काठमाडौंः वस्तुविनिमय बजार (कमोडिटी एक्सचेन्ज) सञ्चालनका लागि लामो समयदेखि विभिन्न प्रक्रिया थालिए पनि अब भने चाँडै नै यसले पूर्णता पाउने भएको छ । सरकारले बजेट वक्तव्यमा नै पारेकाले आगामी आवको शुरूमै यसलाई सञ्चालन गर्नेगरी नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तयारी तीव्र पारेको छ ।
बजेट भाषण हुनुअगावै बोर्डले सरोकारवालाहरूबाट सुझाव संकलन गर्न ‘वस्तुविनिमय बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रक्रियागत व्यवस्थासम्बन्धी निर्देशिका, २०७७’ को मस्यौदा सार्वजनिक गरेको थियो । बोर्डले एक दर्जनभन्दा बढी सुझाव संकलन गरिसकेको बताएको छ ।
प्राप्त सुझावलाई सञ्चालक समितिमा राखेर निर्देशिकालाई अन्तिम रूप दिएपछि आवेदनका लागि सूचना निकाल्ने बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बताए । ‘दर्जनभन्दा बढी सुझाव संकलन भइसकेको छ । अधिकांशले चुक्ता पूँजीबारे फेरि विचार गर्न भनेका छन् । सञ्चालक समितिको वैठकले निष्कर्ष निकाल्छ । समितिका केही सदस्य कोरोना संक्रमित भएकाले बैठक बस्न ढिला भएको हो । उहाँहरू स्वस्थ भएपछि बैठक बस्नेछ,’ उनले अभियानसँग भने ।
मस्यौदाअनुसार कृषिसँग सम्बद्ध वस्तुको कारोबार गर्ने कम्पनीको चुक्ता पूँजी रू। १ अर्ब हुनुपर्नेछ । कृषि र धातुसम्बन्धी कारोबार गर्ने कम्पनीको डेढ अर्ब रुपैयाँको चुक्ता पूँजी तोकिएको छ । -आर्थिक अभियान दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया