वैशाख १५, २०८१ शनिबार April 27, 2024

उपनिर्वाचन जित्न काँग्रेसको यस्तो रणनीति : सरकारको भण्डाफोर गर्दै महाधिवेशनमा जम्प गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः ०७४ सालको निर्वाचनमा स्थानीय तह, प्रदेश र संघीय संसद् तीनतिरै कमजोर नतिजा बेहोरेको कांग्रेसले १४ मंसिरमा हुने उपनिर्वाचनलाई रणनीतिक  महत्वको  अवसरका रूपमा लिएको छ । कांग्रेसले चुनाव प्रचारलाई सरकारविरोधी अभियानका रूपमा प्राथमिकतामा राखेको छ ।

सरकारका गलत कामको भण्डाफोर गर्ने र पार्टीको १४औँ महाधिवेशनको तयारी गर्ने माध्यमका रूपमा पनि कांग्रेसले उपनिर्वाचनलाई लिएको छ । पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आफै उपनिर्वाचनका चुनावी सभाहरूमा सहभागी भएका छन् ।

शनिबार पनि देउवाले कास्की–२ को प्रतिनिधिसभाको प्रचारसभामा पुगेर प्रधानमन्त्री केपी ओलीविरुद्ध खरो अभिव्यक्ति दिए । देउवाले हालै भारतले नेपाली भूमि गाभेर नक्सा सार्वजनिक गर्दा प्रधानमन्त्री ओलीसँग सल्लाह गरेको आरोप लगाएका थिए ।

ओली नेतृत्वको सरकार गठन भएयताको २१ महिनामा भ्रष्टाचार बढेको, सुशासन नभएको, महँगी र मूल्यवृद्धि बढेको र अधिनायकवादको बाटोमा सरकार अघि बढेको भन्दै कांग्रेसले लोकतन्त्र रक्षाको लागि कांग्रेसलाई मत दिन मतदातालाई अपिल गरेको छ । अघिल्लो साता चुनावी आह्वान सार्वजनिक गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको २१ महिने अवधिका २१ असफलता सार्वजनिक गरेका थिए ।

गत निर्वाचनमा कमजोर बनेपछि अर्को निर्वाचनमा राम्रो गर्नुपर्ने बाध्यात्मक परिस्थितिमा रहेको कांग्रेस उपनिर्वाचनबाट सरकारलाई थप अलोकप्रिय देखाउन र नेकपाले जितेका ठाउँमा जित्ने रणनीतिमा देखिन्छ । यसैका लागि फुर्सदिला कांग्रेस नेताहरू जिल्लाजिल्लाको दौडाहामा निस्किएका छन् ।

जसमा सभापति शेरबहादुर देउवादेखि नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला, युवा नेताहरू विश्वप्रकाश शर्मा, गगन थापा, प्रदीप पौडेल, गुरुराज घिमिरेसहितका नेता जिल्ला दौडाहामा छन् ।

उपनिर्वाचनका लागि कांग्रेसले कास्कीमा डा. मिनेन्द्र रिजाल, दाङमा देवेन्द्रराज कँडेल, बाग्लुङमा पहिले शंकर भण्डारी अहिले प्रदीप पौडेल, भक्तपुरमा मोहनबहादुर बस्नेत र सुनसरी (धरान)मा महेश आचार्यलाई खटाएको छ । तर, उनीहरूबाहेकका धेरै केन्द्रीय नेताहरू यतिखेर चुनाव हुने र नहुने जिल्लामा प्रचार र भ्रमणमा निस्किएका हुन्  ।

सभापति, उपसभापति, महामन्त्रीसहितका पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षी धेरै नेताहरू यतिखेर एकैमेसोमा कार्यकर्तासँग नजिकिन पनि यसरी जिल्लाजिल्लाका कार्यक्रममा निस्किएका हुन् । अहिलेदेखि स्थानीय नेता–कार्यकर्तासँग सम्बन्ध राख्न सक्दा महाधिवेशनमा जित्न सहज हुने भएकाले पनि नेताहरू व्यस्त तालिका राखेर जिल्ला भ्रमणमा निस्किएका हुन् ।

प्रतिस्पर्धामा तय भइरहेका छन् नेताका कार्यक्रम

चुनावी प्रचार सुरु नहुँदैदेखि कांग्रेसका नेताहरूको जिल्ला भ्रमण सुरु भइसकेको थियो । उम्मेदवार चयन लगत्तैदेखि नेता रामचन्द्र पौडेल तराईसहित पूर्वी पहाडी जिल्लाको भ्रमणमा निस्किए । उपनिर्वाचन ३७ जिल्लामा हुँदै गरे पनि उनको कार्यक्रम निर्वाचन नहुने जिल्लामा पनि थियो । उनको कार्यक्रमसँगै सभापति शेरबहादुर देउवाको पनि पश्चिमका कैलाली, दाङसहितका जिल्ला जाने कार्यक्रम तय भइसकेको छ ।

‘निर्वाचनको बहाना पनि छ, यही वेला आफूलाई सक्रिय देखाउन पनि नेताहरूको लर्को लागेको छ,’ युवा नेता प्रदीप पौडेल भन्छन्, ‘चुनावमा आएको सकारात्मक सन्देश पार्टीको आन्तरिक प्रतिस्पर्धामा पनि पर्छ भनेर पनि नेताहरू प्रचारमा हिँडेका देखिन्छन् ।’

एउटा नेता जिल्ला भ्रमणको तालिका बनाएर हिँडेपछि आफू पछि परिन्छ भनेर पनि नेताहरूको कार्यक्रम आएको देखिन्छ । आफू नजाँदा पछाडि परिन्छ भनेर पनि नेताहरूले कार्यक्रम तय गर्ने गरेका छन् । निर्वाचनको बहानामा नेताहरू यसरी जिल्लाजिल्ला पुग्दा मतदातामा प्रभावकारी सन्देश पु¥याउन सकिनुका साथै एक वर्षपछि हुने १४औँ महाधिवेशनमा प्रतिस्पर्धामा रहेका नेताहरूलाई पनि फाइदा हुने पौडेल बताउँछन् ।

यही वर्षको फागुनमा नियमित चारवर्षे कार्यकाल सकिने भए पनि एक वर्ष थप गर्न पाउने वैधानिक व्यवस्थाअनुसार ०७७ फागुनसम्ममा कांग्रेसको १४औँ महाधिवेशन गर्नुपर्ने हुन्छ । नजिकिँदो महाधिवेशनका बीच उपनिर्वाचन आएकाले नेताहरू कार्यकर्तासँग नजिकिने र उनीहरूलाई प्रभाव पार्न पनि यतिखेर सक्रिय भएका देखिन्छन् । चुनावी प्रचारमा गएको जस्तो पनि देखिने, यसले मतदातामा प्रभाव पार्ने साथै आफ्नो पनि प्रचार हुने, कार्यकर्तासँग भेटघाट हुने भएपछि रणनीतिक रूपमा पनि नेताहरू आफैँ पनि चुनाव हुने मात्रै नभई नहुने विभिन्न जिल्लामा निस्किएका देखिन्छन् ।

शीर्ष नेताहरू नै व्यस्त

सभापति देउवा शुक्रबार र शनिबार पोखरामा थिए । ९ मंसिरमा उनी दाङको चुनावी सभालाई सम्बोधन गर्न जाने कार्यक्रम छ । त्यसअघि मंसिर ३ र ४ मा देउवा सुदूरपश्चिम महिला संघको कैलालीमा भएको प्रशिक्षण कार्यक्रमको उद्घाटन गरेर काठमाडौं फर्किएका थिए ।

नेता पौडेलको पनि व्यस्त तालिका छ । प्रदेश १ का झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, सुनसरीसहितका जिल्ला घुमे । उनी पोखरा पनि पुगिसके । ९ मंसिरमा दाङ र १० मंसिरमा बाग्लुङ जाने पौडेलको कार्यक्रम छ । पौडेल ‘राजनीतिलाई सम्मानित क्षेत्र बनाऊँ, कांग्रेसलाई भरोसाको केन्द्र बनाऊँ’ भन्ने अभियानमा हिँडेको उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले बताए । पौडेल चुनाव नभएका इलाम, झापा, ताप्लेजुङ र तेह्रथुममा पनि कार्यकर्ता भेट्ने र १४औँ महाधिवेशनकेन्द्रित अभियानमा पुगे ।

उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार पनि सुनसरीसहितका जिल्ला दौडाहामा छन् । महामन्त्री डा. शशांक कोइराला सुनसरी, नवलपरासी हुँदै ६ र ७ मंसिरमा पोखरा पुगे । ८ मंसिरमा बाग्लुङ पुगे भने ९ मंसिरमा दाङ जाने कार्यक्रम छ ।

कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला, अर्जुननरसिंह केसीसहितका नेताहरू पनि जिल्ला भ्रमणमा व्यस्त छन् । नेता सिटौला पाँचथर, बाग्लुङ, पोखरा, भक्तपुर, धरान पुगिसकेका छन् । उनको पनि दाङ जाने कार्यक्रम छ । डा. शेखर कोइराला झापा, मोरङ, इलाम, पाँचथर र सुनसरीका कार्यक्रमपछि काठमाडौं आएर पोखरा पुगे । उनी ७ मंसिरमा दाङ पुगेर काठमाडौं फर्के । त्यसपछि सुनसरी जाने उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए । ज्ञानेन्द्रबहादुर कार्की, गुरु घिमिरे, धनराज गुरुङसहितका नेता सुनसरीमा भोट माग्ने र कार्यकर्ता भेटघाटमा व्यस्त भइसकेका छन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारविरुद्ध भण्डाफोर गर्दै कांग्रेसलाई जिताउन दुई दर्जनभन्दा बढी केन्द्रीय नेताहरू जिल्लाजिल्लामा पुगेको बताए । ‘यतिखेर पार्टी पदाधिकारीदेखि केन्द्रीय नेता र युवा नेताको ध्यान उपनिर्वाचनमा सरकारको भण्डाफोर गर्दै कांग्रेसलाई विजय गराउनमा केन्द्रित छ,’ शर्माले भने ।

टिकटदेखि महाधिवेशनको राजनीति

सभापति देउवाले उपनिर्वाचनका लागि आफूनिकटका नेताहरूलाई टिकट दिएर १४औँ महाधिवेशनकेन्द्रित रणनीति अघि बढाउन खोजेका थिए । तर, अर्को पक्षका विरोधका कारण उनले उपनिर्वाचनमा अरू पक्षका नेतालाई पनि टिकट दिन बाध्य भएका थिए  ।

१४औँ महाधिवेशनमा पुनः हाबी हुने अपेक्षामा उनले नजिते पनि आफूनिकटका नभए अर्को पक्षका नेतालाई टिकट दिएर खुसी बनाउने रणनीति बनाएका थिए । कास्की–२ मा पौडेल गुटका धनराज गुरुङलाई टिकट दिएर १४औँ महाधिवेशनमा आफ्नो कित्तामा ल्याउने उनको प्रयास असफल भएको थियो । पौडेल र सिटौला पक्षले पनि भाग खोजेपछि देउवाले कास्की र भक्तपुर आफूले राखी, दाङ पौडेल र बाग्लुङको उम्मेदवार कृष्णप्रसाद सिटौला पक्षलाई दिएका थिए ।

चुनावी सभामा युवा नेताहरूको माग बढी

उपनिर्वाचनको चुनावी प्रचारमा युवा नेताहरूको माग बढी देखिन्छ । ३७ जिल्लाका ५२ स्थानमा हुने उपनिर्वाचनका लागि गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, गुरुराज घिमिरे, धनराज गुरुङसहितका युवा नेताहरू व्यस्त देखिन्छन् ।

पाँचथर, सुनसरी, कास्की, भक्तपुरदेखि दाङसम्मैका चुनावी प्रचारमा युवा नेताहरू पुगेका छन् । युवा नेता प्रदीप पौडेल युवा नेताहरूले भोट मागिदिँदा प्रभावकारी हुने आशाले युवाको धेरै माग भएको बताउँछन् । ‘चुनावी प्रचारका लागि शीर्षदेखि केन्द्रीय नेताहरू देशव्यापी दौडाहामा हुनुहुन्छ,’ पौडेलले भने, ‘पब्लिक इमेज राम्रो भएकाले युवा नेतालाई सकभर आफ्ना चुनावी क्षेत्रमा बोलाउने गरेको देखिन्छ ।’

युवा नेता गगन थापाको जिल्ला दौडाहाको तालिका व्यस्त छ । ४ मंसिरका भक्तपुरको बागेश्वरीमा घरदैलो गरेपछि ५ मंसिरमा उनी लमजुङ सुन्दरबजार पुगे । शुक्रबार पोखरा र शनिबार बाग्लुङको सभापछि उनी १० मंसिरमा धरान पुग्नेछन् । धरानपछि धनकुटा पुगेर सोही रात थापा चितवन पुगी भोलिपल्ट दुई सभा सकाएर काठमाडौं फर्किने कार्यक्रम छ । ५२ स्थानमा चुनाव हुँदै गर्दा प्युठान, दाङ, सर्लाही महोत्तरी, कोहलपुरजस्ता ठाउँमा बोलाइए पनि थापा जान नसकेको उनको सचिवालयले जानकारी दियो ।

प्रवक्ता विश्वप्रकाश शर्माको पनि एकहप्ते व्यस्त तालिका छ । उनी ४ मंसिरमा महोत्तरी, ५ मंसिरमा धरानपछि ७ मंसिरसम्म चितवनमा हुने चुनावी प्रचारमा सहभागी भए । शर्मा ९ देखि ११ मंसिरसम्म दाङमा हुने प्रचारमा व्यस्त बन्नेछन् । उनीसँग केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको टिम पनि छ । अर्का युवा नेता प्रदीप पौडेल पनि गुल्मी, भक्तपुर, चितवन, पोखरा, लमजुङपछि बाग्लुङ जाँदै छन् । पारिवारिक कारणले शंकर भण्डारी फर्किएपछि पार्टीले पौडेललाई बाग्लुङमा खटाएको छ ।

उपनिर्वाचनमा कार्यकर्ताको मनोबल उठाउनैपर्छ

प्रदीप पौडेल, नेता, कांग्रेस

पार्टीलाई चुनाव जिताउने दौडमा सक्रियता देखाउनुहुने नेताहरूको प्रयासलाई सकारात्मक रूपमा लिनुपर्छ । किनकि, सरकारप्रति असन्तुष्टि उत्पन्न भइरहेका वेला कांग्रेसलाई केही ठाउँमा हुने सीमित चुनावमा जिताउन सके कार्यकर्ताको मनोबल बढ्छ । सरकार बनाउने निर्वाचन नभए पनि हाम्रो अग्रसरतामा र केही ठाउँको जितले सकारात्मक सन्देश दिन्छ । गत निर्वाचनमा प्रतिनिधिसभातर्फ तीन हजारभन्दा कम अन्तरले ४३ क्षेत्र, पाँच हजार अन्तरले ६५ क्षेत्र र ८ हजार अन्तरले ७८ हाराहारी क्षेत्रमा कांग्रेस पराजित भएको थियो । यस्तोमा कास्कीमा चुनाव जितियो भने ठूलो अन्तर रहेनछ र अर्को निर्वाचनमा हामी धेरै ठाउँमा चुनाव जित्न सक्छौँ । नजितेर विभिन्न ठाउँमा पहिलेभन्दा अन्तर कम गर्न सके सरकार अलोकप्रिय छ भन्ने सन्देश जान्छ ।

सरकारका असफलता कांग्रेसका चुनावी एजेन्डा

कालापानीलगायत भारतले मिचेको नेपाली भूमि फिर्ता गराउन सरकारले सार्थक कूटनीतिक र राजनीतिक पहलकदमी नलिएको भन्दै कांग्रेसले राष्ट्रियताको प्रश्नमा सरकार असफल भएको जनाएको छ । तराई मधेसको चित्त बुझ्ने गरी संविधानमा अपनत्व बढाउन नसकेको, दुई कम्युनिस्ट पार्टी एकीकरण भए पनि गठबन्धन सरकारमा यसको सैद्धान्तिक चित्र र चरित्र प्रस्तुतमा असफलता भोगेको आरोप कांग्रेसले लगाएको छ ।

संघीयता कार्यान्वयनमा प्रदेशको राजधानी र नामाकरण गर्न नसकेको, कूटनीतिक मामिलामा अपरिपक्व, विप्लव प्रकरणमा निषेधको राजनीतिले निकास ननिस्किएको, शान्तिसुरक्षा र कानुनी राज्यको विश्वास दिलाउन असफल भएको, मूल्यवृद्धि र महँगी नियन्त्रणमा असफल भएको, वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको आरोप कांग्रेसको छ । बुढीगण्डकी आयोजनालाई अन्योलतामा धकेलेको, मेलम्ची आयोजनामा खेलबाड गरेको, निजगढ एयरपोर्टको भविष्य अन्योलमा पारेको, चिकित्सा शिक्षाले विद्यार्थीको भविष्यमाथि प्रश्न उठ्दा समाधानको पहल नगरेको, संवैधानिक परिषद्मा प्रतिपक्षीय भूमिकालाई नजरअन्दाज गरेको उसको आरोप छ ।

त्यस्तै, शब्दमा प्रेस स्वतन्त्रता भने पनि व्यवहारमा नियन्त्रणको नीति लिएको, धर्म प्रचारमा सरकार सह–आयोजक बनेको, गुठी विधेयकमा अपरिपक्व काम गर्दा जनतासँग झुक्नुपरेको, सामाजिक सुरक्षा कोष कांग्रेस सरकारकै पालामा संसद्मा प्रस्तुत भएर अघि बढे पनि प्रधानमन्त्री केपी ओलीको फोटो टाँसेर अरूको कर्मको प्रचार गरेको आरोप कांग्रेसको छ ।

बालुवाटार जग्गा प्रकरणमा सरकार ढाकछोपमा लागेको, कम्युनिस्ट सरकार बनेयता सेयर बजार ओरालो लागेको र प्रधानमन्त्रीकै अभिव्यक्ति असहिष्णु र अराजनीतिक हुने गरेको  भन्दै कांग्रेसले सरकारका २१ असफलता केलाएको हो । यसरी कांग्रेसले ‘आज रचनात्मक प्रतिपक्ष भोलि जिम्मेवार सरकारका लागि’ भन्दै पार्टीको पक्षमा मत दिन आह्वान गरेको छ ।

राजस्वको आकार, सडक, बिजुलीजस्ता पूर्वाधार, रोजगारी वृद्धि, स्वास्थ्य र शिक्षाको प्रगति र विकासमा कांग्रेसका ०४७ देखि ०७४ सालसम्मका सरकारले गरेको सकारात्मक कामको तथ्य पनि शर्माले चुनावी आह्वानमा सार्वजनिक गरेका छन् । यो खबर नयाँपत्रिकामा प्रकाशित भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ – अध्यक्ष नेपाल
२०८१ वैशाख १५, शनिबार
धरौटी बुझाएपछि रिहा भए दिपेश पुन
२०८१ वैशाख १४, शुक्रबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
२०८१ वैशाख १४, शुक्रबार
संसद्लाई प्रभावकारी बनाए मात्र सङ्घीयता कार्यान्वयनमा सहजता : सभामुख
२०८१ वैशाख १४, शुक्रबार
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
२०८१ वैशाख १४, शुक्रबार
जिल्ला लिग फुटबलको तेस्रो संस्करण वैशाख–१५ गतेदेखि
२०८१ वैशाख १४, शुक्रबार
निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि
२०८१ वैशाख १४, शुक्रबार