मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

एक सय बेडको कोभिड-१९ सेवा केन्द्र खोल्ने पूर्वमन्त्री मोहन बस्नेतको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाली कांग्रेसका केन्दीय सदस्य तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकमा कोभिड-१९ सेवा केन्द्र स्थापना गर्ने घोषणा गरेका छन्। बस्नेतले जिल्लामा संक्रमणको दर तीव्र रुपमा बढेकाले स्थानीयलाई उपचारमा सहज होस् भन्ने उद्देश्यले एक सय बेडको कोभिड-१९ सेवा केन्द्र एक महिनाभित्र स्थापना गर्ने घोषणा गरेका हुन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँँदै सेवा केन्द्रमा अक्सिजन, भेन्टिलेटरसम्मको व्यवस्था गरिने उनले बताए।कोभिड-१९ रोग नियन्त्रणमा आएपछि उक्त सेवा केन्द्र सरुवा रोग नियन्त्रण केन्द्रको रुपमा रुपान्तरण गर्ने बस्नेतको योजना छ ।

निकट भविष्यमा नै उनले कोरोना परीक्षण गर्ने पीसीआर मेसिनसमेत उपलब्ध गराउने बताए। यसअघि पनि पीसीआर मेसिन राख्ने बताएका बस्नेतले राजनीतिक खिचातानीका कारण राख्न असमर्थ भएको बताएका थिए।

यसैगरी कोरोना संक्रमण र अन्य रोग लागेका बिरामीलाई अस्पताल पुर्याउन बस्नेतले जीप उपलब्ध गराउने बताए। जुन गाडी पछि आफूले फिर्ता नलिने बरु सञ्चालक समिति बनाएर त्यसलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न सक्ने बनाउने उनले जानकारी दिए।

कोभिड १९ को महामारीलाई ध्यानमा राख्दै १ वर्षसम्म सवारी चालकको तलब भत्ता, गाडीको फ्युल (डिजेल) समेतको व्यवस्था व्यक्तिगत रुपमा आफैले गर्ने बस्नेतले प्रतिबद्धता जनाए। यथाशीघ्र गाडी हस्तान्तरण गरेर सेवा सुरु गर्ने बस्नेतले जानकारी दिए ।

गत सालको कोरोना संक्रमणमा गाउँ गाउँ पुगेर स्थानीय, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई बस्नेतले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए। साथै जिल्लामा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीको बिमासमेत गराएका थिए।

गत साल कोरोना संक्रमणबाट पहिलो मृत्यु भएकी सिन्धुपाल्चोक राम्चेकी साबीत्री चालिसेको दुधे बालकलाई पौष्टिक आहारा खुवाउन भन्दै बस्नेतले एक लाख हस्तान्तरण गरेका थिए । उक्त बच्चालाई १२ कक्षासम्म निशुल्क पढाउने जिम्मेवारी पनि उनले लिएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया