काठमाडौं: संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएर पदमुक्त भएसँगै नयाँ सरकार गठनका लागि दौडधुप शुरु भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि तीन दिनको समयसीमा तोकेर आह्वान गरेसँगै राजनीतिक दलहरूको छलफल तीव्र बनेको छ ।संसद्को ठूलो दल नेपाली कांग्रेसले आफूले नयाँ सरकारको नेतृत्व गर्ने बताएको छ । यसका लागि माओवादी केन्द्र र जनता समाजवादी पार्टी उपेन्द्र यादव नेतृत्वको समूहले साथ दिने भएको छ ।
सरकार गठनबारे छलफल गर्न सभापति देउवाले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । सभापति देउवालाई भेट्न प्रचण्ड बूढानीलकण्ठ पुगेका थिए । संसद्मा प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुअघि नै अविश्वासको प्रस्ताव दर्ता गराउने तयारीमा रहेको भए पनि कांग्रेस एमालेको नेपाल समूहले समयमा नै निर्णय नगर्दा उक्त निर्णयबाट पछि हटेको थियो ।
अहिलेकै अवस्थामा नयाँ सरकार गठनका लागि बहुमत पु(याउन १ सय ३६ सांसदको आवश्यकता पर्छ । नेपाल पक्षका सांसदले राजीनामा दिएको अवस्थामा नयाँ सरकार गठन गर्न १ सय २४ सांसद नै पर्याप्त हुनेछन् । नेपाल समूहका सांसदले राजीनामा नदिएर सांसद कायमै रहिरहेको अवस्थामा प्रधानमन्त्री ओलीले आफ्नो पार्टीको १ सय २१ जना सांसदको दाबी गर्नेछन् ।
कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सिंगो जसपाको साथ मात्रै पनि पर्याप्त छ । जसपाका १५ जना सांसदले मत दिने हो भने देउवा सहजै प्रधानमन्त्री बन्ने अवस्था रहेको छ । उपेन्द्र यादव समूहको समर्थन कायमै रहेर नेपाल पक्षले राजीनामा दिएको अवस्थामा पनि देउवाको नेतृत्वमा सरकार बन्ने अवस्था रहेको छ । नेपाल समाचारपत्र दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया