असार २९, २०८२ आइतबार July 13, 2025

नवलपरासीका किसानलाई ५०% अनुदानमा धानको बिउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा धानको बिउ उपलब्ध गराएको छ । नगरपालिकाले खुला टेण्डरमार्फत धानको बिउ खरीद गरेर किसानलाई ५० प्रतिशत अनुदानमा बिउ उपलब्ध गराएको हो ।

चालू आर्थिक वर्ष २०७७/७८ को नियमित कार्यक्रमअनुसार नगरपालिकाले नगरका सबै वडाका किसानलाई सावाँ धान, सावित्री धान र राम धानको बिउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले बताए ।

धानको बिउ राख्ने बेलामा किसानहरु नठगिउन् र धानको बिउ अभाव नहोस् भनेर खुला टेण्डरमार्फत खरीद गरेर किसानलाई समयमै उपलब्ध गराइएको उनको भनाइ छ । ‘धानको बिउ राख्ने समयमा हरेक वर्ष बिउको अभाव हुने तथा किसानहरु ठगिने हुँदै आएका थियो’, सापकोटाले भने, ‘किसानलाई राहत दिनका लागि नगरपालिकाले अनुदानमा गुणस्तरीय बिउ उपलब्ध गराएको हो ।’

बजारमा प्रतिकिलो रू. ११० मा विक्री हुने धानको बिउ नगरपालिकाले खुल्ला टेण्डरमार्फत रू. ७२ मा खरीद गरेर किसानहरुलाई रू. ३६ मा उपलब्ध गराएको सापकोटाले बताए । नगरपालिकाभित्रका चार हजार ५०० घरधुरीलाई ५१ हजार ३१० किलो धानको बिउ अनुदानमा वितरण गरिएको सापकोटाले बताए । नगरपालिकाले रू. ३५ लाख लागतमा खरीद गरेको बिउ किसानलाई रू. १७ लाख ५० हजारमा वितरण गरिएको सापकोटाले जानकारी दिए ।

अनुदानमा गुणस्तरीय धानको बिउ पाउँदा किसानहरु समेत हर्षित छन् । मध्यविन्दु–२ पतबारीका किसान केशव घिमिरेले यस वर्ष समयमै धानको बीउ पाउनाले आफूहरुले दुःख नपाएको बताए ।

अघिल्ला वर्षहरुमा बीउ पाउनै मुस्किल हुने गरेको भन्दै धानको बीउ जसरी नै रासायनिक मलसमेत सहजरूपमा पाउन सके उत्पादनमा वृद्धि हुने घिमिरेको भनाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया