असोज ७, २०८३ बुधबार September 23, 2026

थारु समुदायमा प्रचलित ‘डेंहरी’ हराउँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः खेतवाट भित्रयाएको अन्नबाली राख्नका लागि परम्परागत रुपमा प्रयोग हुँदै आएका कञ्चनपुरका थारु समुदायका डेंहरी (माटोका भकारी) हराउँदै जान थालेको छ । एक पटक बनाए पछि वर्षौँसम्म प्रयोगमा ल्याउन सकिने भकारी थारु समुदायको पछिल्लो पुस्ताले आधुनिकतालाई आत्मसात् गर्न थालेपछि हराउँदै जान थालेका हुन् । पुरानो पुस्ताले सिकाउनका लागि रुचि नराख्ने र नयाँ पुस्ताले सिक्ने चाहना नराख्दा परम्परागतकालदेखि प्रयोग हुँदै आएका भकारी बनाउने कार्य ओझेलमा पर्न थालेको हो ।

डेंहरी बनाउनलाई प्रयोग हुने चिम्टाइलो माटो तालतलैया र वन क्षेत्रबाट ल्याउँदै आएकोमा वन संरक्षणका कारण माटो ल्याउन नदिने गरेकाले समेत बनाउने काममा अवरोधसमेत हुँदै आएको थारु समुदायको भनाइ रहेको छ । “परम्परागत घरमा डेंहरीले नै कोठा छुट्टयाउने गरी राखिने गरेको थियो”, बेलडाँडीका कालीप्रसाद चौधरीले भने, “परम्परागत घरको सट्टा आधुनिक पक्की घर बनाइन थालेपछि राख्ने ठाउँको अभावमा थारु समुदायको रहनसहनको अभिन्न अङ्गका रुपमा रहेका डेंहरी बनाउन छाड्दै गएका छन् ।”

चिम्टाइलो माटो, धानको पराल र गहुँको भुसको प्रयोग गरी बनाइने परम्परागत भकारी हराउँदै जान थालेकोमा चिन्ता व्यक्त गर्दै उनले यसलाई जोगाउनका लागि युवा पुस्तालाई यसबारे पुरानो पुस्ताले सीप हस्तान्तरण गर्नुपर्ने बताए । “टिन, बाँस, निगालो र प्लाष्टिकका भकारी सहजै बजारमा किन्न पाउन थालेपछि समेत डेंहरी बनाउने काममा यसको प्रभाव परेको छ”, उनले भने, “सहजरुपमा बजारमा भकारी खरिद गर्न पाइन थालेपछि माटोको जोहो किन गर्ने भन्ने भावनाले समेत थारु संस्कृतिसँग जोडिएको डेंहरीलाई बिर्सदै जान थालेका छन् ।”

डेंहरी थारु समुदायको संस्कृतिसँग मात्रै नभएर धार्मिक भावनासमेत जोडिएको उनको भनाइ रहेको छ । “यसको आफ्नै धार्मिक महत्व छ यो कुरा नयाँ पिँढीलाई बुझाउन आवश्यक छ”, उनले भने । डेंहरी खासगरी महिलाले बनाउने गर्दछन् । परम्परागत यस्ता भकारीमा गहुँ, धान, मकै, तोरी, केराउलगायतका अन्न राख्ने गरिन्छ ।

“यसमा राखिने अन्न वर्षौंसम्म राख्दासमेत रोग किरा लाग्ने र बिग्रने डर हुँदैन”, धनबहादुर कुश्मिले भने, “ढिकीमा कुटेको चामल धेरै वर्षसम्म यसमा राख्दासमेत बिग्रदैन ।” उहाँका अनुसार हाल ग्रामीण क्षेत्रका अधिकांश घरमा बूढापाका महिलाले बनाएर राखेका माटाका भकारी केही घरमा लस्करै राखेको अझै पनि हेर्न सकिन्छ । धेरै थारु समुदायका घरमा त्यस्ता भकारी राख्ने क्रम हराउँदैसमेत गएको छ । डेंहरी धेरै प्रकारको हुने गरेको छ । जसमा डेंहरी, पटाहा डेंहरी, जवरा, चारकुने, गोल र कुठली रहेका छन् ।

पटाहा डेंहरी देवता रहने कोठाको पश्चिममा राखिने गरिएको छ । यसले भान्छा र डिहुरार (देउथान) छुट्टयाउने गर्दछ । अन्य डेंहरीको तुलनामा यो ठूलो हुने गर्दछ । यस डेंहरीलाई कहिल्यै पनि खाली राख्नु नपर्ने र राखेमा अशुभ हुने विश्वास थारु समुदायमा रहेको छ ।

पटाहा डेंहरी फुटेमा, भत्किएमा यसमा राखिएको अन्न चेलीबेटीलाई दिने चलन छ । पटाहा डेंहरीमा पाँच वटा हातको छाप र एउटा फलामको किला गाडेको हुन्छ । त्यो किलामा झोरर्या(झोली) राखी त्यसमा गुरुवाले मन्त्रसहित दिएको अक्षता र धुप राखिएको हुन्छ । डेंहरी विशेष गरी लाम्चो चार कुने विभिन्न आकार र उचाइको बनाइने गरिन्छ । कुठली अरु डेंहरीको तुलनामा सानो हुन्छ । यसलाई पटाहा डेंहरीकै नजिक राखिन्छ ।

अन्यलाई आवश्यकताअनुसार घरका विभिन्न ठाउँमा राख्ने गरिन्छ । यसमा विशेष गरी दैनिक आवश्यक पर्ने नुन, दाल, चामलसँगै अन्नको बीउलगायत राख्ने गरिन्छ । डेंहरी अन्न भण्डारको थारु समुदायको प्रमुख वस्तुमध्येकै मानिन्छ । जवरामा धानको भुस राख्ने गरिन्छ । “डेंहरी राखिएको छ भने टाढैबाट थारु समुदायको घर हो भन्ने ठम्याउन सकिन्छ”, लहानु चौधरीले भने, “बनाउन जान्ने थोरै भएकाले थोरैका घरमा मात्रै अब डेंहरी रहेको छ ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्धि-सम्झौताअनुसार कानुन निर्माणमा ढिलाइ हुँदैन : मन्त्री गौतम
२०८३ असोज ६, मंगलबार
जेन्जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने
२०८३ असोज ६, मंगलबार
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, यस्तो छ न्युयोर्कको कार्यतालिका
२०८३ असोज ६, मंगलबार
काँग्रेसमा गगनको विकल्प छैन : उपसभापति भुसाल
२०८३ असोज ६, मंगलबार
उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
२०८३ असोज ६, मंगलबार
भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चकाे आदेश
२०८३ असोज ६, मंगलबार
लुम्बिनी प्रदेशकी सांसद काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
२०८३ असोज ६, मंगलबार