असार २६, २०८२ बिहिबार July 10, 2025

बजेटले देखोस्, महामारीले निसासिएको मुलुक – अच्युत वाग्ले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालको राजनीति चर्चा गर्नयोग्य रहेन । राजनीतिका आदर्श, सिद्धान्त र लक्ष्य सबै शून्यमा झरेका छन् । कुन पात्र निजी स्वार्थका लागि कहिले, कुन दलमा प्रवेश गर्छ वा बाहिरिन्छ, अनुमान लगाउन गाह्रो छ । राजनीतिक नैतिकताको महँगो मूल्यमा विनिमय गरिएको सत्तामा जसरी पनि बसिरहने ‘चेस गेम’ मा प्रधानमन्त्री केपी ओली अब्बल साबित भएका छन् । मुलुक र जनताले उनी र अरू दलका समेत पनि समवयी नेताहरूबाट कुनै अपेक्षा गर्न छोडिसकेको अवस्था छ ।

यतिखेर मुलुक कोभिड–१९ महामारीको जस्तो भयावह चपेटामा परेको छ र यसबाट उम्कने कुनै उपाय अपनाउन सरकार जसरी उदासीन र अकर्मण्य देखिएको छ, त्यसको प्रकाशमा मुलुकको राजनीति र सरकार पूर्णत: निकम्मा देखिएका छन् । सारमा, दलहरूको वैचारिक पहिचान र मुलुकी शासनको बहुदलीयता-दुवैको अस्तित्व लगभग विसर्जन भएको छ । राजनीतिक सत्त्व हराएको यस्तो सरकारबाट धेरै ठूलो अपेक्षा गर्ने ठाउँ बाँकी छैन ।

यद्यपि जेजस्तो भए पनि एउटा सरकार कुर्सीमा छ, भाषण गरिरहेको छ । यसका सञ्चालकहरू जनताको करको पैसाले मर्सिडिज बेन्जमा हुइँकिइरहेका छन् । यसर्थ, उपचार र सास फेर्ने अक्सिजन नपाएर अकल्पनीय पीडामा छटपटाइरहेका जनताले अझै पनि सरकारबाट केही भर–राहत पाइहालिन्छ कि भनेर आशा गर्नु अन्यथा होइन । कर्मकाण्ड नै सही, संविधानत: सरकारले जेठ १५ गते आउँदो आर्थिक वर्ष २०७८/७९ का लागि संघीय बजेट प्रस्तुत गर्नुपर्छ । त्यसपछि, प्रादेशिक र स्थानीय सरकारहरूले पनि आ–आफ्ना बजेट ल्यउनेछन् । राजनीति जति खराब र जनताका पीडाबाट विमुख भए पनि यो आउँदो बजेटले आम मानिसले बेहोरेको मानवीय संकटलाई देखोस् र सम्बोधनको प्रयास गरोस् भन्ने झिनै भए पनि नागरिक अपेक्षा स्वाभाविक हो । कम्तीमा सरकारले जनता बचाउने अर्को एउटा अवसर हचुवामा खेर नफालोस् ।

क्रूर इतिहास

अहिलेको अवस्थामा कोभिड–१९ महामारी नियन्त्रण र त्यसले पारेको आर्थिक असरलाई पहिलो प्राथमिकतामा राखेर आफ्नो प्राकृतिक जिम्मेवारी पूरा गर्न एउटा जनमुखी, विवेकी र कुशल सरकारलाई सम्झाइरहनुपर्ने विषय होइन । तर, वर्तमान सरकार र नेपालको बजेट अभ्यासका अनुभव अक्सर मीठा छैनन् । गत वर्षभन्दा धेरै पछाडि नफर्कने हो भने पनि बजेट निर्माणमा हेलचेक्र्याइँ र गैरजिम्मेवारीको अत्यन्तै क्रूर अनुभव ताजै छ ।

विभिन्न तहका सरकारका ढुकुटीमा पैसा नभएर कोरोना रोकथाम हुन नसकेको होइन, प्रत्यक्ष खाडल शासकीय र व्यवस्थापकीय क्षमता एवम् राजनीतिक इच्छाशक्तिमा देखिएको छ । अर्थमन्त्रीले सांसद विकास कोषजस्ता अनुत्तरदायी खर्च कटौती गर्न हिम्मत देखाउलान् ?

अघिल्लो जेठ १५ मा ओली सरकारका तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को संघीय बजेट प्रस्तुत गरे । त्यति बेला नै मुलुकमा लकडाउन भएको दुई महिना बितिसकेको थियो र अर्को एक महिना अन्तर्राष्ट्रिय हवाई उडान र सीमानाका बन्द गर्ने निर्णय भइसकेको थियो । अर्थात्, कोभिड–१९ को प्रभावले अर्थतन्त्र सङ्कटमा पर्ने संकेतहरू प्रस्ट भइसकेका थिए । त्यसो भएपछि थोरै तर मूल समस्यामा केन्द्रित एवम् सघन प्राथमिकतामा आधारित रणनीति त्यो बजेटले लिन सक्नुपथ्र्यो । त्यसो भएन । त्यो बजेटले सामान्य अवस्थामा पनि हासिल गर्न मुस्किल पर्ने ७ प्रतिशतको आर्थिक वृद्धि लगायतका हावादारी प्रकृतिका अनेकौं लक्ष्य घोषणा गर्‍यो । स्वास्थ्य पूर्वाधारमा लगानी र स्वास्थ्य सेवा विस्तारको एकसूत्रीय मूल प्राथमिकतामा केन्द्रित हुनुपर्ने बजेट सनातन कनिका छर्किने (पोर्क ब्यारल) र सस्तो लोकप्रियताका लागि खर्च हुन नसक्ने ठाउँमा समेत ठूलो रकम विनियोजन गर्ने रोगबाट मुक्त भएन । गत बजेटमा स्वास्थ्यमा पर्याप्त लगानीको व्यवस्था नगरिनुको परिणतिस्वरूप जनता अहिले प्राणवायु अक्सिजनसम्म नपाएर कहालीलाग्दो संख्यामा मृत्युवरण गरिरहेका छन् ।

त्यो बजेट कति खेलाँचीपूर्ण र प्राथमिकताविहीन थियो भन्ने प्रस्ट प्रमाण यस आर्थिक वर्षको ३५२ अर्ब रुपैयाँ पुँजीगत विनियोजनमध्ये बितेका दस महिनामा जम्मा ३५ प्रतिशत मात्र खर्च हुुनुले दिन्छ ।

त्यसपछि, सात महिनापहिले विष्णु पौडेल अर्थमन्त्री भए । त्यो उनका लागि बजेटलाई महामारी नियन्त्रण–उन्मुख, अर्थतन्त्रलाई वृद्धि–उन्मुख र जनतालाई राहत पुग्ने बनाउने गरी पूरक बजेटमार्फत कमजोरी सच्याउने अवसर थियो । मुख्य गरी स्वास्थ्य क्षेत्रमा केन्द्रित लगानीमार्फत आर्थिक उत्पादकत्व वृद्धि गर्ने, संघीय सरकारको संरचनालाई परिचालित गर्ने र दीनहीन एवम् व्यवसाय दुवैका लागि सार्थक राहत घोषणा गर्ने अहम् जिम्मेवारीबाट उनी पनि नराम्ररी चुके । अर्धवार्षिक समीक्षाका नाममा टालटुले वक्तव्य दिएर उम्किएँ भन्ने उनलाई लागेको हुँदो हो, तर अहिले परिस्थितिले अन्यथा साबित गर्‍यो । उनलाई कुन बाध्यता र दबाबले राष्ट्रहितका यी न्यूनतम कदम चाल्नबाट रोक्यो, त्यसको उत्तर पनि कालक्रममा खोजिएला ।

प्राथमिकता र रणनीति

आउँदो आर्थिक वर्षको र सम्भवत: अरू केही वर्षका बजेटसमेत कोरोना महामारीलाई सोझै सम्बोधन गर्ने प्राथमिकताबाट विमुख हुन सक्ने अवस्था छैन । सम्भावित तेस्रो लहर, भाइरसका अनगिन्ती ‘भेरिएन्ट’ को निरन्तर जोखिम र केही विज्ञले प्रक्षेपण गरेभैंm कोरोनाको प्रकोप हरेक मौसममा सामान्य रुघाखोकीजस्तै पुनरावृत्ति हुने जोखिमको प्रकाशमा स्वास्थ्य क्षेत्रमा सार्वजनिक लगानी थप सघन हुनु आवश्यक छ । चालु आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रको बजेटमा १२ प्रतिशत वृद्धि गरेर ९० अर्ब रुपैयाँ पुर्‍याउनुलाई ठूलो उपलब्धिका रूपमा प्रचार गरिएको थियो । यथार्थ के हो भने, सिंगो स्वास्थ्य क्षेत्रको योगदान नेपालको कुल गार्हस्थ्य उत्पादनमा बल्ल १ दशमलव ८ प्रतिशत पुगेको छ । नेपालजस्तै अन्य विकासशील मुलुकको दाँजोमा पनि यो अत्यन्त थोरै हो । त्यसैले कोभिड महामारीका कारण मात्र होइन, जनसाधारणलाई नियमित न्यूनतम स्वास्थ्य सेवामा सहज पहुँच बढाउनका लागि समेत स्वास्थ्य पूर्वाधार, जनशक्ति विकास र सेवा सुनिश्चित गर्नका लागि राज्यले उल्लेख्य मात्रामा लगानी बढाउनुपर्छ । अहिलेको महामारी वास्तवमा त्यस्तो लगानीका लागि एउटा राम्रो बहाना र अवसर बनेको छ । अन्य धेरै विकास–निर्माणका क्षेत्रमा बजेट विनियोजन गरेर पनि खर्च हुन नसक्ने अवस्थामा मुलुकको अर्थतन्त्र चलायमान बनाउनकै लागि पनि स्वास्थ्य क्षेत्रमा लगानी बढाउनु सबै दृष्टिले उचित र प्रतिफलदायी हुन्छ ।

मुलुकको अर्थतन्त्रको वास्तविक अवस्था, पुराना र महामारीले थपेका नयाँ चुनौती बुझ्न र तिनलाई सम्बोधन गर्न आफ्नै निश्चित दूरदृष्टि, ध्येय र लक्ष्य आफूसँग छैन भन्ने अबगालबाट मुक्त हुने अवसर अर्थमन्त्री पौडेललाई छ ।

कोभिड–१९ को चुनौती यथावत्, धेरै कोणबाट अझ डरलाग्दो देखिएको अवस्थामा बजेटको रणनीति पनि उत्तिकै प्रस्ट हुनु आवश्यक छ । पहिलो, स्वास्थ्यमा हुने लगानीलाई केन्द्रविन्दु (पिभट) बनाएर सार्वजनिक खर्च विस्तार गर्ने र स्वास्थ्य सेवाको उपभोगमा भएको बढोत्तरीमार्फत आर्थिक वृद्धिदरलाई सकेसम्म माथि राख्ने ।

दोस्रो, भौतिक निर्माणका धेरै आयोजना सुचारु हुन नसक्ने अवस्था विद्यमान रहुन्जेल स्वास्थ्य पूर्वाधारसम्बद्ध भौतिक निर्माण अस्पताल, औषधि उद्योग र सेवाको पहुँच विस्तार गर्ने पूर्वाधारमा लगानी केन्द्रित गर्ने । तत्कालका लागि, कोरोना भाइरसविरुद्धको खोप प्राप्ति र त्यसपछि त्यसको भण्डारण, वितरण र बिरामीलाई लगाउने चरणसम्म आवश्यक ‘लजिस्टिक्स’ का लागि लगानी चाहिएको छ । कतिपय खोप आवश्यक चिस्यान प्रविधिसम्म नभएका कारण नेपालले ती ल्याउनेबारे सोच्नै सक्दैन । जनताले दीर्घकालसम्म लाभ पाउने यस्ता पूर्वाधारमा लगानी गर्न सरकार हिचकिचाउनु पर्दैन ।

तेस्रो, कोभिड नियन्त्रणका लागि गरिएका लकडाउन र निषेधाज्ञाले इन्टरनेट ‘कनेक्टिभिटी’ को महत्त्व थप उजागर गरेका छन् । यसको विस्तार गरी अनलाइन शिक्षा, टेलेमेडिसिन र इ–बैंकिङ आदि सेवाको उपयोग देशभरिका जनताका लागि सम्भव तुल्याउन राज्यले पर्याप्त लगानी गर्नैपर्छ । यसले ‘डिजिटल विभाजन’ कम गर्न र डिजिटल साक्षरता बढाउन महत्त्वपूर्ण योगदान गर्छ ।

चौथो, कृषि आपूर्ति सञ्जाललाई बचाउन सरकारले कोरोना भाइरसको संक्रमण सुरु भएयताका डेढ वर्षमा बिलकुलै केही काम गरेको छैन । त्यसको ज्वलन्त प्रमाण विगत दस महिनामा मुलुकले गरेको डेढ खर्ब रुपैयाँभन्दा बढीको आधारभूत अन्न, तरकारी र फलफूलको आयात हो । जबकि, नेपाली कृषकका गोलभेंडा र धेरै प्रकारका मौसमी तरकारी बारीमै कुहिएर खेर गइरहेका छन् । अहिले पनि मासु र तरकारी उत्पादक किसानहरूले आफ्ना उत्पादनका लागि बजार नपाएको गुनासो व्यापक रूपमा आएको छ । उपभोक्ताहरू भने धेरै महँगोमा किन्न बाध्य छन् । आपूर्ति सञ्जाल सुचारु नहुनुको परिणाम यस्तै हुन्छ ।

पाँचौं, मानवीय राहतको कथा अत्यन्त दारुण छ । रोजीरोटी गुमाएका, विस्थापित भएकाहरूलाई राज्यले देखेको छैन । मानिसको मृत्यु दैनिक थपिने अंक मात्र होइन, असमानताको एउटा जटिल प्रश्न यसभित्र बल्झिएको छ । अहिलेसम्म कोरोना महामारीले उपचार, औषधि, अक्सिजन र स्याहार नपाएर मृत्यु हुनेहरूमा सम्भवत: ९५ प्रतिशत तिनै अनागरिक छन् जसको नाम छैन र उनीहरू अंक मात्र गणना भइरहेका छन् । महामारीले पनि उच्च, शासक र अभिजात वर्गलाई सापेक्षत: असाध्यै कम प्रभावित पारेको छ । संक्रमित भइहाले पनि उपलब्ध स्ुविधाहरूमा पहिलो पहुँच उनीहरूकै छ (वास्तविक तथ्यांक बाहिर आउन र विश्लेषण हुन बाँकी छ) ।

आँखैअगाडिको मानवीय संकटलाई नदेखेर केही कर्मचारी र सनातनी अर्थशास्त्रीहरूले जडवत् बनाएको बजेट निर्माणको शैलीलाई नाघेर अगाडि बढ्नु उनी र मुलुक दुवैको हितमा हुनेछ ।

छैटौं, लकडाउनका कारण फेरि खुल्नै नसक्ने गरी थला परेका लाखौं संख्याका खास गरी साना र कुटीर उद्योगको पुनरुत्थानको कुनै कार्यक्रम सरकारले ल्याएको छैन । ब्याज छुट र बैंकको किस्ता तिर्ने समय लम्ब्याउनेजस्ता नीतिगत राहतले यो कोटिका व्यवसायलाई ब्युँताउँदैनन् । करिब ३५ लाखलाई प्रत्यक्ष वा परोक्ष रोजगारी दिइरहेका यी क्षेत्रका लागि नगदै राहत चाहिएको छ । र, त्यो लक्षित एकाइसम्म पुग्ने सेवा सञ्जाल पनि चाहिएको छ । बजेटले यी आवश्यकता देख्न र सम्बोधन गर्न सक्नुपर्छ ।

अर्थराजनीति

वास्तवमा, हरेक बजेट त्यस अर्थतन्त्रको अर्थराजनीति–सापेक्ष हुन्छ । यो यथार्थलाई नेपालका पछिल्ला आर्थिक वर्षका बजेटहरूले बेवास्ता गरेका छन् । नेपालको संघीय शासकीय स्वरूपलाई महामारी भएका वा नभएका बेला ल्याइएका बजेटहरूले बिनासर्त आत्मसात् गर्न चाहेको देखिएको छैन । कोरोनाको पहिलो चरणको महामारीका समयमा धेरै स्थानीय तहले कैयौं सीमा हुँदाहुँदै पनि आफ्ना जनताको रक्षार्थ प्रशंसनीय कार्य गरेका थिए । राज्यले त्यो सकारात्मक पक्षलाई सुदृढीकरण गर्न आवश्यक पहल नगरेका कारण भाइरसको दोस्रो लहरका बेला प्रादेशिक र स्थानीय सरकारहरूको सक्रियता असाध्यै कम देखिएको छ । यसको प्रत्यक्ष परिणति, कोरोना संक्रमण गाउँबस्तीहरूसम्मै तीव्र र अनियन्त्रित भएको छ । विभिन्न तहका सरकारका ढुकुटीमा पैसा नभएर कोरोना रोकथाम हुन नसकेको होइन, प्रत्यक्ष खाडल शासकीय र व्यवस्थापकीय क्षमता एवम् राजनीतिक इच्छाशक्तिमा देखिएको छ । अर्थमन्त्रीले सांसद विकास कोषजस्ता अनुत्तरदायी खर्च कटौती गर्न कस्तो हिम्मत देखाउँछन्, त्यो पनि महत्त्वपूर्ण छ ।

अन्त्यमा, मुलुकको अर्थतन्त्रको वास्तविक अवस्था, पुराना र महामारीले थपेका नयाँ चुनौती बुझ्न र तिनलाई सम्बोधन गर्न आफ्नै निश्चित दूरदृष्टि, ध्येय र लक्ष्य आफूसँग छैन भन्ने अबगालबाट मुक्त हुने अवसर अर्थमन्त्री पौडेललाई छ । आँखैअगाडिको मानवीय संकटलाई नदेखेर केही कर्मचारी र सनातनी अर्थशास्त्रीहरूले जडवत् बनाएको बजेट निर्माणको शैलीलाई नाघेर अगाडि बढ्नु उनी र मुलुक दुवैको हितमा हुनेछ । कान्तिपुर दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार