असार २५, २०८२ बुधबार July 9, 2025

कांग्रेसको युवा नेतृत्व र सहअस्तित्वको प्रश्न – गुरुराज घिमिरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सामान्यतया गेरुवस्त्र धारण गर्नु वैराग्यको प्रतीक मानिन्छ र एक प्रकारले सन्न्यास अर्थात् काम, क्रोध, लोभ, मोहबाट मुक्ति । वैयक्तिक स्वार्थ र लोकजीवनबाट निरपेक्ष हुन सक्नुलाई मानवजीवनको ठूलो उपलब्धि र क्रान्ति ठानिन्छ । आजसम्म सन्न्यासले मानवजीवन र समग्र समाजलाई यही शिक्षा दिँदै आयो । मानिसभित्रका सबै प्रकारका आसक्ति र रागहरूको विसर्जन अर्थात् एउटा अतिबाट अर्को अतिमा स्थानान्तरणलाई वैराग्य भनियो । यसलाई महान् त्यागको श्रेणीमा राखियो । तर, ओशोले यसलाई मानवोचित धर्म मानेनन् । उनले सही मार्गलाई वितराग भने अर्थात् न आसक्ति न विरोध वा न राग न वैराग । उनका अनुसार यो मात्रै सही मार्ग हो, अरू सबै त्रुटिपूर्ण छन् । अति विरोध प्रकारान्तरले आसक्ति नै हो भन्ने उनको मत छ भने अति आसक्ति त यसै पनि खराब हुँदै हो ।

उपरोक्त विषयको चर्चा किन गरिएको हो भने सन्न्यासभित्र पनि ढोंग र पाखण्ड यत्रतत्र पाइन्छ । यसका सच्चा अनुयायी ठानिएका व्यक्ति नै लज्जाजनक रूपमा बेनकाब भएका छन् । यसले सन्न्यासप्रतिको समर्पण र संकल्पमा रहेको खोटलाई उजागर गर्छ । यो फगत जगत्लाई गुमराहमा राखेर आफ्नो दुनो सोझ्याउने कर्ममा लीन हुन्छ । यसले सच्चा सन्न्यासलाई बदनाम गर्छ । वेलावेलामा धर्मप्रति प्रश्न उठ्ने अनेकन् कारणमध्ये यो पनि एक हो । त्यसैले अनगिन्ती परीक्षा पार नगरी कुनै व्यक्ति सच्चा सन्न्यासी बन्न नसक्दो रहेछ । लोकजीवनबाट विमुख बन्न सक्दो रहेनछ । यो विषय समाजका अनेकन् क्षेत्रमा लागू हुन्छ । त्यसमध्ये राजनीति पनि एक हो र यो समाजको सबैभन्दा महत्वपूर्ण क्षेत्र हो ।

अहिले चर्चा गर्न खोजिएको मूल विषय कांग्रेसभित्रको युवा नेतृत्वको हो । यो जमात कुन मानसिकतामा छ, कुन हालतमा छ, यस जमातको भविष्य कस्तो छ र यसले के गर्नु हितकर छ ? भन्ने विषयमा बहस गर्न खोजिएको हो । कांग्रेसभित्रको युवापंक्ति एकप्रकारले बाल सन्न्यासीजस्तै किशोर वयमै राजनीतिमा लागेको उर्वर शक्ति हो । साँच्चै भन्ने हो भने यसले आफ्नो उर्वर समय राजनीतिमा निःस्वार्थ रूपमा समर्पण गरेको छ । ०३६ देखि ०६३ सम्मको समय केलाउँदा यो जमातले अपवादबाहेक अवसर पाएको छैन । ०४६ पश्चात् पार्टीले प्राप्त गरेका अवसर भोग्न पूर्ववर्ती जमात छँदै थियो । त्यसवेला यो जमातलाई पार्टीले भरोसा गरेन । पूर्ववर्ती नेता नै आफूलाई युवाको भर्भराउँदो फिलिंगो ठान्थे । पार्टीका सबै अवसर तिनै फिलिंगोले उपभोग गरे । त्यसको यो हदसम्म उपयोग गरे कि पछिल्लो पुस्ताले आजसम्म स्पष्टीकरण दिँदै हिँड्नुपरेको छ । त्यसबीचमै राजनीतिक व्यवस्थामाथि संकट आयो । प्रजातान्त्रिक शासन प्रणाली पुनर्बहाल गर्न पुनः कष्टकर संघर्ष गर्नुप¥यो । कम्युनिस्टले आफ्नो शक्ति र आयतन विस्तार गरे र अजंगको हैसियत बनाए । उनिहरूको वर्तमान हैसियत निर्माण हुनुमा हाम्रो पनि मलजल परेको छ । कांग्रेसको भाग्यमा बज्रिएको कम्युनिस्ट मुंग्रोका केही पार्टपुर्जा हाम्रो कारखानाका उत्पादन हुन् भन्दा फरक पर्दैन ।

मुलुकको राजनीतिक प्रणाली संकटमा छ, राज्यको सर्वोच्च तहमा देश र जनताप्रति संवेदनहीन र गैरजिम्मेवार व्यक्ति आसीन छन् । विधि र व्यवस्था संकटमा छ । यस्तो घडीमा पनि कांग्रेसको युवा नेतृत्व प्रतिक्रियात्मक, वैयक्तिक र बढीमा गुटगत मात्र छ ।

कांग्रेसको युवा जमात पार्टीभित्र सडकमा छरिएको गिट्टीको हालतमा छ । कांग्रेसको राजमार्गमा हिँड्ने हरेक यात्री युवासँगै ठोक्किन्छन्, तर एकअर्कासँग खासै मतलब नराख्ने यो युवा जमातबाट भरोसा प्राप्त गर्न सक्दैनन् । घरिघरि यी छरिएका गिट्टीहरू थुप्रो बन्ने कोसिस त गर्छन्, तर नेतृत्वले उधिनेपछि या बिरोलेपछि फेरि पुरानै अवस्थितिमा फर्किनु उनीहरूको नियति बनेको छ । यसको अर्थ उनीहरूलाई पक्कासँग आत्मीय रूपमा जोड्ने रसायनको सर्वथा अभाव छ । प्रजातान्त्रिक संस्थाभित्र यस्तो रसायन सकिनु गम्भीर विषय हो । यसको सीधा अर्थ यस जमातभित्र लोभ र स्वार्थले दरिलो डेरा जमाएको छ । हिजोको समर्पण र त्याग अन्तै बसाइँ सरेको छ । वेलावेलामा दिइने या लगाइने स्वार्थविहीनताको नारा मौकाको अँगेनोमा स्वार्थको रोटी सेक्ने अस्त्र भएको छ । यस जमातभित्रबाट अवसर प्राप्त गरेका युवाको मनोविज्ञान हामी अरूभन्दा निकै अब्बल हौँ भन्ने छ । कति अब्बल भन्ने त उनीहरूको कार्यसम्पादनले देखाएकै छ । अवसर भनेको काम गर्ने मौका हो र यो प्राप्त भएका वेला राम्रो गर्नुपर्छ भन्ने होस र चेत अपवादमा मात्र देखिन्छ ।

दुःखद र डरलाग्दो कुरा त के छ भने सिंगो पुस्ता र जमातभित्र आफ्नो स्थान सुरक्षित भए ठीकै छ भन्ने मनोभावना वेलावेलामा छचल्किन पुग्छ । आफूसरह वा आफूभन्दा ज्यादा योगदान गरेको वा गर्न सक्ने व्यक्तिसँग त अव्यक्त वैरभाव देखिन खोज्छ । यसरी कहाँ पुग्ला यो पुस्ता ? यो त ढोंगी सन्न्यासी या पादरीकै चरित्र भएन र ? राज्य र पार्टीको भूमिकामा बस्नुलाई जागिर पाएझैँ मात्र ठान्नु अराजनीतिक बुझाइ हो र कम्तीमा बिपी कोइरालाको पार्टीमा यो कसैलाई सुहाउँदैन । पार्टी र राज्यमा प्राप्त हुने भूमिका त देशसेवाको माध्यम मात्र हो भन्ने बुझाइभन्दा निकै टाढा यसलाई निजी प्रतिष्ठा र सुख–सुविधा ठान्ने प्रवृत्तिसमेत गैरराजनीतिक प्रवृत्ति हो । दुःखका साथ भन्नुपर्छ, कांग्रेसको युवा जमात यस प्रवृत्तिबाट विमुख हुन सकेन ।

कांग्रेसमा सीमित संख्याबाहेकका अनगिन्ती सक्षम युवाको उत्पादनशील समय त्यसै खेर गएको छ । न पार्टीले यसको सदुपयोग गरेको छ, न युवा स्वयंको आफ्नो कार्यसूची छ । न अवसर पाएका युवाले बाँकी युवासँग समन्वय गर्ने अग्रसरता देखाएका छन् । यो राम्रो अवस्था होइन । यतिवेला मुलुकको राजनीतिक प्रणाली संकटमा छ, राज्यको सर्वोच्च तहमा देश र जनताप्रति संवेदनहीन र गैरजिम्मेवार व्यक्ति आसीन छन् । ठूलो दुःखले स्थापना गरेको विधि र व्यवस्था संकटमा छ । यस्तो घडीमा पनि कांग्रेसको युवा नेतृत्व प्रतिक्रियात्मक, वैयक्तिक र बढीमा गुटगत मात्र छ । यो राम्रो लक्षण होइन । देश र प्रणालीमाथि आइपरेको संकट टार्न अहोरात्र काम गर्नुपर्ने वेलामा पनि निजी स्वार्थको खिचडी पकाइरहनु गतिलो संकेत होइन । यो शैलीले समग्र जमातको भविष्य जोगिँदैन ।

आजको आवश्यकता आपसी सहिष्णुता र पारस्परिक सहअस्तित्वको हो । लोकतन्त्र भनेकै सहअस्तित्वको प्रत्याभूति हो । सबैको साझा प्रयत्नको परिणाममै विभिन्न उपलब्धि प्राप्त हुँदै आएका हुन् । कुनै व्यक्तिको करिस्मा या चमत्कारका परिणाम होइनन्, आजका उपलब्धिहरू । यसको हेक्का सबैले राख्न जरुरी छ । कांग्रेसको युवा नेतृत्वले त झन् यो विषयलाई गम्भीर रूपमा मनन गर्नुपर्छ । देशभरिका युवा जमातले युवा नेतृत्वको वर्तमान भूमिकालाई नियालेर अध्ययन गरिरहेको छ ।

देशको जिम्मेवार व्यक्ति नै अराजक भएको वेलामा पार्टीको युवा नेतृत्व सजग हुनुपर्छ ।

अहिले युवा नेतृत्वसामु दुइटा अभिभारा छन् । एक, आन्तरिक । दुई, बाह्य । आन्तरिक भन्नाले सर्वप्रथम पार्टीभित्रका तमाम युवा साथीलाई एकत्रित गरी पार्टीको सुदृढ व्यस्थापनमा लाग्ने, युवाको क्षमता र ऊर्जालाई विनाभेदभाव पार्टीको हितमा उपयोग गर्ने र समयका पेचिला चुनौती सामना गर्न सक्ने आन्तरिक शक्ति निर्माण गर्ने । यो काम गर्न गाह्रो पक्कै छ, तर असम्भव छैन । यसका लागि निजी स्वार्थ र लोभबाट भने माथि उठ्नुपर्छ । पार्टीभित्र पारदर्शी निर्णय प्रक्रिया र राम्रो मूल्यांकन प्रणाली स्थापना गर्नुपर्छ । आजसम्मको बेथितिको कारण नै नेताप्रधान मूल्यांकन परम्परा र अपारदर्शी निर्णय प्रक्रिया हो । यो कहिल्यै तटस्थ र विवेकसम्मत हुन सकेन । यो जिम्मा युवा नेतृत्वको हो । तर, आजसम्म यसको लक्षणसम्म देखिएन । कम्तीमा अब सुरुवात गर्दा पनि फरक पर्दैैन ।

अर्को विषय, बाह्य चुनौतीहरू निकै डरलाग्दा छन् । अधिनायकवादले मुख बाएको छ । मुलुकलाई विधिविहीनतातर्फ धकेल्न प्रयास भएको छ । देशको मुख्य जिम्मेवार व्यक्ति नै अराजक भएको वेलामा पार्टीको युवा नेतृत्व सजग हुनुपर्छ । पार्टीले गर्ने हरेक निर्णय र चाल्ने हरेक कदम दूरदर्शितापूर्ण हुनुपर्छ । खासगरी पार्टी नेतृत्वलाई सही निर्णय लिन र सही कदम चाल्न सचेत गराइरहनुपर्छ । युवा नेतृत्वले आजसम्म निर्णायक अग्रसरता लिन सकेको देखिँदैन । अब पनि रमिते भएर बस्यो भने इतिहासले लिने परीक्षामा उत्तीर्ण हुन सकिनेछैन । एकअर्काको अस्तित्व स्वीकार गर्न नसक्ने आत्मकेन्द्रित स्वार्थको ढोलक पिटिरहने हो भने युवा नेतृत्वको औचित्य रहनेछैन । समय वेगवान् छ, यसको गति कहिल्यै धिमा हुँदैन । समय चेतना भएको नेतृत्वले मात्र यसको आभास पाउने गर्छ ।

यतिवेला नेपालमा उत्पन्न राजनीतिक समस्या नियोजित देखिन्छ । नेपालका प्रधानमन्त्रीले दलभित्रको कलह थेग्न नसकेरै मात्र यो बाटो समाएका होइनन् । उनको चुनाव गराउने मनसुवा पनि छैन । विपक्षी दललाई चुनावको बल्छी थापेर अलमल्याउने र पार्टीभित्रका विरोधी तह लगाउने तत्कालको कार्यनीति हो । सरकारी साधनस्रोतको भरमार दुरुपयोग गरी आफ्नो राजनीतिक प्रतिकूलताको सामना गर्ने उनको योजना छर्लंग छ । यस्तो घडीमा युवा नेतृत्वले माटोको पुकार सुन्नुपर्छ, क्षितिजमा देखिएको राजनीतिक संकटलाई नियाल्न सक्नुपर्छ र धुन्धुकारी शासकबाट देश र जनतालाई जोगाउन सक्नुपर्छ । यो नै नेतृत्व कुशलता हो । अन्यथा सन्न्यासको ढोंग गरेर धन्दा चलाउने साधु र युवा नेतृत्वमा खासै फरक हुनेछैन । नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार