काठमाण्डौंः संयुक्त राज्य अमेरिका र अफगानी तालिवान समूहबीच शान्ति प्रक्रियाका बाँकी काम अघि बढाउन कतारको दोहामा छलफल सुरु भएको छ ।तालिवान समूहको वार्ता टोलीका प्रवक्ता मोहम्मद नयीमले छलफलबारे जानकारी गराएका छन् ।
अफगानिस्तानसँगको मेलमिलापका लागि अमेरिकी विशेष प्रतिनिधि जलमे खलिलजादले तालिवान समूहका उप-नेता मुल्लाह बाराडर तथा प्रमुख वार्ताकार अब्दुल हाकिमले अमेरिका-तालिवान शान्ति प्रक्रिया तथा बाँकी कैँदीको रिहाईका लागि हालै दोहामा छलफल भएको उनले जानकारी दिए ।
खलिलजादले ट्वीट गर्दै उक्त कुराको पुष्टि गरेका छन् । प्रवक्ता नयीमको ट्वीटमा भनिएको छ, ‘वार्तामा शान्ति सम्झौता, शक्ति पृथकीकरण र तालिवानसँगको स्थायी तथा वृहद् युद्धविरामका लागि नेताहरूको समिति बनाइएको र यो इस्लामिक गणतन्त्र अफगानिस्तानमा शान्ति वार्ताका लागि भरपर्दो र प्रभावशाली समिति हुने विश्वास गरिएको छ ।’
अफगानी विद्रोही तथा सत्ताधारी समूहले शान्ति प्रक्रियाका कामलाई निरन्तरता दिइरहेको र यो अफगानी युद्ध अन्त्यका लागि निकै सकारात्मक तथा विश्वासिलो आधार भएको उनले जनाएका छन् ।
यसैबीच अमेरिकी विदेश मन्त्रालयले वार्ताका लागि नेतृत्व समिति निर्माण भएकोमा यसको स्वागत गरेको छ ।
समितिको अध्यक्षमा डाक्टर अब्दुल्लाह अब्दुल्लाह रहेको र अफगानी राजनीतिक क्षेत्रका हस्तीहरूले यस समितिलाई सफल पार्ने र अफगानिस्तानमा स्थायी शान्ति हुनेमा अमेरिकाले विश्वास प्रकट गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया