श्रावण ५, २०८२ सोमबार July 21, 2025

मुख्यमन्त्री भट्टको राजीनामा माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सुदूरपश्चिम प्रदेशसभाको आज शुरु भएको बजेट अधिवेशनमा नेकपा एमालेका प्रदेशसभा सदस्य एवं निवर्तमान मन्त्री पठानसिंह बोहराले मुख्यमन्त्रीको राजीनामा माग गर्नुभएको छ ।

बैठकको प्रारम्भमा सभामुखसँग समय लिएर बोहराले नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्टको नेतृत्वको सरकारलाई दिएको समर्थन नेकपा एमालेले फिर्ता लिइसकेको अवस्थामा सरकार अल्पमतमा परेकाले मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने माग गर्नुभयो ।

समर्थन फिर्तापछि प्रदेशसभामा आफूहरु प्रतिपक्षी दलका सदस्य भइसकेकोले बस्ने सिटको व्यवस्थापन मिलाउनसमेत ध्यानाकर्षण गराउनुभयो । बोहरा मुख्यमन्त्री भट्टको नेतृत्वको सरकारका निवर्तमान भौतिक पूर्वाधार विकासमन्त्री हुनुहुछ । नेकपा एमालेमा उत्पन्न आन्तरिक किचलोसँगै मुख्यमन्त्रीले उहाँलाई केही महिनाअघि जिम्मेबारीबाट मुक्त गर्नुभएको थियो ।

आन्तरिक विवादकै बीच मुख्यमन्त्रीले केही दिनअघि मात्र मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको थियो । प्रदेशसभामा नेकपा एमाले संसदीय दलमा माधव नेपाल पक्षको बहुमत रहेको छ । यही जेठ १० गते बसेको नेकपा एमालेको स्थायी समिति बैठकले मुख्यमन्त्री भट्ट नेतृत्वको सरकारलाई समर्थन फिर्ता लिने निर्णय गरेको थियो तर यो निर्णयको अहिलेसम्म कार्यान्वयन भएको छैन ।

आजको बैठकको विशेष समयमा नेकपा एमाले संसदीय दलका तर्फबाट सदस्य अमरबहादुर साउदले संसदीय दलको हालै बसेको आठौँ बैठकले अहिलेको सरकारलाई दिएको समर्थनलाई यथावत् राख्ने निर्णय गरिएको भन्दै सत्तापक्षकै सदस्यबाट मुख्यमन्त्रीको राजीनामा माग हुनु आश्चर्यजनक भएको बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक अक्कलबहादुर रावलले शहीदहरुको बलिदानी र लामो सङ्घर्षपछि प्राप्त राजनीतिक उपलब्धीमाथि फेरि पनि खतरा उत्पन्न भइरहेको भन्दै यो व्यवस्था जोगाउन संविधान र विधि पद्धतिअनुसार काम गर्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले पार्टीको आन्तरिक किचलोलाई लिएर दुई÷दुई पटक केन्द्रीय संसद् विघटन भएको घटना देशकै लागि विडम्बना भएको भन्दै हरेकले विधि, पद्धति, मूल्य र मान्यतालाई अङ्गीकार गरेर हिँड्नै पर्ने बताउनुभयो । उहाँले नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने बताउनुभयो । राष्ट्रिय जनता पार्टीका कृष्णबहादुर चौधरीले पद र कुर्सी प्राप्तिको लडाइँले राजनीति अन्योल र अस्थिर बनेको भन्दै सत्तामोहमा नलागी जनताका पक्षमा काम गर्नुपर्ने बताउनुभयो ।

बैठकको प्रारम्भमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी प्राप्त पत्र वाचन गरेर सुनाउनुभएको थियो ।

यसअघि बजेट अधिवेशनअन्तर्गत आजै बसेको पहिलो बैठकमा सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको निधनप्रति शोक प्रकट गर्न एक मिनेट मौनधारण गर्नुका साथै शोक प्रस्ताव पारित गरिएको थियो । कैलाली जिल्ला निवासी पहिलो प्रदेश प्रमुख मल्लको केही दिनअघि उपचारका क्रममा काठमाडौँमा निधन भएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया