वैशाख १३, २०८१ बिहिबार April 25, 2024

निजगढ विमानस्थलको नाम फेर्ने पर्यटनमन्त्रीको प्रस्ताव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने प्रकृया सुरु भएको बताएका छन् । साथै विमानस्थलको नाम फेर्ने सोच बनाएको पनि उनले जानकारी दिएका छन ।

चितवनको सौराहा आएका मन्त्री भट्टराईले सञ्चाररकर्मी संग कुरा गर्दै विमानस्थल बन्ने कुरा सुनिश्चत गर्न एकीकृत प्रस्ताव बनाएर मन्त्रिपरिषद् लैजाने तयारी भइरहेको बताएका छन । ‘विमानस्थलको ईआईए गरेर वन मन्त्रालयमा पठाएका छौं, मन्त्रालयले अध्ययन गरिरहेको छ,’ उनले भने, ‘अब छिट्टै दुवै मन्त्रालयस्तरमा सहमति गरेर एकीकृत प्रस्ताव तयारी गरी मन्त्रिपरिषदमा लैजान्छौं ।’

मन्त्रिपरिषदले प्रस्ताव पास गरेपछि विमानस्थल बन्ने सुनिश्चित हुने उनले बताएका छन । एकीकृत प्रस्तावभित्र टाँगिया बस्ती स्थानान्तरणदेखि रुख कटान, बनाउने मोडल र अन्य व्यवस्थापकीय कार्यहरु समेटिने मन्त्री भट्टराईले जानकारी दिएका छन ।

निजगढको भन्दा धेरै जग्गा कोल्वीको पर्छ, जीतपुर सिमराको पनि पछर्,’ मन्त्री भट्टराईले भने, ‘निजगढ नाम परिवर्तन गरेर बारा राख्न छलफल चलाएका छौं
पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै मन्त्री भट्टराईले मंसिर महिनाभित्र विमानस्थलको शिलान्यास गर्ने बताएका थिए । मंसिरभित्र विमानस्थलको शिलान्यास हुन्छ त भन्ने प्रश्नमा मन्त्री भट्टराईले भने, ‘डोजर लगाएर इँटा राखेपछि मात्रै शिलान्यास भयो भन्ने चलन छ, इँटा राख्नु ठूलो कुरा होइन, इँटा राखेपछि काम धमाधम हुनुपर्छ भन्ने मान्यता हामी राख्छौं ।’

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा २५ लाख रुख काटिने भनेर गरिएका चर्चा विमानस्थल बन्न नदिने सानो संख्यामा मान्छेले गरेको हल्ला मात्र भएको मन्त्री भट्टराईले बताए ।

विमानस्थल बनाउन सबै राजनीतिक दल एकमत रहेको उनको दाबी छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले दैनिक ६ सय उडानबाट २० हजार यात्रुले सेवा लिएको जानकारी दिँदै मन्त्री भट्टराईले भने, ‘२० लाख पर्यटक भित्राउन पनि यो विमानस्थल सानो भइसक्यो, निजगढको अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प छँदैछैन यसलाई नेपालको सिभिल एभियसनको अन्तर्राष्ट्रिय हब बनाउनुपर्छ ।’

‘विमानस्थलको नाम परिवर्तन हुन्छ’

मन्त्री भट्टराईले विमानस्थलको नाम परिवर्तन गरेर ‘बारा अन्तर्राष्ट्रिय विमानस्थल’ राख्ने तयारी भइरहेको सुनाएका छन । विमानस्थल बन्ने जग्गा निजगढको मात्र नपर्ने भएकाले नाम परिवर्तन गरेर बारा राख्ने सोच बनाएको उनले बताएका छन ।

शनिबार साँझ चितवनको सौराहामा आएर बसेका मन्त्री भट्टराई निजगढ विमानस्थलबारे छलफल गर्न त्यसतर्फ लागेका छन् । उनले सरोकारवाला तीनवटा नगरपालिका, त्यस क्षेत्रका सांसद, प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्ने छन् । विमानस्थल बन्ने क्षेत्र अध्ययन गर्ने र स्थानान्तरण गर्नुपर्ने टाँगिया बस्तीका बासिन्दासँग पनि अन्तरक्रिया गर्ने भट्टराईले जानकारी दिएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया