श्रावण २, २०८२ शुक्रबार July 18, 2025

जयवागेश्वरी मन्दिर माटो जोडाइबाट पुनःनिर्माण गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भुकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर माटोको जोडाइबाट पुनःनिर्माण हुने भएको छ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माणका लागि भत्काउने क्रममा मन्दिरभित्र भैरवलगायत विभिन्न देवी देवताका चित्र र तीन गजुरको मन्दिरलगायत संरचना भेटिएपछि पुरातत्वविद् तथा संस्कृतिविद्लगायत विज्ञको समिति गठन गरी निर्माणबारे सुझाव मागिएको थियो।

समितिले माटोको जोडाइबाट मन्दिर पुनःनिर्माण गर्नुपर्ने सिफारिससहितको प्रतिवेदन दिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए। मन्दिर पुनःनिर्माणका लागि चुना सुर्कीको लागत स्टमेटसहित कोषले २०७५ माघमा तुलसी कन्स्ट्रक्सनसँग दुई वर्षमा पुनःनिर्माण सक्ने गरी सम्झौता गरेको थियो।

पुरातत्व विभागका महानिर्देशक एवं विज्ञ समितिका सदस्य दामोदर गौतम ऐतिहासिक र पुरातात्विक महत्वका पहिले प्रयोग भएकै निर्माण सामग्री प्रयोग गरेर बनाउनुपर्ने कानूनी व्यवस्थानुसार कोषलाई सुझाव दिइएको बताउँछन्। माटोको जोडाइबाट पुनःनिर्माण गर्दा भित्र भेटिएका चित्र फेरि राख्न सकिने विज्ञहरुको भनाइ छ।

सो प्रतिवेदन अनुसार कोषले यसअघि माटोको जोडाइबाट बनाइएका मन्दिरको अध्ययन शुरु गरेको छ। साँखुस्थित बज्रयोगिनी मन्दिरमा इट्टाको बीचमा राखिएको माटोको परीक्षण भइरहेको कोषका प्रशासकीय अधिकृत सीताराम रिसालले बताए। इट्टा जोड्न उपयुक्त गुणस्तरीय माटोको खोजी गरिने कोषले जनाएको छ।

कूल तीन करोड १४ लाखमा जयवागेश्वरी मन्दिर पुनःनिर्माण हुनेछ। विश्व सम्पदा सूचीमा सूचीकृत स्थलमा पर्ने भएकाले प्राचीन स्मारक संरक्षण ऐन अनुसार यहाँ पुनःनिर्माणको काम हुनेछ।

भूकम्पपछिको एक महिना नबित्दै कोषले २०७२ जेठ ४ गते एड्भेन्चर टुर एण्ड ट्राभलका सञ्चालक कल्याण शर्मालाई पुनःनिर्माणको सैद्धान्तिक स्वीकृति दिएकामा काम शुरु नभएपछि २०७४ सालमा सम्झौता रद्द भएको थियो। शर्माले शुरुमा पुरातत्वले नक्सा र डिजाइन स्वीकृत गर्न समय लगाएको र स्वीकृत भएर पुनःनिर्माण शुरु गर्दा स्थानीयवासीले अवरोध गरेकाले आफू पछि हट्न बाध्य भएको बताए।

भत्किएको साँढे पाँच वर्ष बितिसक्दा पनि पुनःनिर्माण नभएकाले स्थानीयवासीसहित आफूहरुले कोषमा ध्यानाकर्षण गराउने काठमाडौँ महानगरपालिका–८ का सदस्य विवेक सङ्गतले बताए।

सती प्रथा रहुञ्जेल राजा महाराजाको निधनमा सती जाने रानीहरुको गरगहना सबै जयवागेश्वरीलाई चढाइने गरिएको पौराणिक भनाइ छ। चढाइएका गहनालगायत सम्पत्तिको कुनै अभिलेख नरहेको कोषका पूर्व सदस्य सचिव एवं संस्कृतिविद् डा. गोविन्द टण्डन बताउँछन्।

पशुपति क्षेत्रमा रहेका ५१८ स्मारकमध्ये ९५ वटामा भूकम्पले क्षति पु¥याएको थियो भने १५ सम्पदा पूर्ण रुपमा क्षतिग्रस्त भएका थिए। पूर्ण क्षति भएका सम्पदामध्ये हालसम्म १० र आंशिक क्षति भएकामध्ये ४५ गरी कुल ५५ सम्पदा बनाइएको निर्देशक भरत मरासिनीले बताए। जयवागेश्वरीको निर्माण कलिगत संवत् ३२३२ मा शुरु भएर ४७ वर्षपछि ३२७४ मा सम्पन्न भएको थियो। विसं १९९० को भूकम्पले क्षति पुगेको मन्दिर त्यसबेला जीर्णोद्धार गरिएको थियो।

मन्दिरको कलेबर १२/१२ वर्षमा फेर्ने गरिएको छ। कलेवर फेर्दा जगवागेश्वरी, गणेश र भैरवको माटाको नयाँ मूर्ति बनाइन्छ। जयवागेश्वरीमा टाउको काटिनुअघिको गणेशको मूर्ति रहेको छ। यसैले यहाँको गणेशको मूर्तिमा सूँढ नभएको स्थानीय सन्देश मुनिकारले बताए।

जयवागेश्वरीलाई महासरस्वती, महाकाली र महालक्ष्मीका रुपमा मानिए पनि विद्याकी देवीका रुपमा बढी पुज्ने गरिएको छ। तन्त्र साधना गर्नेले अन्तिममा जयवागेश्वरीमै आएर पूजा गर्ने परम्परा छ। मन्दिरसँगै सुन्धारा पनि स्थापना भएकामा हाल यसको अस्तित्व लोप हुने अवस्थामा पुगेको छ। जयवागेश्वरीको ठीक अघि तलेजु भवानीको मन्दिर स्थापना गरिएको छ।

जयवागेश्वरी उपत्यकाको पुरानो राजधानी मानिन्छ। स्थानीयवासी मुनिकार ‘गोल’ भनिने जयवागेश्वरी उपत्यकाकै पहिलो बस्ती भएको बताउछन्। यो बस्तीमा नौथरी जात, नौ पोखरी, नौ पाटी, नौ ढोका लगायत संरचना रहेकामा यो पनि लोपोन्मुखको अवस्थामा पुगेको छ।

गोपाल र किराँत शासनकालको राजधानी जयवागेश्वरी थियो। लिच्छविकालको राजधानी यहीँबाट शुरु भएर पछि हाँडीगाउँमा सरेको हो। मल्लकालमा हाँडीगाउँबाट हनुमानढोकामा राजधानी सारिएको थियो।

भूकम्पले अति प्रभावित २० जिल्लामा ८९१ सम्पदामा क्षति पुगेका मध्ये हालसम्म ५५४ वटाको पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पुरातत्व अधिकृत भीष्म बाँस्कोटाले जानकारी दिए। कात्तिक मसान्तसम्म थप नौ सम्पदा पुनःनिर्माण सम्पन्न हुने प्राधिकरणले जनाएको छ।- रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार