कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे

प्रदेश सरकारले विभिन्न जिल्लामा रहेका १४ वटा अस्पतालको स्तरोन्नति गरिरहेको भनाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

लमजुङ, ३० कात्तिक : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ । आज लमजुङको बेँसीसहर नगरपालिका–८ स्थित प्रदेश अस्पतालको चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकारले अस्पतालको स्तरोन्नति, जनशक्ति व्यवस्थापन र सेवा विस्तारलाई प्राथमिकता दिएको बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेका अनुसार प्रदेश सरकारले विभिन्न जिल्लामा रहेका १४ वटा अस्पतालको स्तरोन्नति गरिरहेको छ । प्रदेशका अस्पतालमा उपलब्ध शय्या सङ्ख्या पहिलेको २५० बाट बढाएर हाल ८५० पुर्‍याइएको जनाउँदै उहाँले  सोहीअनुसार स्वास्थ्यकर्मी तथा अन्य जनशक्ति पनि थप गर्दै लगिएको उहाँले बताउनुभयो । आवश्यकताअनुसार करारमा कर्मचारी नियुक्त गरी सेवा विस्तार भइरहेको उल्लेख गर्दै उहाँले पहिलेको तुलनामा अहिले धेरै नागरिकले स्वास्थ्य सेवा प्राप्त गरिरहेको बताउनुभयो ।

प्रदेश अस्पताल बेँसीसहरले धेरै नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिरहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले अस्पतालमा सिटी स्क्यान सेवा आवश्यक रहेको उल्लेख गर्नुभयो । सिटी स्क्यानलगायत अत्याधुनिक स्वास्थ्य उपकरण उपलब्ध गराउने विषयमा प्रदेश सरकारले ध्यान दिने उहाँको भनाइ छ ।

आगामी बजेटमा सिटी स्क्यान सेवा विस्तारका लागि प्राथमिकता निर्धारण गर्दा लमजुङ अस्पताल अग्रपङ्तिमा राखिने मुख्यमन्त्री पाण्डेले प्रतिबद्धता जनाउनुभयो । आगामी एक वर्षभित्र प्रदेश सरकारले पुन: बजेट निर्माण गर्ने अवसर पाउने भएकाले सो समयमा अस्पतालको आवश्यकता र नागरिकको चापलाई ध्यानमा राखेर आवश्यक बजेट व्यवस्थापनका लागि पहल गरिने उहाँले बताउनुभयो ।

प्रदेशमा डायलाइसिस सेवा लिन प्रतीक्षामा रहेका ८२१ जनाको सङ्ख्यालाई शून्यमा झार्ने लक्ष्यसहित प्रदेश सरकारले काम गरिरहेको उहाँले बताउनुभयो । मिर्गौलाका बिरामीले समयमै उपचार सेवा पाउने व्यवस्था मिलाउन डायलाइसिस सेवा विस्तारलाई प्राथमिकतामा राखिएको उहाँको भनाइ थियो ।

स्वास्थ्य सेवाको पहुँच सहरी तथा सदरमुकाम क्षेत्रमा मात्र सीमित नराखी ग्रामीण क्षेत्रका नागरिकसम्म पुर्‍याउने प्रदेश सरकारको योजना रहेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । करारमा नियुक्त स्वास्थ्यकर्मीलाई आवश्यकताअनुसार दुर्गम तथा ग्रामीण क्षेत्रमा परिचालन गरी गाउँगाउँका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने प्रयास भइरहेको उहाँले उल्लेख गर्नुभयो ।

प्रदेशको सीमित बजेट र न्यून आन्तरिक आम्दानीका कारण अपेक्षाअनुसार विकास निर्माण तथा स्वास्थ्य क्षेत्रको स्तरोन्नति गर्न कठिनाइ भइरहेको मुख्यमन्त्री पाण्डेको भनाइ थियो । प्रदेशको विकासका लागि ठूलो बजेट आवश्यक पर्ने भए पनि कर तथा अन्य स्रोतबाट अपेक्षित आम्दानी सङ्कलन हुन नसक्दा विकासका काममा चुनौती देखिएको उहाँले बताउनुभयो । उहाँले गण्डकी प्रदेशका लमजुङ, दमौली र स्याङ्जाका अस्पतालमा भवन निर्माण तथा स्तरोन्नति गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

यी तीन वटै अस्पतालको भवन निर्माणका लागि करिब रु दुई अर्ब रकम आवश्यक पर्ने भए पनि प्रदेश सरकारले एकै पटक उक्त बजेट विनियोजन गर्न नसक्ने मुख्यमन्त्री पाण्डेको भनाइ छ । लमजुङ अस्पतालको भवन निर्माणका लागि गत वर्ष रु ६९ करोडको योजना अघि सारिएको भन्दै विभिन्न कारणले बजेट विनियोजन हुन नसकेको उहाँले जानकारी दिनुभयो । चालु अवस्थामा कूल योजनाको २० प्रतिशत रकम विनियोजन गर्ने प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको उहाँले बताउनुभयो ।

प्रदेश सरकारले स्थानीय तहमा अस्पताल निर्माण तथा सञ्चालन गरेर नागरिकलाई थप स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले आगामी दिनमा स्वास्थ्य सेवालाई थप प्रभावकारी र पहुँचयोग्य बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थानीय निर्वाचन गैरदलीय बनाउन कुलमान घिसिङको माग
२०८३ कार्तिक ३०, सोमबार
भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ : मख्यमन्त्री मगर
२०८३ कार्तिक ३०, सोमबार
नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे
२०८३ कार्तिक ३०, सोमबार
सुत्केरीको मृत्युपछि अस्पतालमा विवाद, प्रदर्शनका क्रममा पाँच जना प्रहरी नियन्त्रणमा
२०८३ कार्तिक ३०, सोमबार
रास्वपाको आन्तरिक विवादमा एमालेले हस्तक्षेप गर्दैन : योगेश भट्टराई
२०८३ कार्तिक ३०, सोमबार
७७ वटै जिल्लाबाट स्थानीय तहका सम्भावित उम्मेदवारको नाम सङ्कलन गर्दै जय नेपाल पार्टी
२०८३ कार्तिक ३०, सोमबार
न्युजिल्यान्डको सेवा क्षेत्रमा साढे तीन वर्षयताकै उच्च वृद्धि, अर्थतन्त्रमा सुधारको सङ्केत
२०८३ कार्तिक ३०, सोमबार