श्रावण ३, २०८२ शनिबार July 19, 2025

बागमती प्रदेश मातहतका सबै अस्पतालहरूमा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रदेश सरकारको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बागमती प्रदेश सरकारले प्रदेश मातहतका सबै अस्पतालहरूमा अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी गरेको छ ।

कोभिड महामारीलाई मध्यनजर गर्दै प्रदेशको सामाजिक विकास मन्त्रालयले अक्सिजन प्लान्ट स्थापनाका लागि टेण्डर आह्वान गरेको छ । अक्सिजन प्लान्ट खरिदका लागि मन्त्रालयले मङ्गलवार सार्वजनिक खरिद अनुगमन कार्यालय मार्फत एक हप्ताको समय सीमा राखेर टेण्डर आह्वान गरेको हो ।

मन्त्रालयले प्रदेश मातहतका काठमाडौंको टोखा, ललितपुरको बज्रबाराही, दोलखाको चरिकोट रामेछापको रामेछाप अस्पताल, काभ्रे मेथिनकोट, धादिङ अस्पताल, सिन्धुपाल्चोकको चौतारा अस्पताल र चितवनको बकुलहर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न लागेको मन्त्रालयले जनाएको छ । यी अस्पतालहरूमा अक्सिजन अभाव नहोस् भनेर एक महिनाभित्र प्लान्ट स्थापना गरिसक्ने मन्त्रालयले जनाएको छ । यसअघि अक्सिजन प्लान्ट नभएका अस्पतालहरूमा पनि प्लान्ट निर्माण गर्ने निर्णयअनुरूप प्लान्ट निर्माण गर्न लागेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले टेन्डरको प्रक्रिया छोटो गर्न हालै आएको अध्यादेशले पनि सहज बनाएको हो ।
सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले एक महिनाभित्र ती अस्पतालहरूमा अक्सिजन प्लान्ट स्थापना भइसक्ने बताउनुभएको छ । छोटो प्रक्रियाबाट खरिद प्रक्रिया सुरु गरेको बताउनुहुँदै उहाँले अक्सिजन प्लान्ट नभएका प्रदेश मातहतका सबै अस्पतालमा अक्सिजन प्लान्ट र १३ वटै जिल्लामा कम्तीमा एक÷एक वटा पीसीआर मेसिन राख्ने तयारी रहेको बताउनुभयो ।
प्रदेश मातहतका १३ मध्ये ६ वटा अस्पतालमा यस अघि नै अक्सिजन प्लान्ट सञ्चालनमा रहेको र बाँकी अस्पतालमा स्थापना गरेर प्रदेश मातहतका सबै अस्पतालहरूमा अक्सिजन प्लान्ट राख्न लागिएको उहाँले बताउनुभयो । उहाँले कोभिड विरुद्ध लड्नका लागि कुनै कसर बाकी नराख्ने भन्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभयो । यस अघि बागमती प्रदेश सरकारले कोभिडको दोस्रो लहर बढेसँगै ’एक जिल्ला एक पीसीआर मेसिन’ राख्ने निर्णय गरेर आवश्यक प्रक्रिया अघि बढाइ सकेको उहाँले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया