श्रावण २, २०८२ शुक्रबार July 18, 2025

पाटनमा कार्तिक नाच : स्वास्थ्य मापदण्ड पालना गरेर मञ्चन हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः हरेक वर्ष कार्तिक शुक्लपक्ष द्वादशी तिथिमा मनाइँदै आएको कार्तिक नाचअन्तर्गतको बराह नृत्य यसपटक भने स्वास्थ्य मापदण्ड पालना गरेर मञ्चन गरिएको छ। गत वर्ष १२ दिन प्रदर्शन गरिएको कार्तिक नृत्य यस वर्ष भने विश्वव्यापी कोरोना महामारीका कारण सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरेर मात्र प्रदर्शन गरिएको हो।

मुलुकमा अझै महामारी रहिरहेकाले नृत्यमा सहभागी मानिसको स्वास्थ्यमा ख्याल गरेर मास्कसँगै भाइजर अर्थात् ‘फेस शिल्ड’, पञ्जा, स्यानिटाइजरका साथै सामाजिक दूरी कायम गर्न लगाएर बराह नृत्य सञ्चालन भइरहेको कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताएका छन्।

“यस वर्ष हामी परम्परा धान्न मात्र अघि बढेका थियौँ। बराह नृत्य हेर्न इच्छुक मानिसको मनोकामना पूर्ण गराउन र कार्तिक डबलीमा सर्वसाधारणको आवागमन पनि रोक्न विभिन्न सञ्चारमाध्यमद्वारा प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको थियो,” उनले भने।

यस पटकको कार्तिक नृत्यमा केही मानिस मात्र सहभागी रहँदा नौलो महसुस हुनाका साथै कोरोना सङ्क्रमण नहुने विश्वास लिइरहेको समितिका उपाध्यक्ष प्रतापधर शर्माले बताएका छन्।

“हामीले स्वास्थ्यका साथसाथै सरकारको सुरक्षा मापदण्ड अपनाएर यस वर्ष कार्तिक नाचको मनोरञ्जन लिन धेरै मानिस कार्तिक डबलीमा उपस्थित नहुन भनेर सामाजिक सञ्जालमार्फत अनुरोधसमेत गरेका थियौँ,” उनले भने। केही टेलिभिजन र युट्युब च्यानलको सहयोगमा बराह नृत्यको आनन्द लिन पाउने भएसँगै इच्छुक व्यक्ति पनि खुशी नै भइरहेको शर्माले बताएका छन्।

विष्णुपुराणमा आधारित कथानुसार हिरण्याक्ष दैत्यलाई आज मात्रै भगाइने काम गरिन्छ। अन्य वर्षझैँ यस वर्ष पनि कार्तिक नृत्यलाई निरन्तरता दिन ललितपुर महानगरपालिकाका साथै वडा नं. १६ ले आआफ्ना तर्फबाट सहयोग गरेको छ। मुलुकमा कार्तिक नाचको थालनी भएसँगै इतिहासमा कुनै वर्ष पनि रोकिएको नसुनिएको जानकार बताउँछन्।

वि.सं. १६९७ पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाएका थिए। सो नाच अनुष्ठानात्मकमध्ये विश्वकै सबैभन्दा लामोमध्येको भनिएको छ।

कार्तिक नाट्य महोत्सवले जनतालाई एउटै सूत्रमा बाँधेर धार्मिक, नैतिक र  सामाजिक ज्ञानसमेत प्रदान गरिरहेको छ। कार्तिक नाच प्रथमपटक पाँच दिन तथा सिद्धिनरसिंहका छोरा राजा श्रीनिवासका पालादेखि ‘बाथःप्याखँ’ अर्थात् ‘लोकनाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर १५ दिन सञ्चालन गरिएको थियो।

यसै गरी श्रीनिवासका छोरा राजा योगनरेन्द्र मल्लले ‘उषाहरण’ र ‘माधवानल’ दुई लीला थपेर कात्तिक महिनाभरि २७ दिन सञ्चालन गरेको इतिहास छ।

मुलुकको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको उचित संरक्षण र प्रवर्द्धन गर्ने हेतुले वि.सं. २०७० मा दुई दिन थप गरी १० दिन र त्यसपछि अर्को दुई दिन थप गरेर १२ दिन देखाउन थालिएको समितिले जनाएको छ।

सिद्धिनरसिंहका नाति योगनरेन्द्रका पालामा कात्तिकभरि सञ्चालन गरिएको सो नाचमा १७ विधाका कथा वा नृत्य प्रदर्शन गरिन्थ्यो। कोरोना महामारी आउनुअघि मुलुककै लामो नाच हेर्न स्वदेशीका साथसाथै विदेशी मुलुकका थुप्रै मानिस पाटन आउँथे।

यस वर्ष कोभिड भयले कार्तिक डबली वरपर बस्ने मानिसहरूले समेत घरघरबाट टिभीमार्फत् नृत्यको आनन्द लिएको समितिका सचिव विजय तण्डुकारले बताएका छन्। उनी भन्छन्, “यो नाच हिन्दूका साथै बौद्धधर्मावलम्बीका लागि पनि अति नै महत्त्वपूर्ण रहेको छ।” हरेक वर्ष कार्तिक नृत्य देखाएमा मुलुकमा आउने विघ्नबाधा हटी शान्तिसुव्यवस्था कायम रहने तण्डुकारले विश्वास व्यक्त गरेका छन्। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार