काठमाण्डौं: भारतले अक्सिजन निर्यातमा लगाएको प्रतिबन्ध बिहीबार फुकुवा गरेको छ । यससँगै दुई ट्यांकरमा ३० टन लिक्विड अक्सिजन शनिबारसम्म नेपाल आउँदै छ । यसले करिब एक लाख ८० हजार सिलिन्डिरमा अक्सिजन भर्न पुग्ने अनुमान छ ।
भारतले त्यहाँको सर्वोच्च अदालतको आदेशअनुसार चैत पहिलो साताबाट अक्सिजन निर्यातमा रोक लगाएको थियो । नेपालमा मौज्दात अक्सिजन र सिलिन्डरले नपुग्ने तथा भयावह स्थिति आउने भन्दै नेपाली अधिकारीले निर्णयमा पुनर्विचार गरिदिन भारतलाई आग्रह गर्दै आएका थिए । नेपालको निरन्तरको आग्रहपछि भारतले स्वास्थ्य प्रयोजनका लागि अक्सिजन आपूर्ति खुला गर्ने निर्णय गरेको हो ।
भारतीय गृह मन्त्रालयले बिहीबार सबै प्रदेश तथा डिस्ट्रिक मजिस्ट्रेट कार्यालयलाई परिपत्र गर्दै नेपालमा अक्सिजनको आपूर्ति सुरु गर्न निर्देशन दिएको छ । नेपालमा भारतको झारखण्ड जम्सेदपुरस्थित लिन्ड इन्डियाबाट मासिक एक सय ५० टन अक्सिजन आउने गरेको छ । शंकर अक्सिजन ग्यास प्रालिले आपूर्ति गर्दै आएको छ । नयाँ पत्रिका
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया