जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन चिनियाँ पक्षसँग आग्रह गर्नुभएको थियो । चीनको ‘प्रेसिडेन्ट अफ द चाइनिज पिपुल्स एसोसिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिज’का अध्यक्ष याङ वानमिङको नेपाल भ्रमणका क्रममा उहाँले तातोपनाी नाका खुलाउन आग्रह गर्नुभएको थियो ।हिमालय टाइम्स
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया