श्रावण ५, २०८२ सोमबार July 21, 2025

कांग्रेसले समसामयिक राजनीतिक विषयमा उचित समयमा उचित निर्णय लिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसले मुलुकको वर्तमान समसामयिक राजनीतिक विषयमा उचित समयमा उचित निर्णय लिने जनाएको छ ।

कांग्रेस संसदीय दलको आज बसेको बैठकले सांसदका धारणाअनुसार पार्टीले संसद्लाई नियमितरुपमा सञ्चालन गर्न, राजनीतिक समस्यालाई निकास दिन र संविधानलाई बलियो बनाउन उचित निर्णय लिने निष्कर्ष निकालेको हो ।

यही फागुन २३ गतेदेखि सुरु हुने प्रतिनिधिसभा बैठकमा सत्ता पक्ष कसरी प्रस्तुत हुन्छ, त्यसलाई समीक्षा गरेर पार्टीले उचित निर्णय लिने कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिनुभयो । बैठकमा २९ सांसदले धारणा राख्नुभएको थियो ।

सत्ता समिकरणमा कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को कुन पक्षसँग सहकार्य गर्छ भन्ने जिज्ञासामा उहाँले कांग्रेसले राजनीतिक पक्ष विपक्षभन्दा पनि जनताको र संविधानको रक्षा तथा लोकतान्त्रिक मूल्य मान्यताको सम्बद्र्धनलाई महत्व दिएको बताउनुभयो ।

बैठकले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ ।

साथै बैठकले आम नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने सुव्यवस्था गर्न, आर्थिक व्यवस्थालाई चलायमान बनाउनका लागि कोरोना भाइरसको सङ्क्रमणदेखि नै बन्द रहेका सीमा नाका पूर्णरुपमा खुलाउनुपर्ने माग समेत गरेको प्रमुख सचेतक खाणले बताउनुभयो ।

सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सो सम्बन्धमा परेका विभिन्न रिट निवेदनको सुनुवाइ गर्दै सर्वोच्च अदालतले यही फागुन ११ गते पुनःस्थापनाको फैसला सुनाएको थियो ।

सो फैसलापछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःस्थापित प्रतिनिधिसभाको बैठक यही फागुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गर्नुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया