असार २५, २०८२ बुधबार July 9, 2025

ओली ‘अविजित’ छन् – सुजित महत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिनिधिसभा विघटन गरेर चुनाव गराउन चुमचुम गरिरहेका प्रधानमन्त्री केपी ओलीले निर्धारित वैशाख २० र २७ गते चुनाव गराउन त पाएनन्, वैशाख २७ मै एउटा मतदानचाहिँ गराए– प्रतिनिधिसभामा उनले राखेको विश्वासको मतदान । पुनस्र्थापित प्रतिनिधिसभासँग प्रधानमन्त्री ओली वैरभाव राखिरहेका थिए, राखिरहेका छन् र राखी नै रहनेछन् । विश्वासको मत लिने उनको नाटक त वैरी प्रतिनिधिसभालाई सिध्याउने उनको प्लान ‘बी’ अन्तर्गत थियो । यसैले त पुनस्र्थापित प्रतिनिधिसभामा पहिलोचोटि सोमबार उपस्थित भएका उनले दिने भए मलाई विश्वासको मत देओ, नत्र यो प्रतिनिधिसभा रहँदैन भन्ने भावको अभिव्यक्ति दिए । एकैछिनपछि विश्वासको मतका लागि भएको मतदानमा ओली पराजित भए– ९३ विरुद्ध १२४ मतले । अंकमा उनी हारे । अंकको हारमा उनी सत्ताविमुख नै हुने भन्ठानेर उनीप्रति असन्तुष्ट जमातले सामाजिक सञ्जालमा टीकाटिप्पणी पनि गरे । अहंकार र दम्भको धरहरा ढलेको पनि भनियो । कुरो त्यस्तो छैन । सत्ताको क्रिजमा बलिङलाई डल्ला फ्याँक्ने भन्न रुचाउने ब्याट्सम्यान ओली अविजित छन् । विपक्षीले बिहीबार समय समाप्त हुने आफ्नो इनिङमा बहुमतको लक्ष्य पूरा गरे मात्र ओली आउट हुने हुन्, जसको सम्भावना यो पंक्ति लेख्दासम्म कम छ ।

प्रधानमन्त्री कोरोनासँग चित खाइसकेका छन् । उनको व्यवस्थापकीय कमजोरी मात्र होइन, गैरजिम्मेवार, गैरजवाफदेही, लापरवाहीका कारण मुलुक हारिरहेको छ । नागरिक मरेकामर्‍यै छन्, कोरोनासँग मुलुक हारेकोहार्‍यै छ । र, यो हारमा उनको भूमिका अभूतपूर्व छ ।

जित–हारको कुरा गर्दा शासकीय जिम्मेवारीको कुरा गर्ने हो भने उनी ‘चारो खानो चित’ भइसकेकै हुन् । सेवाप्रवाह, सुशासनको अपेक्षा अब पनि उनीबाट गर्नेले बालुवाबाट तेल निस्किन्छ भनेर पेल्न थाले हुन्छ । नागरिक झुक्याउने हर्कत हुन सक्लान्– तीन सय नौ पालिकामा अस्पताल शिलान्यासजस्तै । तामझामका साथ गरिएका शिलान्यासका खाल्टा कतिपय ठाउँमा पुरिन थालिसके । वा, लामो समयदेखि सुस्त गतिमै सही, निर्माण हुँदै आएका योजनाको उद्घाटन गरी एकल जस लिन पोल्टो थाप्ने बानी । झन्डै तीन दशकदेखि निर्माण हुँदै आएको मेलम्ची, जसको सुरुङको ‘ब्रेक थ्रु’ भई निर्माणको अन्तिम चरणमा पुग्दा ओली भर्खरै प्रधानमन्त्री भएका थिए । पञ्चायतकालको सुरुमै शिलान्यास भएको महेन्द्र राजमार्गको निर्माण सम्पन्न हुँदा पञ्चायत ढलिसकेको थियो । तत्कालीन गृहमन्त्री शेरबहादुर देउवाले आफ्नो पहुँच प्रयोग गरी कर्णालीपारिको भागमा पुल निर्माणमा ठूलो बजेट विनियोजन गराएपछि बल्ल सुदूरपश्चिम निर्बाध यातायातको सञ्जालमा जोडिएको थियो । धन्न, ओलीअघि कुनै त्यस्तो ‘राजनेता’ पैदा भएको थिएन, जसले आफूले उद्घाटन गरेका योजनाको एकल जस लिन नागरिक–मिडियासमक्ष पोल्टो थापोस् । अन्यथा, उनी विकास निर्माणका ठुल्ठूला योजनाको सपना देखाएर सिन्को भाँच्न नसक्ने पराजित पात्र नै हुन् ।

महामारीको रूपमा आएको कोरोना भाइरसलाई त उनले लड्नलायक दुस्मन नै ठानेनन् । युद्धमा दुस्मनलाई ‘त्यसले के नाप्छ र, त्यसलाई त फु गरेर ढाल्दिन्छु’ भनेर गफ हाँक्दै हिँड्ने, चौतारोमा खैनी मोल्दै ठुल्ठूला डिङ हाक्ने पक्षको युद्धमा जुन हविगत हुन्छ, नेपालीको नियति त्यही भइरहेको छ । बिल्कुलै पहुँच नहुने विपन्नहरू अस्पतालमा भर्ना नपाएर मरे÷मरिरहेका छन्, अस्पतालसम्म पुगेर भर्ना हुने पहुँच भएका पनि आइसियू÷भेन्टिलेटर नपाएर मरे÷मरिरहेका छन्, अब पहुँच भएको मध्यमवर्गीयहरू बेड नपाएर मर्दै छन् । अझ कहालीलाग्दो त अक्सिजन नपाएर बिरामी मरिरहेका छन् । दिल्लीमा निजी अस्पतालकै खर्च व्यहोर्न सक्ने मध्यमवर्गीय कतिपयले अक्सिजन नपाएरै ज्यान गुमाउनुपर्‍यो । पाको उमेरका मात्र होइन, कतिपय युवाले समेत अक्सिजन नपाएर ज्यान गुमाउनुपरेको छ । त्यस्तै, कहालीलाग्दो चरणमा महामारी प्रवेश गरिसकेको छ ।

स्वयं प्रधानमन्त्रीका आफन्त/आसेपासे/भक्तजन आदि, जो ओलीको बोलीमा लोली मिलाउँदै कोरोना–सोरोना केही होइन भन्दै हिँडे, बेसारपानी वा अम्बाका पात उमालेर गार्गल गर्नु कोरोना निवारक हो भन्ने कथ्यलाई प्रामाणिक तथ्य हैन भन्नेलाई नै खड्ग उज्याउनेजति त्यही उपचार विधिले निको भएको भए अर्काे कुरा, नत्र प्रधानमन्त्री कोरोनासँग चित खाइसकेका छन् । उनको व्यवस्थापकीय कमजोरी मात्र होइन, गैरजिम्मेवार, गैरजवाफदेही, लापरवाहीका कारण मुलुक हारिरहेको छ । नागरिक मरेकोम¥यै छन्, कोरोनासँग मुलुक हारेकोहार्‍यै छ । र, यो हारमा उनको भूमिका अभूतपूर्व छ । यस्तो गम्भीर संकटको वेला पनि नागरिकलाई संकटको गाम्भीर्य बुझाउँदै सुरक्षा सतर्कता अपनाउन आह्वान–अपिल गर्न, नियन्त्रणमा देखिने गरी पहलकदमी लिन उनका अघिल्तिर उनकै अहंकार तेर्सिएको छ । कोरोना–सोरोना केही होइन, हाछ्युँ गर्ने फाल्दिने भने, हिमाली चिसो हावा खाएका नेपालीमा अन्त कतै नभएको रोगप्रतिरोधी क्षमता भएको निचोड प्रस्तुत गर्दिए । ‘कसले भन्यो रोगप्रतिरोधी क्षमता छ’ भनेर सोध्ने सांसदलाई ‘सुन्नुभएन, मैले भनेको हुँ, मैले’ भन्दै दर्जनौँ सांसदको ढ्याप–ढ्याप–ढ्याप र हिहिहि खाइसकेका प्रधानमन्त्रीले अब कोरोना खतरा छ, कोभिडले ज्यान जान सक्छ भन्दै नागरिकलाई कसरी आह्वान गर्नु, कसरी पहलकदमी लिनु ?

दुनियाँ जाओस् भड्खालोमा, सत्तामा रहिरहनु नै विजय हो, अरू सब तपसिलका भन्ने हो भने ओली आउट भएका छैनन्, अविजित छन् । विश्वास मतको अंकगणितमै ‘क्लिन बोल्ड’ भए त के भो, रन लिन क्रिजमा दौडिरहेकै छन् । यो पंक्ति लेख्दासम्म उनी ‘रनआउट’ हुने निश्चित छैन । सत्तामा कायम रहनु नै विजेता हुने भएपछि उनी अहिले पनि विजेता हुन् । ९३ विरुद्ध १२४ ले विश्वासको मत हारेर के भयो ? वैकल्पिक सरकारका लागि बहुमत पुगिहाल्ने देखिएको छैन । ओलीले प्रतिनिधिसभा विघटन गरेदेखि नै चाहेको चुनाव हो । विश्वासको मत हारेपछि मुलुक त्यसैतर्फ गएको लक्षण छ । उनी हारेपछि राष्ट्रपतिले संविधानको धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको सरकार गठनको आह्वान गरिन । भ्यागुताको धार्नी पुग्ने स्पष्ट छैन । पुग्ने भइदिएको भए यो धाराअनुसार सरकार बनाउने दाबी गर्न आह्वान सायद हुने पनि थिएन । ओली नेतृत्वकै सरकार यही धाराअनुसार बनेको कारण देखाई सोझै अर्को धारा ७६ (३) तिर जम्प गरिन्थ्यो, ओलीलाई नै सबैभन्दा ठूलो दलको हैसियतमा प्रधानमन्त्री हुने गरी ।

केपी ओलीको सरकार कहिलेसम्म रहन्छ ? भारतीय दूतावाससँग नजिक, अझ दिल्लीसम्मै पहुँच भएका भनिएका एकजना राजनीतिकर्मी भन्छन्, जहिलेसम्म भारत उनको दाहिना रहन्छ । भारत कहिलेसम्म दाहिना रहन्छ ? भन्छन्, जबसम्म उनले नेपालमा कम्युनिस्ट पार्टी फुटाइरहन्छन् ।

हाम्रोमा राजनीतिक संकट वा राजनीति गाँठो पर्‍या वेला विश्लेषण गर्नु गाह्रो काम हो । किनकि, मुलुकको राजनीति हाम्रै नेताकै हातमा मात्र छैन । वाम गठबन्धन, आमचुनाव, गठबन्धनको जित, एमाले–माके एकीकरण आदि राजनीतिक खेलमा मैदानबाहिर दर्शकदिर्घामै रहेर ट्वाँ पर्न बाध्य विदेशी शक्ति, ‘रअ’ प्रमुख सामन्त गोयलको राजनीतिक भेटघाटसँगै तीव्र भएको राजनीतिक खेलमा एकैचोटि सेन्टरमा आइपुगेको छ, त्यो पनि ‘प्लेमेकर’को रूपमा । नत्र ओलीसँग ३६ को आँकडामा रहेका अनि आन्दोलनमा मधेसीलाई उत्तेजित पार्नदेखि भोट पाउन ओलीप्रति नफरतको व्यापार गरिआएको जनता समाजवादी पार्टीको महन्थ–महतो समूह ‘तटस्थ’ रहेर ओलीलाई सघाउन हाम्फाल्ने थिएन । प्रतिनिधिसभा पुनस्र्थापना भएपछि एकथरी कांग्रेसी दुवै हातमा लड्डु भनेर बेकारमा हौसिएका थिए । खासमा दुवै हातमा लड्डु त जसपासँगै थियो । विपक्षी गठबन्धनमा मिसिएर वा ओलीलाई विश्वासको मत दिएर सत्ता साझेदारी गर्ने विकल्प भएको, दुवै हातमा लड्डु । तर, महन्थ–महतो समूह तटस्थ बसेर ‘त्याग’को राजनीति गर्नुका पछाडि यथाशीघ्र चुनावमै लैजाने खेल योजनाबाहेक अरू देखिएको छैन ।

कम्युनिस्ट एकता भताभुंग भइसक्ता पनि दक्षिणको शक्तिलाई एकताको भूतले त्यसै–त्यसै तर्साएकोतर्सायै छ । कम्युनिस्ट भएका कारण उत्तरतिर खुसुरफुसुर हुने आशंकाले ती सन्त्रस्त छन् नै, सत्ता बनाउने–गिराउने खेल पनि नहुने देखियो । यसैले पनि चाँडै चुनाव गरेर त्यस्ता आशंकाबाट तिनले मुक्ति चाहेका छन् । चाँडै चुनाव हुँदा तिनले चीननजिक देख्न थालेका प्रचण्डलाई झन् कमजोर बनाउने योजना पनि ‘फतह’ हुने देखेका छन् । पार्टीमै चिरा पारिसकेका केपी ओलीको प्रदर्शन पनि उति उम्दा नहोला । घात–अन्तर्घातबाट पनि गुज्रिनु नै पर्नेछ । प्रतिपक्षी भूमिकाको आभास दिन पूरै विफल शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले सरकारको फितलो प्रदर्शन, सत्तारूढ पार्टीको कलह, टुटफुटको भरपूर फाइदा उठाउने सम्भावना देखिइसकेको छैन । यसको नतिजा हो, गठबन्धन सरकारको अपरिहार्यता । सबैभन्दा ठूलो दल कांग्रेस बनोस् वा एमाले, चलखेल रुचाउने शक्तिका लागि त्यति मतलबको कुरा भएन । सत्ताको साँचो बन्ने गरी जसपाको सम्मानजनक सिट आइदिए पुग्छ । यत्ति भएपछि नेपालमा चाहेको वेला सरकार बनाउने, गिराउने खेल चलिरहन्छ ।

केपी ओलीको सरकार कहिलेसम्म रहन्छ ? भारतीय दूतावाससँग नजिक, अझ दिल्लीसम्मै पहुँच भएका भनिएका एकजना राजनीतिकर्मी भन्छन्, जहिलेसम्म भारत उनको दाहिना रहन्छ । भारत कहिलेसम्म दाहिना रहन्छ ? भन्छन्, जबसम्म उनले नेपालमा कम्युनिस्ट पार्टी फुटाइरहन्छन् । ओलीकै कारण खेलको प्लेमेकरबाट एकैचोटि दर्शकदिर्घामा पुगेको शक्ति ओलीकै कारण पुनश्चः मैदानमा स्ट्राइकमा छ, जसको योजनामा खेल अघि बढाइँदै छ । ‘मलाई त महाधिवेशनमा पुनः अध्यक्ष हुन केन्द्रित हुनु भनेका छन्,’ भन्दै बाह्रौँ खेलाडीजस्तो निष्क्रिय देखिएका देउवा अहिले मैदानमा मज्जाले दौडिरहेका छन्, दौडिनुको पहेली बिस्तारै खुल्दै जाने नै छ । तर, माधव नेपाल समूहका सांसदहरूले मैदानबाटै ‘वाकआउट’ नगरी उनले ओलीलाई रनआउट गर्दै आफैँले ब्याट सम्हाल्न पाउनेछैनन् । यसैले त ओली ‘अविजित’ छन् । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार