असार २६, २०८२ बिहिबार July 10, 2025

भाषिक-सांस्कृतिक बढ्दाे अतिक्रमण र मातृभाषाहरुको भविष्य – लोकनारायण सुवेदी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बिश्व मानव समाजको कुनै पनि मातृभाषा वास्तवमा माता–पिताबाट प्राप्त भाषा नै हो । त्यसका जरा हुन्छन्, स्मृतिहरु र विम्ब पनि हुन्छन् । मातृभाषाले एउटा बेग्लै प्रकारको सांस्कृतिक आचरण प्रदान गर्दछ । तर अरु कुनै आयातित भाषाबाट त्यस्तो सम्भव हुँदैन । मातृभाषासँग केही यस्ता तत्व जोडिएका हुन्छन् जसले गर्दा यसको सम्प्रेषणीयता त्यो भाषा बोल्नेहरुका लागि अधिक मार्मिक हुन्छ । यो प्रश्न इतिहास तथा संस्कृतिको बहनसँग पनि सम्बद्ध छ, जुन कुरा सम्प्रेषणको क्रममा निर्मित हुन्छ ।

यद्यपि संस्कृतिको कार्य विश्वलाई केवल विम्बहरुमा व्यक्त गर्नु मात्रै होइन । बरु ती विम्बको माध्यमबाट संसारलाई नया दृष्टिले हेर्ने तरिका विकसित गर्नु अझ बढी हो । तर औपनिवेशिक दबाबहरुले गर्दा विश्वलाई यस्ता भाषामा हेर्न र व्याख्या गर्न विवश पारिएको थियो जुन अरुकै भाषा रहेका थिए । त्यसमा मानिसहरुका वास्तविक सपना आउन पनि सक्तैनथे । साम्राज्यवादले सबैभन्दा पहिला सांस्कृतिक धरातलमा आक्रमण गर्ने गर्दछ । उसले अन्य भाषालाई अवमूल्यन गर्न थाल्दछ । स्थानीय जनताले बोल्ने भाषालाई हीन भाषा भन्ने गर्दछ । त्यस क्रममा मानिसहरु आफ्नै मातृभाषा बोल्न पनि हिच्किचाउन थाल्दछन् र विश्वका अपरिचित भाषाको प्रभुत्वको महिमामण्डन गर्न थाल्दछन् । त्यस्तै भाषामा अभिव्यक्त गर्न थाल्दछन् र त्यस्ता भाषामा बाँधिन पुग्दछन् । अन्ततः यसरी मातृभाषालाई नै परित्याग गर्न थाल्दछन् र अनि आखिरमा गर्वका साथ भन्न थाल्दछन्, ‘हाम्रा बालबच्चालाई त मातृभाषा नै आउँदैन !’

संसारमा हैकम जमाउन चाहने साम्राज्यवादले सबैभन्दा पहिला सांस्कृतिक धरातलमा आक्रमण गर्ने गर्दछ । उसले अन्य भाषालाई अवमूल्यन गर्न थाल्दछ । स्थानीय जनताले बोल्ने भाषालाई हीन भाषा भन्ने गर्दछ ।

हुन पनि मातृभाषामै आफ्ना–आफ्ना उखानटुक्का, लोककथा, सूक्तिहरू आदि हुने गर्दछन् जो मानिसका आफ्ना स्मृतिको धरतीसँग जोडिएका हुन्छन् । त्यसमा किसानको शक्ति रहेको हुन्छ । त्यसमा एउटा बेग्लै बनावट हुन्छ । एउटा विशिष्ट सामाजिक तथा मनोवैज्ञानिक बनावट, जसमा अस्मिताको रचना भएको हुन्छ । जतिबेला पनि कुनै महादेशको पीडाको बयान गरिन्छ भने कुनै पनि सच्चा लेखकले आफ्नो मातृभाषामा जति तीव्रता र तीक्ष्णताका साथ आफ्नो कुरा भन्न सक्तछ, त्यसरी अन्य भाषामा भन्न कदापि सक्तैन । आत्म अन्वेषणको जुन गहिराइ मातृभाषासँग जोडिएको हुन्छ, त्यो अरु भाषासँग हुँदैन । हो, अन्य भाषामा पनि कुरा गर्न या भन्न सकिन्छ तर त्यो मातृभाषामा भनेजस्तो मार्मिकता त्यसमा सम्भव हुँदैन । यो भाषाको वैज्ञानिक तथा साँस्कृतिक तथ्य पनि हो ।

निश्चय नै मातृभाषाबाट आफ्नो परिवेश तथा पर्यावरणको बोध हुने गर्दछ । यो समृद्धीकरणका प्रक्रियामा सुदृढ हुन्छ । यसले विछिन्नताबाट बचाउ गर्ने गर्दछ । मातृभाषाबाट यस्तो मौखिक लय प्रस्तुत हुन्छ जसमा प्रकृति र परिवेशसँग समाजिक संघर्ष पनि प्रकट हुन्छ । त्यसबाट साहित्य र संस्कृतिका सकारात्मक, मानवीय र लोकतान्त्रिक तत्व पनि प्रकट हुन्छन् । आफ्ना संस्कृतिको जरामा गएरै हामीलाई आफ्नो आत्मीयताको अनुभूति हुन्छ । उधारो लिइएको भाषाले सम्पूर्णतः हाम्रा साहित्य र कलाको विकास गर्न सक्तैन । किनभने तिनको चिन्ता र चासो हाम्रो रागात्मकरुपसँग जोडिएकै हुँदैन । यस्तो उधारो भाषाको सत्ताकेन्द्र अन्यत्रै कतै हुन्छ र त्यो मातृभाषाजस्तो जनआकांक्षाको परिपूर्तिको संवाहक हुन पनि सक्तैन । मातृभाषामा धरतीको जुन सुगन्ध हुन्छ, कल्पनाशीलताको जुन पारम्परिक श्रृंखला हुन्छ, त्यो अन्य भाषामा सम्भवै हुँदैन । त्यसमा पनि औपनिवेशिक हिसाबले थोपरिएको भाषामा त बिल्कुलै हुँदै हुँदैन ।

जतिबेला पनि कुनै महादेशको पीडाको बयान गरिन्छ भने कुनै पनि सच्चा लेखकले आफ्नो मातृभाषामा जति तीव्रता र तीक्ष्णताका साथ आफ्नो कुरा भन्न सक्तछ, त्यसरी अन्य भाषामा भन्न कदापि सक्तैन ।

वास्तवमा मातृभाषाहरुले जनताको संघर्ष बोल्दछन् । मातृभाषाको महत्व बुझेको कुनै पनि व्यक्तिलाई थाहा हुन्छ, आन्दोलन, लोकछवि, आत्मविश्वास र परिवर्तनका लागि यसभन्दा राम्रो अर्को कुनै माध्यम हुँदैन । किनभने उसको सरोकार ती भाषासँग हुन्छ, जसलाई त्यहाँका जनताले बोल्ने गर्दछन्, जसको सेवाको लागि उसले कलम उठाएको हुन्छ । यसरी उसले त्यही गीत गाउँछ जुन जनताले चाहेका हुन्छन् । मातृभाषाको माध्यमको अर्थ सोझो जनसरोकारसँग हुन्छ । यस माध्यमबाट सामाजिक तथा राजनीतिक निहितार्थको समेत बोध हुन्छ ।

बसतुतः किनभने मातृभाषाबाटै त्यसको अस्मिताको माध्यमबाट मानिसहरुका वास्तविक आवश्यकतालाई गीत, नृत्य, नाटक, कविताबाट अभिव्यक्ति दिन सकिन्छ र नयाँ चेतनाको आकांक्षालाई वाणी प्रदान गर्न सकिन्छ । श्रमिक वर्ग तथा जनसामान्यलाई मूलतः उनीहरुकै मातृभाषामा राम्रोसँग सम्बोधित तथा सम्प्रेषित गर्न पनि सकिन्छ । मातृभाषामा संरचनात्मक रुपान्तरणको प्रक्रियामा शिक्षा–संस्कृतिको एउटा निर्णायक भूमिका हुन्छ, जुन साम्राज्यवादको आजको नयाँ औपनिवेशिक चरणमा विजयको लागि अत्यावश्यक हुन्छ । शिक्षा र संस्कृतिमा आवश्यक सम्बन्ध हुन्छ र यसले सामाजिक–राजनीतिक–आर्थिक पक्षहरुसँग प्रत्यक्ष सरोकार राख्दछ । त्यसैकारणले त्यहाँ मातृभाषाको प्रभावकारी भूमिका हुन्छ ।

औपनिवेशिकताले आक्रान्त सांस्कृतिक पक्षहरुका लागि मातृभाषाको आवश्यकता हुँदा पनि हुँदैन । तिनले आफ्ना लागि त्यस्तो भाषाको चयन गर्दछन्, जुन भाषाले उनीहरुको वर्गको प्रतिनिधित्व गर्दछ । यस्तो समाजमा मातृभाषा बोल्ने बालबच्चाले समेत दण्ड पाउँदछन् ।

सत्य के हो भने संस्कृति स्वयंमा इतिहासको अभिव्यक्ति र उत्पादन पनि हो । यसको निर्माण प्रकृति तथा मानिसबीचको सम्बन्ध र अन्तर्क्रियामा आश्रित हुन्छ । त्यसैले त्यहाँ मातृभाषाको अन्तरंग प्रवेश हुन्छ । यसरी मातृभाषालाई आधार बनाइयो भने सामुदायिकतामा आबद्ध जनसमुदायले आफ्नो भाषा, साहित्य, कला, स्थापत्य, नृत्य तथा एउटा यस्तो शिक्षा प्रणाली विकसित गर्दछन्, जसले इतिहास र भूगोललाई एउटा पिँढीवाट अर्को पिँढीसम्म पुर्‍याउने गर्दछ । शिक्षा र संस्कृतिले वर्गीय विभेदलाई समाजको आर्थिक आधारमा व्यक्त गर्दछन् । वास्तवमा वर्गीय समाजमा दुई किसिमको शिक्षाका बीच संघर्ष चलिरहेको हुन्छ । यसले वास्तवमा दुई परस्पर विरोधी संस्कृतिको प्रसार गर्दछ र ती दुई परस्पर विरोधी चेतना अर्थात विश्व दृष्टिकोण तथा विचारधाराको बाहक बन्दछ । निश्चितै रुपले औपनिवेशिकताले आक्रान्त सांस्कृतिक पक्षहरुका लागि मातृभाषाको आवश्यकता हुँदा पनि हुँदैन । तिनले आफ्ना लागि त्यस्तो भाषाको चयन गर्दछन्, जुन भाषाले उनीहरुको वर्गको प्रतिनिधित्व गर्दछ । यस्तो समाजमा मातृभाषा बोल्ने बालबच्चाले समेत दण्ड पाउँदछन् भने त्यसको यथार्थ के हो आज बुझिनु र बुझाउनु अत्यावश्यक छ ।

निश्चय नै यसको मूल हो – त्यो सौन्दर्यबोध जुन हाम्रा लोककथा, हाम्रा सपना, हाम्रो ज्ञान–विज्ञान, हाम्रो भविष्यको कामना आदिमा लुकेको छ । त्यसको सौन्दर्य वास्तवमा आफ्नै धरतीको गन्धबाट उत्पन्न भएको हुन्छ । अन्य भाषालाई अपनाउने या तिनका माध्यमद्वारा अभिव्यक्त गर्ने कुरामा कुनै खराबी अवश्य पनि छैन । त्यस्ता भाषामा ज्ञानविज्ञान या सामाजिक विज्ञान सिक्ने वा ज्ञानार्जन गर्नमै कुनै संकोच गर्नुपर्ने जरुरी पनि छैन । मूल कुरा के हो भने जुन शक्तिहरु मातृभाषाको रचनात्मकतालाई हीन तुल्याउन सक्रिय छन्, तिनको पहिचान गर्न, तिनका क्रियाकलापबाट सतर्क र सावधान रहनु आवश्यक छ । हाम्रो अस्मिता, साहित्य, सिर्जनात्मकताको सर्वोच्च वैभव मातृभाषामै सम्भव छ । त्यो असीम छ, कल्पनाको त्यो किनारा हो । त्यो हाम्रो मातृभूमिको रंग हो । त्यसमा हाम्रा स्वदेशी र स्थानीय मूल्य छन् । ती हाम्रा लागि भविष्यकामी छन् ।

मातृभाषामा परम्पराको जीवन्तता हुन्छ । त्यो कुनै अरु देशको वा अन्य धारको मुखापेक्षी पनि हुँदैन । त्यो हाम्रो आफ्नै गोमुखबाट आउँदछ, त्यसमा हाम्रो गर्मी र शीतल दुवै हुन्छ । हाम्रा नशा र कोशिकाहरु त्यसबाट रोमाञ्चित हुने गर्दछन् । त्यसले हाम्रा वर्षौदेखि स्थापित सभ्यताको केन्द्रीयता कायम राख्दछ । त्यो हाम्रो गहन आकर्षण, प्रीति तथा मुक्ति पनि हो । हाम्रो लागि त्यसमा गहन आवेग हुन्छ । त्यसले हाम्रो परम्परामा हामीलाई परिष्कृत पार्न चाहन्छ । त्यसले हामीलाई जुन मिठास दिन्छ, अरु कुनै भाषाले त्यस्तो दिन सक्तैनन् । मातृभाषा जीवन्त अभिव्यक्तिको शायद सबैभन्दा सुन्दर माध्यम हो । यस्तो भाषा केवल सहज शिल्पमात्रै होइन सबैभन्दा अर्थपूर्ण सम्भावना पनि हो । मातृभाषामा कट्टरता नहुनु र यो जनपक्षधर हुनु त्यसको विशिष्ट चरित्र हो । त्यसमा मानिसका स्मृति–विम्ब बढी सुरक्षित र पल्लवित हुन्छन् । त्यसमा जति पारम्परिक अर्थगर्भ हुन्छन् त्यत्तिकै वैज्ञानिकता तथा मनुष्यताको मुक्तिगामी सम्भावना पनि भन्ने तथ्यलाई आत्मसात गरौं ! – लेखक नेपाल कम्युनिष्ट पार्टीका सहअध्यक्ष हुनुहुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार