लोकतान्त्रिक गणतन्त्र दिवसका दिन यो लेख लेख्न बसिरहँदा झन्डै डेढ दशक अगाडिका ती दिनहरू सम्झन पुगेँ । लाखौँ नेपाली हर्ष, उत्साह र नयाँ नेपाल निर्माणका लागि सडकमा निस्किएका थिए । त्यही भीडमा मेरो पनि झिनो स्वर मिसिएको थियो, ‘लोकतान्त्रिक गणतन्त्र जिन्दावाद’ भनेर । जब म गणतन्त्रको नारा लगाउँदै जोसिएर दुई हात उठाउँथेँ, मेरा एक मित्र सडकबाट फुटपाथमा चढ्थे । उनी भन्थे, ‘गणतन्त्रको नारा बढी भएन र ?’ राजनीतिक आन्दोलनहरू साना मुद्दामा उठ्छन्, तर नागरिकको विशाल सहभागिता र उत्सर्गले त्यसलाई युगान्तकारी बनाएका विश्वभर उदाहरण छन् । मेरा मित्र यो बुझ्न चाहन्नथे । इतिहासले कसरी आफ्नो दिशा निर्धारण गर्छ भन्ने लोकतान्त्रिक गणतन्त्रको नारासँग असहमत मेरा ती मित्र यसबीच कैयन्पटक सांसद भए, प्रभावशाली मन्त्री भए ।
नेपालमा राजतन्त्र अन्त्य भएको १५ वर्ष भयो । राजतन्त्र र लोकतन्त्रबीच झन्डै साढे ६ दशक घमासान द्वन्द्व चल्यो, जस्तो आज थाइल्यान्डमा चल्दै छ । दक्षिण एसियामा मात्र होइन, नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास, बलिदान र निरन्तरता विश्वकै लागि उदाहरणीय छ भन्ने मलाई लाग्छ । म केटाकेटी थिएँ । सम्झन्छु, मेरो घरछेउ विराटनगर मधुमारामा शिक्षा आर्जन गर्न भनी डेरामा बसेका राम र लक्ष्मण जुम्ल्याहा दाजुभाइलाई । आजभन्दा साढे चार दशकअगाडि उस्तै लुगा लगाएर क्रान्तिको सपना बोकेका ती जुम्ल्याहा दाजुभाइ ओखलढुंगामा हतियार लिएर क्रान्ति गर्न हिँडेका थिए । तर, तत्कालीन निरंकुश राजतन्त्रले उनीलगायत कैयन्लाई एकै चिहान बनायो ।
म सम्झन्छु, भर्खर जुँगाको रेखी बस्दै गर्दाका मेरा एक मित्र हामीबीचबाट एक दिन अचानक हराए । उनी मारिएको खबर धेरै पछि मात्र थाहा भयो । कलिलै उमेरमा क्रान्तिको सपना बोक्ने ती युवक मारिए भनी अझै पनि उनको घर परिवार विश्वास गर्दैन र छोरो आउँछ भनी आस लगाएर बाटो हेरी बसिरहेको छ । यहाँ म उसको नाम पनि उद्धृत गर्न सक्दिन । नेपालको लोकतान्त्रिक आन्दोलन कुनै एक वर्ष वा एक दशकको प्रयत्नबाट सम्भव भएको थिएन । झन्डै तीन पुस्ताको परिश्रम, निष्ठा र समर्पण भावबाट सम्भव भएको थियो । यो लडाइँ पीडाको लडाइँ थियो । हर्ष र उमंगको पनि थियो । विगतका पुस्ताले गरेको लोकतान्त्रिक संघर्षलाई वर्तमान पुस्ताले देशको इतिहासबाट बुझ्न नसके बर्माको सडकमा सेनाले चलाएको गोली र सामान्य नागरिकमाथि चढाएको ट्यांकबाट केही बुझ्न सक्छन् होला ।
सवा दुई सय वर्षअगाडि फ्रान्सको राज्यक्रान्तिलाई बेलायती कवि विलियम वर्डस्वर्थले प्रत्यक्ष हेर्न पाएकोमा आफूलाई र त्यो युवापुस्तालाई धन्य ठानेका छन्, जसले क्रान्ति गर्न सके । वर्डस्वर्थले क्रान्ति र नागरिकको ऊर्जा, उत्साह र हर्षबारे ‘द प्रिल्युड’मा बेजोड शब्दहरू खर्चेका छन् । फ्रान्सको राज्यक्रान्तिबाट विश्व नयाँ हुनेछ भनी उनी विश्वस्त थिए । विश्व नयाँ हुने क्रममा अघि बढ्यो पनि, यही क्रान्तिबाट । राजा, राजवंश, युद्ध, दरबार र भारदारबाहेक नागरिक पनि छन् भन्ने धारणा पहिलोपटक मानव जातिमा यही क्रान्तिबाट विश्वभर फैलियो । जस्तो, डेढ दशकअगाडिको लोकतन्त्रले नेपालमा निर्माण गरेको छ । फ्रान्सको राज्यक्रान्तिले स्वतन्त्रता, समानता र भाइचारा स्थापनाको जग समाजमा स्थापित गर्यो । यो लडाइँ समाप्त भएको छैन, अझै जारी छ । कोरोनाले निर्माण गरेको वर्तमान विश्वमा फ्रान्सेली राज्यक्रान्तिको उपदेयता र महŒव अझै मुखरित भएको छ ।
नेपालको लोकतान्त्रिक आन्दोलन कुनै एक वर्ष वा एक दशकको प्रयत्नबाट सम्भव भएको थिएन । झन्डै तीन पुस्ताको परिश्रम, निष्ठा र समर्पण भावबाट सम्भव भएको थियो । विगतका पुस्ताले गरेको लोकतान्त्रिक संघर्षलाई वर्तमान पुस्ताले देशको इतिहासबाट बुझ्न नसके बर्माको सडकमा सेनाले चलाएको गोली र सामान्य नागरिकमाथि चढाएको ट्यांकबाट केही बुझ्न सक्छन् होला ।
डेढ दशकअगाडिको लोकतान्त्रिक आन्दोलनबाट नेपालको इतिहासमा नेपालीले त्यही गरे, जे सवा दुई सय वर्षअगाडि फ्रान्समा भएको थियो । फरक के मात्र छ भने नेपालको राजतन्त्रले अभयदान पायो, आन्दोलनकारीहरूबाट । तसर्थ, आजभन्दा १५ वर्षअगाडि नेपालमा जे भयो, त्यो असाधारण थियो, युगान्तकारी थियो । त्यो कालखण्डले ल्याएको परिवर्तनलाई सुरक्षित राख्न मात्र सकिए योभन्दा ठूलो उपलब्धि वर्तमान पुस्ताका लागि अरू के हुन सक्छ र ? प्रश्न के छ भने नेपालमा १५ वर्षअगाडिको राजनीतिक परिवर्तन, जसले लोकतान्त्रिक गणतन्त्रमा ल्याएर नेपाली जनतालाई उभ्याइदियो, के त्यो जोगाउन राजनीतिक दलहरू सक्षम छन् ?
लोकतान्त्रिक गणतन्त्र आफैँ जोगिँदैन । यसलाई जोगाउनुपर्छ । केही दिनअघि गणतन्त्रविरोधी मेरा ती पुराना मित्रले फोनमा ‘अहिलेको राष्ट्रपति र पूर्वराजा ज्ञानेन्द्रमा आज तिमी कसलाई ठीक ठान्छौ ?’ भनी जिस्काए ।
यो प्रश्न गम्भीर मात्र थिएन, यसले गणतन्त्र नेपाललाई जिस्काइरहेको थियो । र, वर्तमान राजनीतिक अवस्था उल्टाउने चाहना पनि यसमा व्यक्त थियो । राजनीतिलाई उल्टो दिशामा हिँडाउने चाहना केही मानिसमा आउनु अस्वाभाविक होइन । अझ सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री र प्रतिपक्षलगायत सबै राजनीतिक दलहरूबाट निराश नागरिकले राजनीतिको वैकल्पिक सोच ल्याउनु अन्यथा होइन पनि । नेपाल मात्र होइन, इतिहासमा ‘वैश्विक महामारी’ले अनेकन् उथलपुथल ल्याएका छन् । सरकार, साम्राज्य र सभ्यताहरू ढलेका छन्् । नयाँ निर्माण भएका छन् । नेपालमा हुँदैन भनी केही भन्न सकिने अवस्था छैन । यति मात्र भन्न सकिन्छ कि नेपालको दशा र दिशा यो महामारीबाट उल्टो गतिमा फर्काउने प्रधानमन्त्री ओलीको चाहनालाई रोक्न नेपाली नागरिक सचेत हुनैपर्छ ।
के हुन्थ्यो होला, आजभन्दा १५ सय वर्षअगाडिको एथेन्स राज्यको गणतन्त्रमाथि ‘वारियर स्पार्टा’ जाति युद्धमा विजयी नभएको भए ? चर्च र राजतन्त्रको उदय युरोपमा नभएर गणतन्त्रको विस्तार तिनैताका युरोपमा हुन्थ्यो कि । विश्वप्रसिद्ध पुस्तकका लेखक फरिद जकारियाले यही विषयमा प्रश्न उठाउँदै भर्खरै प्रकाशित आफ्नो पुस्तक ‘टेन लेसन फर अ पोस्ट पेन्डिमिक वर्ड’मा इतिहासमा घटित यस्ता कैयन् परिघटनाले देश र विश्वको दिशा बदलिएको उदाहरण प्रस्तुत गरेका छन् । नेपालमा मल्ल राजाले, जुन ढंगले उपत्यकामा उद्योग, व्यापार, कला, संस्कृति र सहरको विकास गरेका थिए, उनैबाट नेपालको एकीकरण भएको भए नेपाल आजभन्दा पृथक सुसंस्कृत, समृद्ध र सभ्य देश हुन सक्थ्यो कि ? यो पुस्तक पढ्दै गर्दा मलाई यस्तै तरंगहरू आइरहे ।
रामायणमा रामको नेतृत्वले किन जित्यो र माहाभारतमा कृष्णको जादू कति काम लाग्यो, यसका तथ्यपरक जानकारी छैनन् । तर, माथि उद्धृत गरिएको एथेन्सको गणतन्त्र हार्छ, स्पार्टाले जित्छ, किनभने पहिलो महामारी भनिने प्लेगको विनाशले एथेन्समा युद्ध गर्ने कोही हुँदैन । इतिहासको गति यहीँ रोकिँदैन, अगाडि बढ्छ । यही समय पूर्वी रोमन साम्राज्य, जुन आजको टर्कीको इस्तानबुलमा केन्द्रित थियो र पर्सियन साम्राज्य अर्थात् आजको तेहरान यसको केन्द्र थियो, बीच युद्ध सुरु हुन्छ । यही युद्धको पृष्ठभूमिबाट घुमन्ते र आपसी लडाइँमा रमाउने आदिवासी ‘जो लाल सागर र पर्सियन गल्फ’का बीच आवाद थिए, एकताबद्ध हुन्छन् । र, यिनलाई एकताबद्ध गराउने नेतृत्व इस्लाम धर्मका पैगम्बर मोहम्मदले गर्छन् । पहिलो प्लेगले विश्वको दिशा र दशा नै बदलिदिन्छ, यहाँबाट । एउटा नयाँ धर्म, सभ्यता र देवताको उदय महामारीबाट हुन्छ । अरबका खानावदोस (यायावर) जाति विश्वविजयीतर्फ लम्कन्छ ।
इस्लामको सर्वत्र उदय हुन्छ र यसैसँग बाँकी विश्व एक हजार वर्षसम्म झन्डै ‘अन्धकार युग’मा प्रवेश गर्छ । यो अन्धकार युगबाट पुनर्जागरणकाल आउन युरोपमा फेरि अर्को प्लेग महामारी आउँछ । ‘ब्ल्याक डेथ’ नामबाट चिनिने यो महामारीले युरोपको ५० प्रतिशत जनता मर्छन् । युरोपको सामन्तवाद र कृषि दासता यही प्लेगका कारण समाप्त हुन्छ । त्यति मात्र होइन, युरोपियनबीच एउटा अहं प्रश्न उठ्छ, ‘हामी मरिरहँदा हामीले आस्था, विश्वास र भरोसा गर्ने चर्च र देवता कहाँ थिए ? किन यिनले हामीलाई बचाउन सकेनन् ? यहीँबाट युरोपमा वैज्ञानिक विचार, पुनर्जागरणकाल र धर्मनिरपेक्षतावादको सोचले जबरजस्त जरा गाड्छ । महामारीको चिहानबाट आधुनिक युरोपको जन्म हुन्छ ।
के नेपालको दशा र दिशा कोरोनाको चिहानबाट सिर्जनशील मार्गतर्फ लम्केला ?
१५औँ शताब्दीमा युरोपबाट अमेरिकी महाद्वीप पुगेका कोलम्बसले अमेरिका मात्र पत्ता लगाएनन् । अमेरिकामा बिफर पनि पुर्याए र त्यहाँका ८० प्रतिशत जनसंख्या बिफरबाट मारिए । एकजना इतिहासकारले युरोपको सेनाको भूमिकाभन्दा बिफरको भूमिका अमेरिकी द्वीप जित्न युरोपियनलाई सजिलो भयो भनी टिप्पणी गरेका छन् । अमेरिकी महाद्वीपको ‘एजटेक सभ्यता’, जसलाई माया सभ्यता पनि भनिन्थ्यो, युरोपियनको विजयसँगै समाप्त भयो र आज एजटेक मेक्सिकोमा एउटा फुटबल स्टेडियमको नाममा सीमित छ । इस्लाम धर्मको उदयको पृष्ठभूमि, युरोपको वैज्ञानिक सोच, पुनर्जागरणकाल र अमेरिकी महाद्वीपको एजटेक सभ्यता अन्त्यको सन्दर्भ नेपालको वर्तमान अवस्थामा कसरी जोडिन आउँछ ? यसको स्मरण किन गर्नुपरेको होला ? मुख्यतया जब शासक आफ्नो मूल दायित्वबाट पन्छिन्छन्, अर्थात् अनुत्तरदायी हुन्छन्, तब देशमा ठूलो अनिष्ठ आउँछ भनी सोचे हुन्छ । देश अन्धकारको युगतर्फ लम्कन्छ ।
जब म लाखौँ परिवार जीवन निर्वाहका लागि भारत, मलेसिया, मध्यपूर्व र विश्वका कुना–कुनामा कोरोनाबीच पनि जान परिवारसहित लाम लागेको देख्छु, अनी नेपाल अन्धकारको युगमा प्रवेश गर्न बाँकी रह्यो र ? भन्ने ठान्छु । के हुँदा अन्धकारको युग भन्ने । बिरामी भयो, उपचार छैन । काम गर्ने हात छ, रोजगारी छैन । सरकार छ, कर मात्र लिन्छ । स्कुल र विश्वविद्यालय छ, पढाइ छैन । देशमा नदी छ, खानेपानी छैन । नेपालका प्रधानमन्त्री ओली इतिहासको गतिलाई कम्युनिस्ट आवरणमा उल्टो दिशातर्फ मोड्न सक्रिय छन् । उनी कम्युनिस्ट हुन्, तर कर्मकाण्ड गर्दै नागरिकको धार्मिक भावनालाई राज्यसँग जोड्न खोज्दै छन् । यो नेपाललाई अन्धकारको युगमा प्रवेश गराउने प्रयत्न हो । पशुपतिमा सुनको जलप र अयोध्यापुरी नेपालमा छ भन्ने प्रधानमन्त्रीको बेतुकको अभियान र खर्च नेपालीलाई धर्मको अफिम चटाउने उद्योग हो । ओली माक्र्सवादी भनिन्छन्, तर माक्र्सविरोधी गतिविधि सबै गर्न रुचाउँछन् । देशमा लोकतान्त्रिक गणतन्त्र छ, ओली लोकतान्त्रिक गणतन्त्रविरोधी गतिविधि मात्र गर्न रुचाउँछन् ।
कोरोना महामारीमा नेपाली जनताको जीवन रक्षार्थ चाल्नुपर्ने रोजगारीका उपायहरू कहीँ सुनिएको छैन । दशौँ लाख नेपाली कोरोनाका कारण गरिबीको दलदलमा पुगे । काम गर्ने तरुण हातहरूलाई न देशमा काम छ, न जीवन रक्षा गर्ने उपायहरूबारे सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीको कुनै सोच छ । नेपालको राजनीतिक इतिहासमा राजनीतिक दलहरू अहिलेजति अक्षम र अकर्मण्य कुनै समय थिए भनी सोच्नुपर्ने हुन्छ । लोकतन्त्रको रक्षक भनी चिनिने नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा मध्ययुगीन युरोपतर्फ नेपाललाई ढल्काउन खोज्ने ओलीको समर्थकझैँ देखिएका छन् ।
कांग्रेस पार्टी यतिखर के गर्दै छ ? मुलुकमा जान्न खोजी गर्दा पनि बुझ्न नसकिने भएको छ । के कांग्रेस जनताको राजनीति गर्दै छ ? कतैबाट पनि त्यसको पुष्टि भइरहेको छैन । जनताको राजनीति गरेको भए जनताको वाणी किन बोल्न सकिरहेको छैन ? के हो जनताको वाणी ? यतिखेर त्यसलाई पनि कांग्रेसले संज्ञानमा लिन नसकेको देखिन्छ । नेपालमा महामारीले अझै ताण्डव नृत्य गर्न पाएको छैन । भर्खर यसको कास्टिङ मात्र भएको हो कि भनी सर्वत्र सन्त्रास छ । कुनै नेपाली अहिले आफूलाई सुरक्षित ठान्दैनन् । कुनै नेपाली यतिखेर राज्यको भूमिकासँग सन्तुष्ट छैनन् । धन्य ! भारत र चीनबाट अनुदानमा आएको खोपले केही नेपालीले राहत पाए । अन्तमा, फेरि कसैले लोकतन्त्रका लागि ‘जिन्दावाद’ भन्नु नपरोस् भनी डेढ दशकअगाडि आन्दोलनका नेता गिरिजाप्रसाद कोइरालाले भन्थे । त्यस्तो होला ? के नेपालको दशा र दिशा कोरोनाको चिहानबाट सिर्जनशील मार्गतर्फ लम्केला ? युरोप, अमेरिका र इस्लाम महामारीको चिहानबाट उठेका हुन् । नेपाल पक्कै जाग्नेछ भन्ने नारा कहिले सार्थक होला ? नयाँपत्रिका
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया