मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

संविधान बमोजिम वैकल्पिक सरकार बन्ने अवस्था हुँदाहुँदै संसदको हुर्मत लिने काम भयो: पत्रकार महासंघ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपाल पत्रकार महासंघले संविधान बमोजिम वैकल्पिक सरकार बन्न सक्ने अवस्था हुँदाहुँदै प्रतिनिधि सभा विघटन गरेर निर्वाचन घोषणा गर्ने कदमले लोकतन्त्रलाई गम्भीर संकटमा पार्ने काम भएको बताएको छ।

महासंघका महासचिव रोशन पुरीले आज विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा विघटन गरेर निर्वाचन घोषणा गर्ने कदमले संविधान तथा संसदको हुर्मत लिने, लोकतन्त्रलाई गम्भीर संकटमा पार्ने काम भएको उल्लेख गरेका छन्।

पत्रकार महासंघले जनतालाई संविधान प्रतिकूलको चुनाव नभएर अहिले कोरोना महामारीबाट बच्च खोप चाहिएको उल्लेख गरेको छ। अस्पतालहरूमा शय्या, अक्सिजनलगायत सामग्रीको खाँचो रहेको महासंघको भनाइ छ।

यस्तो अवस्थामा जनताको उपचारमा ध्यान दिएर सरकारले मध्यरातमा चुनावको सिफारिस गर्ने र सरकार बन्ने आधार हुँदाहुँदै राष्ट्रपतिले जालझेलपूर्ण कदम चाल्नु परिवर्तनकारी आन्दोलनले प्राप्त गरेको गणतन्त्रप्रति प्रहार भएको महासंघको ठहर छ।

महासंघले प्रेस तथा अभिव्यक्ति र नागरिक स्वतन्त्रताका पक्षधरहरु असंवैधानिक कदमका विपक्षमा दृढताकासाथ एक ठाउँमा उभिन पनि आह्वान गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया