जेठ ५, २०८१ शनिबार May 18, 2024

१७ हजार भन्दा बढी ज्येष्ठ नागरिकलाई खोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नौ दिनको अवधिमा जिल्लाका १७ हजारभन्दा बढी ज्येष्ठ नागरिकलाई कोभिशिल्ड खोप लगाइएको छ । पहिलो चरणमा फागुन २३ गतेदेखि २७ गतेसम्म पाँच पालिकाका नौ हजार २६७ जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

कार्यालयका कोल्डचेन असिस्टेन्ट वीरेन्द्रकुमार चौधरीका अनुसार पहिलो चरणमा व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकाका नौ हजार २६७ लाई खोप लगाइएको छ ।

दोस्रो चरण फागुन २८ गतेदेखि चैत २ गतेसम्म शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकाका सात हजार ७४६ जनालाई खोप लगाइएको छ । यस अवधिमा १५ हजारभन्दा बढी नागरिकलाई कोभिडविरुद्धको खोप लगाउने लक्ष्य भए पनि लक्ष्यभन्दा बढीलाई खोप लगाइएको कार्यालयले जनाएको छ ।

दश पालिकामा खोप लगाउनका लागि ९४ खोप केन्द्र निर्धारण गरिएको थियो । यसक्रममा २६६ स्वास्थ्यकर्मी र ४२५ स्वयंसेवक परिचालन गरिएको छ । खोप अभियान आज पनि जारी रहने कार्यालयले जनाएको छ । सबै पालिकामा खोप अभियानको चिकित्सकसहित एइएफआई टिम परिचालन गरिएको छ ।

तनहुँमा पहिलो चरणमा चार हजार ९६७ जनाले खोप लगाएका थिए । पहिलो चरणमा अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी, कर्मचारी, जनप्रतिनिधि, पत्रकार लगायतलाई खोप लगाइएको थियो ।-रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया