असार २५, २०८२ बुधबार July 9, 2025

नेपाली राजनीतिको हिसाब-किताब- प्रा. कृष्ण पोखरेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मुलुक कोरोनाको दोस्रो लहरको चपेटामा नराम्ररी फसेको छ । संक्रमित र मृत्यु हुनेको संख्या दिनहुँ बढिरहेको छ । बिरामी अस्पतालको शड्ढया, अक्सिजन र अत्यावश्यक औषधि नपाएर अकालमा मरिहेका हृदय विदारक समाचार दिनहुँ आइरहेका छन् । स्थिति कतिसम्म नाजुक छ भने प्रत्येक १० मिनटमा एकजना नागरिकको ज्यान गइरहेको छ । त्यसमाथि पनि थप कुरा के भने सरकार कमिसनको चक्करमा परेर समयमा कोरोना भ्याक्सिन ल्याएर नागरिकलाई आश्वस्त पार्न नराम्ररी चुकिरहेको छ ।

यस्तोवेला एउटा शासकको नालायकीले मुुलुकको राजनीति कतिसम्म भाँडिदोरहेछ भन्ने विषयमा कलम चलाउनुपर्दा मन उद्वेलित छ । तर, नचलाई धर पनि छैन । र, पनि मूल विषयमा प्रवेश गर्नुअघि विगतका आफ्ना दुई आकलन गलत साबित भएकोमा म मेरा पाठकसँग दिलैदेखि माफी माग्छु । पहिलो, नयाँ संविधान जारी भएलगत्तै पछिको आमनिर्वाचनका वेला हठात् दृश्यमा आएको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को चुनावी गठबन्धनको पक्षमा आफूले यसै स्तम्भबाट गरेको धुवाँधार पक्षपोषणको विषय हो । मैले त्यसवेला भनेको थिएँ यो मतदाताको, विवेकको अग्निपरीक्षा हो । पटक–पटक बहुमत ल्याएर पनि स्थिर र पूर्ण कार्यकालको सरकार दिन नसक्ने नेपाली कांग्रेसलाई रोज्ने कि परिवर्तनको संवाहक र सामाजिक न्यायको पक्षपोषण गर्ने वामगठबन्धनलाई रोज्ने ?

दोस्रो, जब यी दुई वाम पार्टीले एकीकरण गरे त्यसलाई सैद्धान्तीकरण गर्दै यो पंक्तिकारले मार्क्सवाद–लेनिनवादको जड कार्यान्वयन गर्दा पोलपोट र गोन्जालोको जस्तो पतन हुन्थ्यो भने त्यसको मलुवा–कार्यान्वयन हुँदा पश्चिम बंगालको जस्तो दुर्दशा हुन्थ्यो । तर, ओली र प्रचण्डले नेपालको ठोस वस्तुस्थितिको ठोस विश्लेषण गरी सही मात्रामा त्यसको प्रयोग गर्दा यो सफलता आर्जन भएको होसम्म भनेँ । यसलाई पुष्टि गर्न मानव शरीरमा किडनी प्रत्यारोपण गर्दा शरीरको सबै मेटाबोलिजम मिलाएर गर्दा शरीरले त्यसलाई सहजै ग्रहण गर्ने र मिलेन भने फ्याँक्ने उपमासम्म दिएँ । तर, अहिले पछाडि फर्केर हेर्दा मेरा यी दुवै आकलन र दाबी गलत साबित भए । हो, मोहभंगको त्यही अवस्थामा म यहाँ आफ्ना विचारहरू राख्न अघि सरेको छु ।

पृष्ठभूमि : एसियाकै तेस्रो ठूलो र दक्षिण एसियाकै सबैभन्दा ठूलो कम्युनिस्ट पार्टीको अध्यक्षबाट केपी ओली एमालेको पनि एउटा गुटको अध्यक्षमा झरे र संसद्मा सुविधाजनक मात्र होइन, दुईतिहाइ नजिकको बहुमत पाएका र एक समय नेपाली कांग्रेसबाहेक संसद्मा रहेका सबै राजनीतिक दलको विश्वासको मत पाएका उनी तीन वर्षमै दुई सय ७१ सदस्यीय प्रतिनिधिसभासँग विश्वासको मत माग्दा ९३ मतमा खुम्चिए । अझ विडम्बनाको कुरा त के भने उनको आफ्नै दलका २८ सांसदले मतदान बहिष्कार गरेर उनलाई यो हविगतमा पुर्‍याए । तर, पनि अचम्म त केमा छ भने राजनीतिमा यति ठूलो पतनका बाबजद उनमा आत्मनिरीक्षण र आत्मचिन्तनको भाव देखिँदैन । अझ पनि संख्याको खेलमा रुमल्लिने र खेलोफड्को गरेर पुनः अल्पमतको भए पनि सरकार चलाउने छुद्दे मरेको छैन ।

घमन्डको घोडा : पछाडि फर्केर हेर्दा प्रधानमन्त्री ओलीलाई आफ्नो दुईतिहाइनजिकको बहुमत नपचेजस्तो देखिन्छ । पार्टीको जितलाई उनले नितान्त आफ्नो व्यक्तिगत जित भन्ठाने । त्यतिमात्र नभई उनले पार्टीलाई फगत आफूलाई सत्तामा पुग्ने भर्‍याङ भन्ठाने । जुन ढंगले पार्टीसँग राज्यसञ्चालनमा नीतिगत पृष्ठपोषण लिनु पर्ने हो, जुन ढंगले पार्टीका अर्का अध्यक्ष र वरिष्ठ नेताहरूको अभिरुचि व्यवस्थापन गर्नुपर्ने हो र सरकार सञ्चालनका दौरान प्राप्त हुने अवसरको वितरणमा जस्तो विवेक पुर्‍याउनुपर्ने हो ती सबैमा गम्भीर ढंगले चुके । नेपालमा विगतमा पनि पार्टी सरकारमा गएका वेला पार्टी र सरकारको सम्बन्ध व्यवस्थापन गर्न नसक्दा अन्य पार्टी मात्र होइन आफ्नै पार्टीका सरकारहरू जसरी ढले त्यसबाट सबक सिक्नुको सट्टा त्यही जालमा उनी फसे । वास्तवमा उनी घमन्डको घोडामा सवार भएर जालझेलको सम्बल बोकेर यसरी अगाडि बढे कि त्यो दुर्घटना हुनु अवश्यम्भावी थियो । र भयो पनि त्यही ।

नेपाल–खनालको निर्णयलाई कसैले अराजकता भन्ला वा कसैले राजीनामा गर्दा पद जाने लोभ राखेर कायरता प्रदर्शन गरेको भन्ला, तर यो पार्टी अध्यक्षलाई उनीहरूले दिएको अन्तिम वार्निङ बेल हो ।

एमालेबाटै असहयोग : मलाई लाग्थ्यो, प्रधानमन्त्री ओलीसँग वाक्पटुता र तिकडमबाजीसँगै बुद्धि पनि होला । तर, उनले आफ्नै पार्टी एमालेलाई जसरी गिजोले त्यो हेर्दा उनमा त्यसकै अभाव देखियो । पुराना कुरा छाडौँ । सर्वोच्च अदालतको २३ फागुनको मागमा भएको फैसलाले जब एमाले ब्युँतियो त्यसयताको घटनाक्रमलाई हेरौँ । ब्युँतिएको एमालेको केन्द्रीय कमिटीमा उनकै सुविधाजनक बहुमत थियो । उनले माधव नेपाल–झलनाथ समूहलाई बैठकमै नडाकी उनीहरूलाई पन्छाएर २८ फागुनयता जे–जे निर्णय गरे त्यो उनीहरूलाई सामेल गराएर पनि गर्न सक्थे । हद्द हुन्थ्यो एक–दुईवटा उनीहरूका मागलाईसमेत निर्णयमा सामेल गर्नुपथ्र्याे होला । अति भए विगतको अभ्यासजस्तै असहमत पक्षले नोट अफ डिसेन्टसम्म लेख्थ्यो होला । खेला खत्तम । पार्टी त एकढिक्का बस्थ्यो । तर, यहाँ पनि उनको अहं र मैमत्तापन हाबी भयो र उनको समूहमा दुनियाँले थोरै भए पनि आस गरेका नेताहरूमा उनको यो नाजायज हरकतलाई रोक्ने पित्को पनि हिम्मत देखिएन । ती नितान्त निरीह साबित भए । यसको परिणाम जे आयो त्यो दुनियाँसामु छ । अरू कुरा छाडेर अंकगणितकै कुरा गरौँ । अहिले उनको पक्षले पाएको ९३ मतमा माधव–झलनाथको २८ जोड्दा १२१ हुन्थ्यो र त्यो एक ठाउँमा आउँदा तटस्थ बसेको महन्थ–महतोको १५ मत पनि उनैतिर खनिन्थ्यो र २७१ मा १३६ मत पाएर उनको सरकार जोगिन्थ्यो ।

किन बहिष्कार : नेकपा बनाउन सबैभन्दा बढी रगत–पसिना बगाएका विरलै नेतामा पर्छन् माधव नेपाल । जुनवेला झापा आन्दोलनबाट भागेर ओली रौतहट पुगे र ठीक त्यसैवेला नेपाल माले बनाउन तल्लिन थिए । साँच्चै भन्ने हो भने उनी र सिपी मैनालीले नेकपा माले बनाएर झापा विद्रोहलाई जुन राजनीतिक कलेवर दिए त्यसो नभएको भए त्यो आन्दोलन हत्याराहरूको समूहमा दरिन्थ्यो । अहिले जुन जेल बसाइको बखान गरेर कामचलाउ प्रधानमन्त्री ओली थाक्दैनन् र जसको लाभांश उनले यतिन्जेल खाए त्यो परिस्थिति आउँदै आउँदैनथ्यो ।

विपक्षी गठबन्धनको सरकार बनोस् वा ओलीको अल्पमतको सरकार दुवै अवस्थामा मुलुक अर्ली एलेक्सनमा जान्छ ।

हो, यहीँनेर प्रश्न उठ्छ आफूले निर्माण गरेर सम्पूर्ण राजनीतिक जीवन त्यही पार्टीमा बिताएका माधव नेपाल र झलनाथ खनालहरू त्यही पार्टीको ह्विप उल्लंघन गर्नेजस्तो अप्रिय निर्णयमा कसरी पुगे ? उनीहरूको यो निर्णयलाई पनि कसैले अराजकता भन्ला वा कसैले राजीनामा गर्दा पद जाने लोभ राखेर कायरता प्रदर्शन गरेको भन्ला । तर, मेरो विचारमा यो पार्टी अध्यक्षलाई उनीहरूले दिएको अन्तिम वार्निङ बेल हो । यहीबीच उनीहरूको जायज मागको सम्मानजनक ढंगले सम्बोधन भएन भने बहिष्कारको युक्ति स्वतः राजीनामाको तार्किक निष्कर्षमा पुग्न सक्छ । अहिले आलटाल गरेर समय गुजार्ने र विपक्षीलाई ७६ (२) बमोजिमको सरकार बन्न रोकेर आफूले ७६ (३) बमोजिम संसद्मा सबैभन्दा ठूलो हैसियतमा अल्पमतको सरकार बनाउने र त्यसपछि दलको ह्विप उल्लंघन गरेको आरोपित गरेर निष्कासित गर्ने ओलीको नियतबारे हामी त जानकार छौँ भने भुक्तभोगीहरू अब पनि झुक्किएलान् भन्ने विश्वास छैन ।

अबको परिदृश्य : नचाहँदा नचाहँदै पनि नेपाली राजनीति संसदीय अंकगणितको अन्ध सुरुङमा पस्यो । कांग्रेस–माओवादीको साथमा जसपाको भट्टराई–उपेन्द्र रहँदा पनि विपक्षी गठबन्धनले बहुमत पुर्‍याउन सक्ने अवस्था छैन । फेरि जनता समाजवादी पार्टीका ट्रजन हर्सहरूले छिमेकीको इसारामा थप कत्रो भ्वाङ पार्ने हुन् त्यसको अहिले नै आकलन गर्नसमेत कठिन छ । यस्तोमा  नेपाल–खनाल पक्षले संसद्बाट राजीनामा गरे भने मात्र संसदीय आँकडा पुग्छ अन्यथा नेपाली राजनीति पुनः चिसै पानीले नुहाउने ठाउँमा पुग्छ । राजनीतिलाई सम्भावनाको खेल भन्छन् । हेरौँ त्यसवेलासम्म संसदीय अंकगणितको ऊँट कुन कोल्टे बस्छ ? तर, पनि के कुरा सहजै अनुमान गर्न सकिन्छ भने चाहे विपक्षी गठबन्धनको सरकार बनोस् वा ओलीको अल्पमतको सरकार दुवै अवस्थामा मुलुक अर्ली एलेक्सनमा त जान्छ नै ।

यतिवेला राजनीतिक दलहरूले के मनन गर्न जरुरी छ भने हामीले अपनाएको निर्वाचन पद्धतिले दिने भनेकै प्रायः खण्डित जनादेश हो । यस्तोमा संसदीय अंकगणितको भद्दा एवं अन्ध सुरुङमा पस्नबाट नेलाली राजनीतिलाई उद्धार गर्ने हो राजनीतिक दलहरूले निर्वाचनपूर्व नै गठबन्धन बनाउन र त्यसलाई क्षणिक लाभ हानिभन्दा पनि स्थायी स्वरूप दिने अभ्यास गर्ने किसिमको राजनीति संस्कृति विकास गर्नैपर्छ । त्यसो भए मात्र नेपाली संसदीय राजनीतिको हिसाब–किताब र अंकगणित अनुमानयोग्य हुन्छ । होइन भने यसको हिसाब–किताब ठ्याक्कै मिलाउन त रत्नपार्कको सुगाले मात्र सक्ला । नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार