असार २५, २०८२ बुधबार July 9, 2025

कांग्रेस र कम्युनिस्ट आत्महत्याको बाटोमा- पुरञ्जन आचार्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपाल–भारत सीमामा अवस्थित पूर्वी चम्पारण जिल्लाको मोतिहारी भन्ने ठाउँमा पाँच वर्षअगाडि एउटा ‘फकिर’ परिवार रातारात करोडपति परिवारमा रूपान्तरण भएको थियो । चम्पारण त्यही ठाउँ हो, जहाँ आजभन्दा झन्डै सय वर्षअघि एउटा फकिर पुगेका थिए, जसको नाम मोहनदास करमचन्द गान्धी थियो । उपनिवेशबाट मुक्त गर्न भारतको नेतृत्व गरिरहेको भारतीय राष्ट्रिय कंग्रेसमा मोहनदासको प्रवेशपूर्व यो पार्टी सहरिया उच्च र मध्यम वर्गको क्लब पार्टीजस्तो थियो, झन्डै आजको नेपालमा भएका कांग्रेस र कम्युनिस्ट पार्टीजस्तै । भारतका गरिब, मजदुर, किसान र गाउँको पार्टी भनी नयाँ परिचय दिने कामको थालनी मोहनदासले यही चम्पारण भन्ने ठाउँबाट प्रारम्भ गरेका थिए । मोहनदास यही क्रममा महात्मा गान्धी भए । उनकै नेतृत्वमा भारत स्वतन्त्र भयो ।

म यहाँ माहात्मा गान्धी र उनले चम्पारणमा गरेको किसान आन्दोलनबारे चर्चा गर्न गइरहेको छैन । मोतिहारीका फकिरबाट करोडपति भएका मुकेशकुमारको चर्चा यतिखेर नेपालको राजनीतिमा सान्दर्भिक हुन सक्ला भनी उनको विगत कोट्याउँछु । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयमा प्रधानमन्त्रीमाथि दर्ता गरेको अभियोगपत्र पढिरहँदा मलाई केही दिनअघि मुकेशकुमारको फेसबुक स्टाटसमा लेखिएका शब्दहरूसँग तालमेल मिल्न गएकाले उनको स्मरण आएको हो । भारतका महानायक भनी चिनिने अमिताभ बच्चनद्वारा सोनी टेलिभिजनमा सञ्चालन गर्ने ‘कौन बनेगा करोडपति’ कार्यक्रमबाट मुकेशकुमारले पाँच करोड जिते । मुकेशकुमारसँग सत्ता, सम्पत्ति र संसार अगाडि आयो, पाँच करोड जितेपछि । उनी ‘आम आदमी’बाट ‘खास आदमी’भए । बिए पढिरहेका मुकेश सेलिब्रेटी भए भारतमा । विहारका मुख्यमन्त्री नितीश कुमारले फोन गरेर उनीसँग भेट्ने इच्छा व्यक्त गरे । मुकेशको आन, बान र सान नै फेरियो।

पैसा र सत्तासँगै मुकेशसँग नयाँ संस्कृति र संस्कार आयो । उनी सराबी, जुवाडी र लम्पटराम भए । मोतिहारी छाडे । मुम्बई र दिल्लीको आधुनिक संस्कृति तथा सभ्यतामा रमाए । श्रीमतीले अनेकन् प्रयत्न गरिन् कुसंगत छुटाउन, पुरानो संस्कृतिमा फर्काउन । तर, मुकेशले श्रीमती छाडे, कुसंगत छाडेनन् । पथभ्रष्ट भए । एकछिन टक्क अडिएर मुकेश र नेपालका नेताहरूबीच सांस्कृतिक रूपान्तरणमा आएको समानताबारे सोचौँ । चाकरीबाज र चाप्लुसीबाजबाट घेरिने क्रममा मुकेशकुमारले जितेको पाँच करोड सके । पैसा र ग्ल्यामर सकियो । साथीभाइ पनि क्रमशः उनीबाट टाढिए । यही क्रममा मुम्बईमा आश्रय दिइरहेकाले गलहत्याएर घरबाट निकाले । उनी अपराधबोध र अपमानको अनुभव बोकेर गाउँ मोतिहारी फर्किए । अब मुकेशकुमारसँग गुमाउने केही थिएन । मोतिहारीमा पनि उनलाई सम्मान थिएन । तर, पनि उनलाई सम्हाल्न उनको परिवार अगाडि आयो । मुकेश सुध्रिए, अहिले मोतिहारीमा शिक्षक छन् र साधारण जीवन व्यतीत गर्दै छन्, शान्तिपूर्वक ।

प्रचण्ड मात्र होइन, आज कुनै पनि दलका नेताको नैतिक शक्ति त्यो उचाइमा देखिँदैन, जसले पतनउन्मुख राजनीतिलाई फेरि ०४६ सालपूर्व स्थापित नेतामा देखिएको नैतिक शक्तिको केही अंश पनि फर्काउन सकून् ।

मलाई यो भनिरहँदा दुःख लागिरहेको छ कि नेपालका अधिकांश नेताको सांस्कृतिक विचलन मुकेशकुमारको भन्दा खतरनाक छ । प्रचण्डको प्रधानमन्त्रीमाथिको अभियोगपत्रको सबैभन्दा आकर्षक पक्ष नैतिक र सांस्कृतिक विचलनको लागेकाले मैले मुकेशकुमारलाई अगाडि सारे । अन्यथा मेरो आँखाअगाडि ती कैयन् परिवारको नैतिक र सांस्कृतिक विचलन नाचिरहेका छन्, जसलाई हामी नेता भन्छौँ । तिनको त्याग र बलिदानको महिमा गाउँछौँ । कांग्रेस र कम्युनिस्टभित्र कुसंस्कारी मुकेशकुमारहरूको संख्या धेरै छ । प्रश्न छ, के अब यिनलाई फेरि संस्कारी र शिक्षक बनाउन सम्भव छ ? जसरी मुकेशकुमारलाई उनको परिवारले बनायो । यो काम गाह्रो मात्र छैन, असम्भवझैँ देखिन्छ ।

भर्खरै कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयमा दर्ता गराएको प्रधानमन्त्रीविरुद्धको अभियोगपत्रमा कम्युनिस्ट पार्टीमा सांस्कृतिक विचलन आएको उल्लेख गरेका छन् । सांस्कृतिक रूपमा मात्र होइन, सभ्यताकै रूपमा कम्युनिस्ट–कांग्रेस दुवैमा विकराल विचलन आएको छ । संस्कृति र सभ्यतामा फरक के छ ? केही दशकअघिसम्म पनि नेपालको राजनीतिक केन्द्रमा धेरै नै फोहोर थियो । यो सिंहदरबारको सत्ता संस्कृति थियो । सिंहदरबारको कुर्सी क्रेजमा सांस्कृतिक विचलन नेताहरूमा यथेष्ट नागरिकको आँखा अगाडि आयो । यो विचलन यतिखेर झांगिएको छ र यसको विस्तार नेपालभरि भएको छ । भर्खरै नेकपाका नेता माधवकुमार नेपालले यसतर्फ चिन्ता प्रकट गरेका छन् । चिन्ता नेपालले भनेभन्दा धेरै नै भयावह छ, अहिले त राजनीतिमा प्रवेश गर्ने युवा चाहना नै त्यही सांस्कृतिक विचलनको आकर्षणबाट प्रेरित छ ।

विगत तीन दशकको यात्रामा संस्कृतिको यो विचलन नेपाली राजनीतिको सभ्यताझैँ भएर सहर, गाउँ, घर, राजनीतिक दल, गैरसरकारी संस्था र सरकारी निकायमा नयाँ उचाइ प्राप्त गर्न सफल भएको छ । राजनीतिक दलका नेतामा मात्र यस्तो विचलन आएको होइन, नेपालको नोकरशाहीमा देखिएको विचलन नेतामा भन्दा पनि बढी छ । शासक र प्रशासकको संस्कृतिको विचलन काठमाडौं खाल्डोबाट देशभरि फैलियो । अब विराटनगर, पोखरा, भैरहवाजस्ता सहर मात्र होइन, नेपालका हिमाल, पहाड र तराईमा पनि सांस्कृतिक विचलन व्यापक छ । अहिलेको पुस्ताले नयाँ पुस्तालाई तीव्र गतिमा राजनीतिमा केही हस्तान्तरण गर्र्दै छ भने त्यो हो– नैतिक र सांस्कृतिक पतन ।

कांग्रेस र कम्युनिस्टले निःसृत गरेको राजनीतिको फोहोरी सभ्यता अब सानोतिनो सुधारबाट सुध्रिने सम्भावना देखिँदैन । नेकपा नेता प्रचण्ड नैतिक शक्तिको त्यो सामथ्र्य राख्छन् जस्तो लाग्दैन, जसले नेपालको बिग्रिँदो राजनीतिलाई सुधार्न सकून् । प्रचण्डलाई प्रधानमन्त्री ओलीले निःसन्देह नैतिक र सांस्कृतिक विचलनको जवाफ ओठे रूपमा फर्काउने छैनन् । त्यो पढ्न रोचक हुनेछ । प्रचण्ड मात्र होइन, आज कुनै पनि दलका नेताको नैतिक शक्ति त्यो उचाइमा देखिँदैन, जसले पतनउन्मुख राजनीतिलाई फेरि ०४६ सालपूर्व स्थापित नेतामा देखिएको नैतिक शक्तिको केही अंश पनि फर्काउन सकून् ।

०४६ सालको परिवर्तनपछि विराटनगरको राजनीतिमा नयाँ संस्कृति देखा पर्‍यो । लामो समय आस्थाको राजनीति गर्ने र समाजमा सम्मानित व्यक्तिहरू राजकाजमा पुगे । राजकाजमा पुग्ने क्रममा सत्ताको संस्कृतिअनुरूप ती ढले, रूपान्तरित भए स्वभाविक रूपमा । तर, दुर्भाग्यले ती अधिकांश परिवार जो कुनै समय आस्था र सम्मानका पुञ्ज थिए, तिनको सन्तानको सांस्कृतिक विचलन भयानक भयो । सत्ता र सम्पत्ति परिवारमा आयो, सन्तान पुस्ताको संगत र संस्कारले नयाँ मोड लियो । अधिकांश सत्तामा पुग्ने घरका केटाकेटी बिग्रिए । घरकलह सामान्य कुरा भयो । विराटनगर सत्ताको केन्द्रमा थियो र यहाँ मात्र त्यस्तो भएको हो कि भन्ने मेरो मनमा जिज्ञासा उठ्यो । केही प्रसंगमा देश घुम्ने अवसर जुट्यो, कैयन् पटक ।

नेकपाको लोभको झगडालाई जतिसुकै सैद्धान्तिक आवरण दिए पनि त्यसको मूलमा सांस्कृतिक र नैतिक विचलनको चिन्ता छैन ।

मेरो रुचि थियो, लोकतान्त्रिक परिवर्तनपछि सत्तामा पुग्ने परिवारका केटाकेटीको अवस्था बुझ्नेबारे । मैले भयानक विचलन भेटेँ नेपालभरि । केही अपवादबाहेक सन्तानको उद्दण्डता, उग्रता र पथभ्रष्टतालाई आस्थाको राजनीतिबाट देशको सत्ता सम्हाल्ने परिवारका मुली सन्तानको सांस्कृतिक पतनलाई सहयोग र समर्थन गर्ने वा टुलुटुलु हेर्ने भूमिकामा सीमित देखिए । कांग्रेस नेताका परिवारहरू जसरी पथभ्रष्ट भए, कम्युनिस्ट नेताका परिवार अझ वेगवान् गतिमा भ्रष्ट भएका हुन् भनी मैलै देशभरि चर्चा भएको पाएँ । कांग्रेसलाई बिग्रिन दशक लाग्यो भने कम्युनिस्ट अझ खासगरी तत्कालीन माओवादीका नेता र तिनका परिवारलाई दश महिना पनि लागेन भन्ने चर्चा सामान्य छ ।

देश निर्माणमा लाग्नुपर्ने कांग्रेस र कम्युनिस्ट नेताहरूले सत्ता प्राप्तिपछि आफ्नै साथीभाइसँग लड्दै समय खेर फाले र अझै फालिरहेकै छन् । कम्युनिस्ट पार्टीको एकता प्रक्रियाले पूर्णता पाएको छैन, झगडा सुरु मात्र भएन, यसले अन्तर्राष्ट्रिय आयाम समातेको बुझिन्छ । केही नेताको झगडा पार्टीका कार्यकर्ता, समर्थक र शुभेच्छुकको विषय पनि हुन सकेन । सामान्य कार्यकर्ताको निरीहता र कम्युनिस्ट सांसदको मौनताले नेपालको लोकतान्त्रिक आन्दोलन र वर्तमान संविधान धरापमा परेको प्रस्टै छ । नेकपाको लोभ–लालचको झगडालाई जतिसुकै सैद्धान्तिक आवरण दिए पनि त्यसको मूलमा पार्टीको सांस्कृतिक र नैतिक विचलनको चिन्ता छ भन्ने आधार छैन । त्यसैले होला प्रधानमन्त्री ओलीले त्यसलाई खारेज गर्छु भने । सर्पको खुट्टा सर्पले देख्छ भनिन्छ, नागरिकले त्यही बुझ्ने हो । पार्टीका कार्यकारी अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीलाई हटाउन अनेकन् पटक यथेष्ट आरोप फेर्दै लगाउँदै गरेका छन् । आरोप स्थापित गर्न नसकेर प्रचण्ड पक्कै गलेका र निराश पनि होलान् । प्रचण्डको निराश र हतास हुने दिन अझै सकिएको छैन । अगाडि अझै उनले अपमान र बेइज्जती खेप्न बाँकी छ भनी अनुमान लगाउन सकिन्छ ।

संसदीय दलको बैठक राखी संवैधानिक तरिकाले सत्ताको शान्तिपूर्ण हस्तान्तरण गर्ने उपाय अपनाउन जाँगर देखाएको भए अहिले प्रचण्डले यस्तो अपमान व्यहोर्नुपर्ने थिएन । प्रचण्ड मात्र होइन, उनका पिछलग्गुझैँ देखिएका पूर्वप्रमद्वय र सचिवालयका अन्यले पनि प्रधानमन्त्री पदबाट कसरी मुक्त हुन्छन्, भनी संविधानमा लेखिएको प्रावधान पढ्न नभ्याएजस्तो छ । प्रधानमन्त्री ओलीलाई सचिवालय बैठकले नियुक्त गरेको हो र ? प्रधानमन्त्री के नेकपाको मात्र हुन्छ र ? प्रधानमन्त्रीलाई जुन ढंगले हटाउन खोजियो, त्यो विषय आजभन्दा तीन दशकअघि नेपाली कांग्रेसभित्र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसादलाई हटाउन खोज्दा नै खरेज भइसकेको थियो ।

इतिहासबाट त केही शिक्षा लिनुपर्ने हो, त्यो पनि प्रचण्ड र उनका सहयोगीबाट देखिएन । सत्तापक्षको निबन्ध प्रतियोगिता जारी छ । प्रधानमन्त्रीलाई नेकपाको सचिवालयले आक्रामक निबन्ध लेख्न १० दिनको समय दिएको छ । प्रचण्ड थप मर्माहत हुनेछन् । कम्युनिस्ट पार्टीले बहुमत प्राप्त गरी केपी ओलीलाई प्रधानमन्त्री बनाएको दिनपछि प्रचण्ड त्यो पार्टीमा अस्वीकृतझैँ छन् । ट्र्याकले त्यही देखाउँछ । उनी गनगने र बोझिल लागेका होलान् प्रधानमन्त्री केपीलाई । निजी भेटघाटमा ओलीबाट सुगर कोटेड वाणीमा दंग परेका प्रचण्डलाई अहिले प्रधानमन्त्रीका तिनै वाणी, विषवाणी लाग्दो हो ।

अनुमान मात्र गर्न सकिन्छ, नेकपामा आएको तुफान चियाको कपमा आएकोझैँ हुनेछ । पार्टी नफुट्ला । केही लेखनदासलाई दुवै अध्यक्षद्वारा प्रेषित निबन्धको सार संक्षिप्त लेख्न र पार्टीमा अभूतपूर्व एकता कायम गरेको घोषणा गर्ने जिम्मेवारी आउला । नेपाली राजनीतिमा यस्ता नाटक पटक–पटक मञ्चन भइरहेकाले अहिले पनि त्यही हुने अनुमान गर्न सकिन्छ । यसपटक नाटक मञ्चनमा केही फरक दृश्य दखिएको छ । नेपाली कांग्रेस प्रतिपक्षमा भएर पनि सत्तापक्षलाई कुनै आरोप लगाउन जाँगर देखाइरहेको छ्रैन । नेकपाको प्रतिपक्ष पनि नेकपा नै हुँदै गर्दा कांग्रेसको वर्तमान भूमिकाले यसको भविष्यप्रति चिन्ता भने जगाउँछ । देशमा कोरोनाको सुनामी आएको छ । कोरोनाको सुनामीसँगै बेरोजगारी र गिर्दाे अर्थतन्त्रको सुनामीबाट युवा आक्रोश सडकमा आउने नै छ ।

भ्रष्टाचारको सुनामीले देशमा छाएको नैराश्यलाई प्रतिपक्षले नदेखे पनि आमनागरिक सडक तताउन फेरि व्यग्र छन् । कुनै पनि नेता र पार्टी चौबीस क्यारेटको शुद्ध हुँदैन । कांग्रेस पनि छैन, तर कांग्रेसले ओलीलाई समर्थन गर्ने नाममा प्रतिपक्षको भूमिकाबाटै आफूलाई अलग्गै राख्नु भनेको वर्तमानमा मात्र होइन, भविष्यप्रति पार्टी नेता लापर्बाह भएको ठहर्छ । कांग्रेसमा सबै अब ‘स्लिपिङ पार्टनर’जस्ता नेता देखिन्छन् । झन्डै ४० लाख नेपाली बेरोजगार हुँदा पनि विगतका मूर्धन्य अर्थविज्ञको मुखमा टेप लागेको देख्दा उदेक लाग्छ । सबै प्रतिपक्षको काम कम्युनिस्टभित्र कम्युनिस्ट मात्रले गर्ने हो भने नेपालको संविधानमा व्यवस्था गरेको बहुदलीय प्रजातन्त्र किन चाहियो ? नेपालको राजनीतिलाई एकदलीय प्रणालीमा लग्ने कम्युनिस्टको भित्री इच्छालाई कांग्रेस सफलीभूत गर्न अग्रसर भएको हो ?

अन्त्यमा, मुकेशकुमार मोतिहारी फर्किए । शिक्षकको रूपमा सम्मानित साधारण जीवनमा फर्किए । कांग्रेस कम्युनिस्टले कुन बाटो रोज्ने ? अहिले सामूहिक आत्महत्याको बाटोतर्फ अग्रसर छन् । युवा ऊर्जा सडकबाट छिनोफानो गर्न कुनै समय पनि विस्फोट हुन सक्छ । यो बाटो हिँड्दा संविधान जोगिँदैन, लोकतन्त्र खतरामा परि नै सक्यो । कम्युनिस्टहरू अब भूमिगत हुन सक्दैनन् । यिनको नैतिक र सांस्कृतिक रूपान्तरण भइसक्यो । कांग्रेसीको अब प्रवास र जेल जान सम्भव छैन, किनकि राजनीतिक भूमिकामा उसको उपादेयता स्लिपिङ पार्टनरको छ । कांग्रेसका अधिकांश नेताहरू ऊर्जाविहीन, थकित र गलित छन् । चुनावमा यसो तंग्रिन्छन् अनि सुत्छन् । तसर्थ, सबैको सम्मानको बाटो भनेको दल र तिनका नेता अलि–अलि सुध्रिए पुग्छ । २४ क्यारेट राजनीतिको चाहना जनता र कार्यकर्तालाई कहाँ छ र ? तर, १३ क्यारेटसम्म त होस् । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया