महापण्डित राहुल सांकृत्यायनले एक ठाउँमा लेखेका छन्, गाउँघरको खेत खलिहानमा गाईभैंसी चराउँदै निराक्षर गोठालेहरूले यस्ता यस्ता गीतसंगीत र कविताहरूको रचना गर्ने गर्छन् जसलाई सुनेर ठुल्ठुला कविको दाँत अमिलो हुन्छ। अर्थात् प्रतिभाको जन्म कुनै सम्पन्न परिवार वाराजदरबारको पर्खालभित्र मात्र हुँदैन। त्यो जहाँपनि जन्मिने एक संयोग हो। एक परिघटनाहो। मूलकुरा त्यसलाई निखार्ने हो।
गुरुशरण सदाय ननिखार्दै सदाका लागि निदाए भने कृष्णबहादुर यादवले भने त्यो अवसरबाट फाइदा उठाउन सकेनन्। यिनै दुई प्रतिभाशाली व्यक्तित्वको जन्म सिरहा जिल्लामा भएको थियो जो अनाहकमा यसै साता अस्ताए। एक थिए सुरवीर त अर्को थिए कलमवीर। व्यक्ति विशेषको रूपमा दुवैको छेउटुप्पोमा कहीं कतै पनि समानता भेटिँदैन। तर दुवैले आ–आफ्ना ठाउँबाट जे गरेर गए त्यो सिरहावासीको मनमस्तिष्कमा सदासर्वदा अविष्मरणीय रहने छ। नेपाली शोषित पीडित उत्पीडितको मुक्ति आन्दोलनको इतिहासमा दुवैले पुर्याएको योगदानको गाथाबाट आउने पुस्ता गौरवान्वित महसुस गर्नेछन्। सिरहाली मुक्ति आन्दोलनका त दुवै स्तम्भ नै थिए।
भुइँमान्छेले पनिके गर्न सक्दैन र (?) भन्ने दुवैको स्पष्ट तस्वीर झल्किन्छ। त्यसैले सिरहाको गौरवगाथामा यी दुई व्यक्तिको नाम स्वर्ण अक्षरमा लेखिने छ। राष्ट्रियरूपमा उनको योगदानको उठान गर्दा यी दुई पुञ्जको जीवनगाथा संघर्षबाहेक केही देखिँदैन। कृष्णबहादुर मधेसजनविद्रोहका सपूत थिए भने गुरुशरण सदाय दलित चेतनाका प्रतीक।
प्रतिभावान गुरुशरण सदाय
मिथिलाञ्चलमा समतामूलक समाजको निर्माणका लागि एउटा भरखरको ठिटोले आफ्नो गीतसंगीत तथा कलमबाट उठाएको आवाजलाई निस्तेज पार्न सम्भ्रान्त वर्गले जति प्रयास गरे पनि उनको अथक यात्राले भने कहिल्यै विराम लिएन। कहिल्यै एफएमरेडियो त कहिल्यै पत्रिकाको माध्यमबाट जो सम्प्रेषण गरे त्यो आज दलित वर्गका लागि मुक्तिवाहक बनेको छ।
नेपालको सबैभन्दा गरिब र निमुखा जातमा जन्मिँदा उनको कष्टप्रद जीवन यात्रा आफैंमा प्रेरणाको श्रोत हो। अहिले पनि थोरै मात्र प्रतिशत साक्षर रहेको जातको ती ठिटोले कसरी स्नातकोत्तरसम्म अध्ययन पूरा गरे होलान् भन्ने जिज्ञासा हुनु स्वाभाविक हो। मानिसमा लगन, उत्साह र संगत भएपछि त्यसले एकपछि अर्को उकालो उक्लिँदै जान्छ भन्ने कुराको ज्वलन्त प्रमाण गुरुशरण सदाय आफैं हुन्।
जुन गाउँमा गुरुशरण सदायको जन्म भयो त्यो वर्गीय मुक्ति आन्दोलनको लागि सचेत क्षेत्र हो। ‘सिरहाको पात पनि रातो हुन्छ’ भन्ने भनाइ एकताका खुबै प्रचलित थियो। गुरुशरण सदाय तिनै क्षेत्रको बासिन्दा भएकाले बचपनदेखि नै वर्गीय चेतनाबाट उनी अभिप्रेरित थिए। बुबाआमा नजिकैको इँटाभठ्ठामा काम गर्दा सँगसँगै गुरुशरणले कति रात, महिना र वर्ष बिताएका होलान् भन्ने कुराले उनलाई उर्जावान् बनाएका थियो। तर त्यो शक्ति र चेतनालाई निस्तेज पार्न विश्व साम्राज्यवादका नायक अमेरिकाले संसारभर नै अभियान चलाएको कुराबाट सोझासाझा सिरहावासी अनभिज्ञ थिए।
सिरहाको पात पनि रातो हुन्छ भन्ने कुरा थाहा पाएपछि अमेरिकी नियोगले आफ्नो संस्था ‘सेभ द चिल्डे«न’लाई त्यहाँ पठाए जसको एउटा उत्पादन गुरुशरण सदा पनि हुन्। जुन वर्गीय चेतनालाई भुत्ते पार्न गोलबजारमा सेभ द चिल्ड्रेनको आगमन भयो। त्यही संस्थाको छात्रवृत्तिबाट गुरुशरणले आफ्नो शैक्षिक आधार स्तम्भ बनाए। एउटा गरिब, निमुखा तथा दीनहीन समुदायमा अमेरिका कसरी काम गर्दा रहेछन् भन्ने कुरा त्यस भेकका पढेलेखेका कम्युनिष्ट नेताहरूलाई समेत थाहा थिएन।आफ्नो योजनानुसार सेभ द चिल्ड्रेनले वर्षौंवर्षसम्म काम गरेर फर्किसकेपछि मात्र उनको भित्रीकुरा सिरहाली कम्युनिष्टहरूले थाहा पाए।
त्यतिबेलासम्म सेभ द चिल्ड्रेनले गोलबजारको उत्तरी भेकमा रहेको क्रान्तिकारी वामआन्दोलनलाई कमजोर पारिसकेको थियो। दर्जनौं युवाहरूका लागि सेभको भत्ता आकर्षण मात्र होइन, जीवनयापनको साधन बनेको थियो। यसलेगर्दा थुप्रै युवा वामआन्दोलनबाट टाढिए।तर दलित चेतनालाई शैक्षिक रंगमा रंगिएपछि गुरुशरण सदायले सामाजिक बाटोलाई मुक्तिको आधार बनाए। परिचयविहीन रहेका ऋषिकुलका तमाम मुसहरहरूलाई ‘माटो दिवस’ मनाएर गुरुशरणले जुन प्रतिष्ठा दिए त्यो आजसम्म नेपालको इतिहासमा कसैले त्यो जातलाई दिएको थिएन। यो सेभ द चिल्ड्रेनको देन हो।
विद्रोही स्वभावको भएकाले कृष्णबहादुर क्रान्ति, विद्रोह, संघर्ष र आन्दोलनलाई औधि मन पराउँथे। त्यसैले यति ठुल्ठुला आन्दोलनको नेतृत्व गरे पनि सधैं आन्दोलनकारी नै भइरह्यो। कहिल्यै कुनै लाभको पदमा गएनन्।स्वभावले नै विद्रोही भएकाले धेरैले उनलाई पागल पनि भन्थे।
दलित चेतनालाई सर्वहाराकरणबाट रोक्न गरिएको यो कार्यले धेरैलाई प्रभावित पारिसकेको थियो। स्वयं यो पंक्तिकार पनि प्रभाविलो बनेको थियो किनकि जनयुद्ध सुरुहुनुभन्दा पहिले नेपाल कम्युनिष्ट पार्टीसँग मजदुरी आन्दोलनबाहेक त्यस्तो कुनै हतियार थिएन जसले मजदुर वर्गलाई लामो कालसम्म गोलबन्द गरेर आफ्नो झन्डामुनि राख्न सकियोस्। शैक्षिक कार्यक्रम, मद्यपानविरुद्धको अभियान, जातीय मुक्तिको सवाल तथा सांगीतिकलगायत अन्य कतिपय सुधारवादी आन्दोलनात्मक कार्यक्रमले गुरुशरण सदायलाई जिल्लामा एउटा यस्तो युवाको रूपमा स्थापित गर्योजसले उनलाई राष्ट्रिय रूपमा पनि पहिचान बनाउन मद्दत गर्यो।
संयुक्त राष्ट्रसंघले एकपटक नारा दिएका थिए,‘थिन्क ग्लोबल्ली बट एक्ट लेकल्ली’ भन्ने कथनले गुरुशरणको व्यक्तित्व विकासमा अहं भूमिका निर्वाह गर्यो। सिनो बहिष्कार आन्दोलनदेखि नै राष्ट्रियरूपमा दलित मुक्ति सवालमापहिचान बनाइसकेका सिरहाले गुरुशरण सदाय पाउनु एकातिर एनजीओका लागि खुसीको खबर थियो भने अर्कोतर्फ मुसहरजस्तो सबैभन्दा पिछडिएको महादलितका लागि एकप्रकारको वरदान नै थियो किनकि ‘विद्याधनम् सर्वधनम् प्रधानम्’ भन्ने उक्तिबाट गुरुशरण सबैभन्दा बढी प्रभावित र प्रशिक्षित थिए। त्यसैले कुनै पनि राजनीतिक दल उनका लागि कहिल्यै पनि सरोकारको विषय बनेनन्।
राजनीतिको अकासिँदो भाउ र मोलजोल रहेको बेला पनि उनले कुनै पनि नेताको ढोका ढकढकाएनन्। उनीसँग शिक्षा मात्र होइन, बाँच्ने आधार सेभ द चिल्ड्रेन पनि थियो। जीवनको पूर्वाद्र्धदेखि उत्तराद्र्धसम्म उनले यसै संस्थासँग संलग्न रहे। तर उनले जीवनको एउटा धोको भने पूरा गर्न सकेनन्। मुसहर जातमा अहिलेसम्म विद्यावारिधि (पीएचडी) कसैले नगरेकाले त्यो रेकर्ड उनी बनाउन चाहन्थे।उनले जन्माएको छोरा शक्ति १२ वर्षको भएका छन् भने छोरी सगुन ९ की छन्। मुसहर समुदायमा विरलै भेटिने पढेलेखेकी चेली श्रीमती शान्ति सदायलाई उनले मेट्रिक पास गराएर गीतसंगीतको दुनियाँमा पोख्त बनाउँदै थिए।
अचानक र अप्रत्याशितको यो दुर्घटनाले शान्तिमाथि बज्र प्रहार भएको छ। सुखद् पक्ष के हो भने त्यसलाई सामना गर्न सक्ने हैसियतगुरुशरणलेशान्तिलाई प्रदान गरेर गएका छन्। शान्ति मात्र एक्लो महिला छैनन्, जसलाई आज यो दुःख भोग्नु परेको छ। शान्तिजस्ता हजारौंमा छन्। त्यसैले दुःखको घडीमा श्रीमान् गुरुशरणसँग बिताएको दिन याद गर्नुभन्दा शक्ति र सगुनलाई कसरी अर्को गुरुशरणमा रूपान्तरित गर्ने भन्ने कुरातर्फ ध्यान केन्द्रित गर्न सके यो नै शान्तिका लागि श्रीमान्प्रति सच्चा श्रद्धाञ्जली हुनेछ।
सुरवीर कृष्णबहादुर यादव
त्यो दिन कृष्णबहादुर लहानमा नभएको भए मधेस जनविद्रोहले गति समाउन सक्ने थिए कि थिएनन् भन्ने प्रश्नको खोतल्ने बेला हो यो। कृष्णबहादुर अब यस दुनियाँमा छैनन्। वैशाख७ गते ६० वर्षको उमेरमा उनको असामयिक निधन भयो। त्यतिबेला उनी ४६ वर्षका लक्का जवान युवा थिए। त्यसैले चारित्रिक विशेषताअनुसार उनले लहानमा जे गरे त्यो नेपालको इतिहास बन्यो।
राजनीतिको अकासिँदो भाउ र मोलजोल रहेको बेलापनि गुरुशरण सदायले कुनै पनि नेताको ढोका ढकढकाएनन् ।
मधेसको प्राणप्रतिष्ठामा चारचाँद लाग्यो। यो उनको दायित्व पनि थियो। त्यतिबेला उनी मधेसी जनअधिकार फोरमका केन्द्रीय सदस्य थिए र सो फोरमको अध्यक्ष उपेन्द्र यादवलाई संघीयता विरोधी सरकारले अनाहक गिरफ्तार गरेको थियो। त्यतिमात्र होइन, भर्खरै शान्ति सम्झौतामा आएका माओवादीले फोरमका कार्यकर्ता रमेश महतोलाई मारेर लास बेपत्ता पारेका थिए। यस्तो संगीन परिस्थितिमा एउटा नेताको हैसियतले कृष्णबहादुरले जो भूमिका निर्वाह गरे त्यो काविलेतारिफ थियो। लहान मात्र होइन, सम्पूर्ण मधेसले कृष्णबहादुरको बहादुरीलाई प्रशंसा गरे। उनी एउटा विद्रोही नेताको रूपमा स्थापित भए।
तिनै कृष्णबहादुर अस्ति दुनियाँबाट विदावारी लिँदा सम्पूर्ण सिरहा शोकमा डुब्यो। ६ लाख ३७ हजार जनसंख्या रहेको यो जिल्लाको नयाँ पुस्ताले कृष्णबहादुरलाई राम्ररी चिन्छन्। युवाको केही स्वार्थ हुँदैन। उनलाई मनपराउनुको मूल कारण नै उनी निस्वार्थी थिए। स्वार्थका लागि कसैको अगाडि हात जोडेनन्। यो उनको यस्तो गुण थियो जसको बलमा उनी जनतामा पहिचान बनाएका थिए। सिरहाली जनताले पनि उनलाई माया गर्नुको सबैभन्दा ठूलो कारण एउटा सच्चा आन्दोलनकारी भएर नै हो। वास्तवमा भन्ने हो भने कृष्णबहादुर तराईमधेसका असल सपूत थिए।
विद्रोही स्वभावको भएकाले उनी क्रान्ति, विद्रोह, संघर्ष र आन्दोलनलाई औधि मन पराउँथे। त्यसैले यति ठुल्ठुला आन्दोलनको नेतृत्व गरे पनि सधैं आन्दोलनकारी नै भइरह्यो। कहिल्यै कुनै लाभको पदमा गएनन्। पद, पैसा र प्रतिष्ठाका लागि जे पनि गर्न तयार रहेको अहिलेको परिस्थतिमा उनी त्यसलाई कहिल्यै गनेनन्। जुन लहानको विद्रोहले सिंगो उपेन्द्र यादवको जीवनलाई रूपान्तरित गर्यो। त्यो विद्रोहको एउटा सशक्त नेता पदविहीन भएर दुनियाँबाट विदाबारी लिनु आफैंमा उदेकलाग्दो कुरा हो। चाहेको भए उनी धेरै थोक हुन सक्थे तर कहिल्यै केही भएनन्। सबैभन्दा ठुलो कमजोरी उनी कसैको मतहतमा बस्न चाहदैनथे।
स्वभावले नै विद्रोही भएकाले धेरैले उनलाई पागल पनि भन्थे। तर सही कुराका लागिप्रहरीविरुद्ध होस् वा पार्टीविरुद्ध आन्दोलन गर्नुपर्यो भने फेरि पनि कृष्णबहादुरबेगर सम्भव थिएन। त्यसैले लहानमा कृष्णबहादुर अनिवार्य आवश्यकताका मानिस थिए।उनी जीवनकालमा थुप्रै पार्टीसँग सम्बद्ध भए तर कसैसँग निरन्तरतामा रहेनन्। त्यसैले कुनै पनि पार्टीले उनको पार्थिव शरीरमा झन्डा ओढाउन सकेनन्। उनी जसपाको कार्ड होल्डर नभए पनि उसको कुनै पनि आन्दोलनको अभिन्न अंग भने अवश्य हुन्थ्यो। अर्थात् उनी मधेसवादी थिए भन्ने कुरामा कुनै शंका छैन।
कृष्णबहादुरमा यो गुण वंशानुगत थियो। उनको बुबा फुलेश्वर यादव पनि यस्तै स्वभावका थिए। कहिल्यै कुनै पदमा गएनन् तर नेपालपास कहलाउँथे। घरको आँगनमा इजलास लगाउँथे र मुलुकी ऐन पढेर फैसला सुनाउँथे। त्यसैले धेरैले उनलाई न्यायाधीश पनि भन्थे तर नेपालपासले व्यापकता पाएको थियो। जतिबेला गाउँमा रेडियो र साइकल थिएन, त्यतिबेला उनको बुवा साइकलमा चढेर रेडियो बजाउँदै हिँड्थे। यसले पनि के पुष्टि गर्दछ भने कृष्णबहादुरको चारित्रिक विशेषता वंशाणुगत थियो।
राजनीतिक रंगमा रहेको यो परिवारमा कृष्णबहादुरले छोराको नाम पनि लोकचन्द (लोकसभा) र विधानचन्द(विधानसभा) राखेका छन्। दुई छोरामध्ये कान्छो विधानचन्दको चरित्र पनि ठ्याक्कै बुबाजस्तो छ। दुइटी छोरी पनि छन्। यसरी चार छोराछोरीको बुबा कृष्णबहादुरको असामयिक अवसानले पारिवारिक रूपमा मात्र होइन, सिरहाले पनि सच्चासपूत गुमाएको छ।
अन्त्यमा, कृष्णबहादुर यादव र गुरुशरण सदाय दुवैमा कुनै समानता भेटिएन। तर पनि एक दिनअघि र पछि असामयिक मृत्युवरणमा भने समानता देखिन्छ। अन्नपूर्णपोष्टबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया