असार २५, २०८२ बुधबार July 9, 2025

समयमै बजेट अधिवेशन आह्वान नगर्दा शंका उब्जियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले आगामी वर्षका लागि समयै बजेट ल्याउन संसद् अधिवेशन आह्वान गर्न ढिला गर्दा बजेटबारे संशय सृजना भएको छ । संवैधानिक दायराभित्र रहेर सरकारले जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ । बजेट प्रस्तुत हुनुअघि सरकारको नीति तथा कार्यक्रम संसद्बाट आउनुपर्ने हो, अहिलेसम्म आएको छैन ।

संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी प्रस्तुत गर्ने नीति तथा कार्यक्रमको खाका भने प्रधानमन्त्री कार्यालयले तय गरिसकेको अधिकारीहरूले बताउँदै आएका छन् । सरकारले समयमै बजेट अधिवेशन आह्वान नगर्दा बजेट कतै अध्यादेशबाट ल्याउन खोजिएको त होइन भन्नेमा शंका उब्जिएको छ ।

संविधानविद् भीमार्जुन आचार्य सरकारले समयमै बजेट अधिवेशन आह्वान नगरेर गलत गरेको बताउँछन् । ‘अहिलेका प्रधानमन्त्रीको ध्यान कसरी हुन्छ कुर्सी जोगाउनुबाहेक अरू देखिएन, जेठ १५ मा बजेट ल्याउनुपर्छ भन्ने पहिलेदेखि नै थाहा हुँदाहुँदै अधिवेशन आह्वान नगरिनु ठूलो बेइमानी हो,’ उनले भने ।

उनका अनुसार सरकारले यो वर्ष संसद्बाट भन्दा पनि दर्जनौं अध्यादेश संसद् छलेर ल्याएकाले बजेट पनि अध्यादेशमार्फत नै आउने सम्भावना प्रबल बन्दै गएको छ । ‘अध्यादेश भनेको संसद् अधिवेशन नभएको बेला विशेष परिस्थितिमा ल्याउने हो, तर यहाँ त, संविधानको ख्यालै नगरी सरकारले जतिबेला चाह्यो, उतिबेला मनपरी तवरले ल्याउन थाल्यो, यसले सकारात्मक सन्देश दिँदैन,’ उनले भने ।

बजेट निर्माण गरिरहेको अर्थ मन्त्रालय पनि कसरी बजेट आउँछ भन्नेमा द्विविधामा नै देखिन्छ । अर्थ मन्त्रालायका अनुसार आगामी वर्षको बजेट निर्माणको काम अन्तिम चरणमा पुगिसकेको छ । संसदमा बजेट प्रस्तुत गर्नेबारे राजनीतिक नेतृत्वको जिम्मेवारी हुने भएकाले के कसरी बजेट आउँछ भन्नेमा द्विविधा देखिएको हो ।

‘अर्थको काम बजेट बनाइदिने हो, जुन प्रक्रिया उपयुक्त लाग्छ, सरकारको नेतृत्व गर्नेहरूले त्यसैअनुसार ल्याउँछन्, त्यसमा अर्थको केही भूमिका हुँदैन,’ अर्थका एक उच्च अधिकारीले भने ।

उनका अनुसार बजेट निर्माणको क्रममा अर्थमन्त्री विष्णु पौडेलले संविधानअनुसार नै यो सरकारले बजेट ल्याउने बताउँदै कुनै द्विविधा नराखी कुशलतापूर्वक बजेट बनाउन अर्थका अधिकारीहरूलाई आग्रह गर्दै आएका छन् ।

अहिले अर्थमा आगामी बजेटमा राजस्वका दर र कर नीति केकस्तो अवलम्बन गर्नेभन्ने विषयमा छलफल भइरहेको छ । त्यस्तै, नेपाल राजस्व परामर्श समितिले दिने सुझावका आधारमा राजस्व दर तथा नीतिहरूलाई यसपालिबाट व्यावहारिक बनाउने गरी तयारी भइरहेको बजेट निर्माणमा सहभागी अर्थका अधिकारीहरू बताउँछन् ।

अधिकारीहरूका अनुसार विगतका वर्षहरूमा प्रिबजेट छलफलमार्फत आएका सुझावलाई बजेटमा समावेश गरिन्थ्यो तर अहिले छलफल नहुँदा त्यस्ता सुझाव छुट्नेछन् । समाचार आजको आर्थिक अभियान दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार