काठमाण्डौंः सत्तारुढ नेकपा एमाले र जनता समाजवादी पार्टी जसपाबीचको छलफल आज पनि जारी रहने भएको छ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको एमाले र जसपाका शीर्ष नेताहरुबीचको छलफल सकारात्मक भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । थापाका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुनेबारे आज पनि दुई दलबीच कार्यदलस्तरमा अनौपचारिक छलफल हुने भएको हो।
बिहीबारको छलफलमा एमालेको तर्फबाट प्रधानमन्त्री ओलीका साथै अर्थमन्त्री विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, ईश्वर पोखरेल, राजन भट्टराई लगायतका नेता सहभागी थिए भने जसपाका तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, अशोक राई र लक्ष्मणलाल कर्णको सहभागिता थिया।
जसपाले पहिला आफूहरुका माग पूरा भए मात्र सरकारमा सहभागी हुनेबारे छलफल गर्न सकिने बताउँदै आएको छ। जसपाले रेशम चौधरीको रिहाई, मधेश आन्दोलनका क्रममा कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता, पूर्व न्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित छानविन आयोगको प्रतिवेदन सार्वजनिक र संविधान संशोधन लगायतका माग उठाउँदै आएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया