असार २५, २०८२ बुधबार July 9, 2025

चौपट राजनीति, बिलखबन्द दल – प्रा. कृष्ण खनाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अहिले राजनीति चौपट छ । संविधान कहाँ धसिएको छ, प्रणाली कता भासिएको छ, केही छुट्याउन सकिँदैन । प्रधानमन्त्री केपी शर्मा ओलीको एकल राज पूर्ण रफ्तारमा छ । गत शुक्रबार मात्र उनले मन्त्रिमण्डलमा व्यापक फेरबदल गरे ।

तीन–तीन जना उपप्रधानमन्त्री भएका छन् । जसपा ठाकुर–महतो समूहका दस जना सरकारमा भित्र्याइए, महतो उपप्रधानमन्त्री भए । सिंगो सजपा आउँदा पनि बढी अनुपात ठाकुर–महतो समूहले पाएको छ । कुन दिन अरू को–कति थपिन्छन्, हेर्न बाँकी नै छ ।

सञ्चारकर्मी मित्रहरूले प्रश्न गर्छन्, ‘प्रधानमन्त्रीको यो कदम कस्तो लाग्योे ? कामचलाउ सरकारले यस्तो गर्न मिल्छ ?’ कोही ‘तपाईंको बाइट चाहियो’ भन्छन् । मसँग, सायद अरूसँग पनि, यसलाई बुझ्ने र व्याख्या गर्ने कुनै आधार छैन । यसको एउटै उत्तर हो- निरंकुश शासक (डेस्पोट) को कामलाई संविधान, प्रणाली वा कुनै राजनीतिक मूल्य–मान्यतामा हेर्न खोज्नु मूर्खता हो । निरंकुशताको कुनै प्रणाली हुँदैन ।

एक वर्षदेखि प्रधानमन्त्री ओलीका कामलाई पछ्याउन निकै कठिन भएको छ । उनका काम र शैलीसँग संविधान, ऐन–नियम, राजनीतिक मूल्य–मान्यताको कुनै सरोकार देखिँदैन । संविधान उनले मानेका होइनन्, दिएका हुन् । मान्ने काम हाम्रो हो, उनको होइन । विगत सत्तरी वर्षको इतिहासमा ओलीजस्तो निरंकुश शासक अर्को कोही भएन भन्ने अवस्था बनेको छ । जुन वाणी र शैलीमा उनी प्रस्तुत हुन्छन्, त्यसले सबैलाई माथ गरिदिन्छ । चन्द्रशमशेर पनि उनको अगाडि होचा ठहरिन्छन् होला ।

मनोविश्लेषकहरू भन्छन्- निरंकुश शासकहरूमा एउटा समान मनोवृत्ति हुन्छ, ‘म जे गर्छु त्यही ठीक हो, मैले भनेको र गरेको गलत हुन सक्तैन ।’ यो वर्णन अहिले ओलीमा पूरै लागू हुन्छ । कम वा बढी ‘म’ भन्ने अहंकार सबैमा हुन्छ । यो मान्छेमा निहित मनोगत अर्थात् इगो समस्या पनि हो । मात्रा मिले यो आत्मविश्वास मानिन्छ, नमिले अहंकार । सत्तामा पुगेपछि त्यही अहंकार निरंकुश प्रवृत्ति बन्छ, शासकीय निरंकुशता जन्मिन्छ । कुनै बेला त्यो विश्वकै लागि संहारकारी बन्छ, नरसंहारमा धकेल्न सक्छ । जर्मनीका एडोल्फ हिटलर यसको सबैभन्दा बदनाम पात्र हुन् ।

निरंकुश शासकको कामलाई संविधान, प्रणाली वा कुनै राजनीतिक मूल्य–मान्यतामा हेर्न खोज्नु मूर्खता हो । निरंकुशताको कुनै प्रणाली हुँदैन ।

वंशानुगत राजा–महाराजलाई निरंकुश बन्न सेनालगायत राज्यको परम्परागत शक्ति सजिलै उपलब्ध हुन्छ । तर लोकतन्त्रमा त्यो हुँदैन । चुनाव र राजनीतिक दल त्यसको धारिलो हतियार बन्न सक्छ । नाजीवाद, फासीवाद र कतिपय सन्दर्भमा साम्यवादमा पनि पार्टी नै त उपयोग भएको छ निरंकुशताका लागि । चाहे हिटलर र मुसोलोनी होऊन् वा स्टालिन र पोलपोट, सबैले पार्टीलाई उपयोग गर्दै आफ्नो गिरोह बनाएका थिए । असहमतहरूलाई पार्टीबाट पजनी गर्थे, थुन्थे र मार्थे ।

निरंकुश शासकहरू पनि जनहितको कुरा नगर्ने होइनन्, अझ बढी गर्छन् । चर्को राष्ट्रवाद, समाजवाद वा हितको नारा दिन माहिर हुन्छन् । सबै आफूलाई अति नै विशिष्ट व्यक्ति हुँ भन्ने र सबैबाट प्रशंसित हुने मनोभावना राख्छन् । ‘मैले नै सबैका चाहना पूरा गर्न सक्छु, आफ्नो काम र वचनप्रति म अत्यन्त इमानदार छु, मेरो छाती विशाल छ, अरूका प्रति अनुराग र दयाको भावना छ, तिनका पक्षमा चिन्तन गर्छु र लेख्छु’ भन्ने पनि हुन्छ । आफ्ना बारेमा त्यो विशालताको अनुभूतिमा अरू सबै भारेभुरे देखिन्छन् । आफूले अरू कसैलाई मान्न–गन्न आवश्यक छैन भन्ने मनोग्रन्थि बोकेका हुन्छन् निरंकुश शासकहरूले । यथार्थमा निरंकुश शासक अरूको अधिकार, सम्मान र मर्यादाप्रति उत्तिकै बेपरबाह हुन्छन् । लोकतन्त्रको बाहिरी आवरणको भाषण छाँट्छन् तर त्यसको मर्यादा र व्यवहार गर्दैनन् ।

प्रतिनिधिसभा विघटित छ, सरकारले चुनावको घोषणा गरेको छ । दलहरू विभाजित र अन्योलग्रस्त छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना वा विघटन सदर, जे फैसला गरे पनि अगाडिको बाटो केवल प्रधानमन्त्रीको कुर्सीमा बसेर ओलीले जता ‘डिक्टेट’ गर्छन्, त्यही हुने सम्भावना देखिन्छ । ओलीतन्त्रको विध्वंस मच्चिएको त छ नै, अरू खेलाडीको पनि कुनै दम र हैसियत देखिएन । यो थप चिन्ताको कुरा हो । सशक्त प्रतिवादको त कुरै छाडौं, अलि सुन्न र देख्नलायक प्रतिक्रिया पनि पाउन सकिन्न विरोधी र विपक्षीहरूबाट । लाग्छ, ओलीतन्त्रको आगोमा पिल्सिएर उनीहरूको जीवनतत्व ह्रास भएको छ ।

एमालेमा माधव–झलनाथ समूहको एकता अलमल र विभाजित जसपाको ठाकुर–महतो टोलीका कारण संसद् पुनःस्थापना हुँदैमा ओली हट्छन् भन्न सकिन्न । अब त, ठाकुरको कथित ‘तटस्थता’ पनि सकियो । ओलीका विरुद्ध पहिलेजस्तै अविश्वासको प्रस्ताव पनि नजाने, उनले विश्वासको मत पनि नपाउने स्थिति दोहोरिन सक्छ । वास्तवमा उनी विश्वासको मतका लागि प्रयत्नशील पनि छैनन् । उनी त्यो बाटामै हिँड्न चाहेका छैनन् । केवल आफूविरुद्ध अर्काले बहुमत देखाउन नपाओस् भन्नेसम्म हो । त्यसपछि यही प्रतिनिधिसभाको तेस्रो पटक विघटन गर्न कुनै संवैधानिक पर्दा बाँकी रहनेछैन । तसर्थ अदालतको रिहर्सलले पनि ओलीतन्त्रलाई पाको बनाउनेबाहेक अरू केही होला जस्तो लाग्दैन । राजनीतिमा विकल्प दिनुपर्नेहरू नादान भएपछि अदालतले गरिदिएर मात्र के हुन्छ र ?

ओलीका यी क्रियाकलापका पछाडि भारत छ भनेर धेरै मानिस टिप्पणी गर्छन् । भारत कहिले थिएन र नेपालको राजनीतिमा ? चाहे मोदी होऊन्, गान्धी वा नेहरू, नेपालसँग गर्ने व्यवहार कहिले फरक भएको छ र ? भारत वा चीनतर्फ औंला देखाउँदैमा अहिलेको राजनीतिलाई बुझ्न र यसबाट पार पाउन सकिन्न । ओलीका रूपमा अहिले जुन पात्रको उदय भएको छ, यो बुझिनसक्नु छ । सायद भारतीय सुरक्षा संयन्त्र, खास गरी ‘रअ’ ले ओलीको गहिरोसँग मनोविश्लेषणात्मक अध्ययन–अनुसन्धान गरेको हुनुपर्छ । त्यसैले त नेपालको राजनीतिमा प्रत्युत्पादक हुन पुगेको भारतीय कूटनीति अहिले फेरि चमचमाएको छ । पात्र उनै छन्, व्यवहार र परिणाम बदल्न पात्रको मनोविज्ञान जान्नु आवश्यक हुन्छ ।

हाम्रा टिप्पणीहरू पनि सतहमै सीमित छन् । हामी राजनीतिक दलका बासी पाठ, थोत्रा पात्र र तिनले पैदा गरेका विकृतिजन्य घटनालाई मात्र हेर्छौं । यसका नेतृत्वदायी पात्रहरूको मनोविश्लेषणमा आधारित अध्ययनको आवश्यकता बढेको छ । मनोविश्लेषण मेरो विषय होइन । त्यस्ता अध्ययनमा आधारित केही राजनीतिक विश्लेषण भने गर्न सकिन्छ । त्यसैले अहिलेको राजनीतिक संकट बुझ्नका लागि अलि फरक ढंगले विमर्श गर्नु आवश्यक छ । यो संकटको स्रोत व्यक्तिको व्यवहार हो, संविधान वा प्रणाली होइन । व्यक्तिमा यो प्रवृत्ति रहेसम्म जुनसुकै प्रणाली अपनाए पनि आउने परिणाम यस्तै हुन्छ ।

आजको यो स्तम्भमा मैले नेपालको वर्तमान राजनीतिका दुइटा पक्षलाई सँगै राखेर हेर्न खोजेको छु । राजनीतिमा विचलन र विकृति बढेको छ । नेपालमा मात्र होइन, विश्वव्यापी छ । यी हिजो पनि थिए । तिनका विरुद्ध अलि भरलाग्दा आशाहरू छन् र एउटा सीमामा सीमित गर्न सकिएको छ भने त्यति चिन्ता गर्नुपर्दैन । राजनीति फूलैफूलको संसार होइन । अनेक किसिमका गलत प्रवृत्ति पनि सँगै पलाउँछन् र बेलाबेलामा झाँगिन्छन् पनि । जिम्मेवारीमा बस्ने मानिसले त्यसको थोरै छाँटकाट गरे मात्र पनि राजनीतिले त्यति बाटो बिराउँदैन । मानिसमा आशा बाँचिरहन्छ ।

हामीलाई अहिलेसम्म खुला समाज र आवरणमै भए पनि लोकतन्त्रको फाइदा छ । राजनीतिमा मौलाएको विकृति देख्न सकिन्छ, टीकाटिप्पणी गर्न पाइन्छ । नियन्त्रित समाजमा जस्तो त्यो लुक्तैन । शासकले जति प्रयत्न र छेकबार गरे पनि बाहिर आइहाल्छ । सञ्चारमाध्यमले धर्म छाडेका छैनन्, सबै बाहिर आएको छ । हामी सबैले देख्न–जान्न पाएका छौं । डर निरंकुशता बढ्दै गर्दा ‘गोदी मिडिया’ को छाया पर्ला कि भन्ने मात्र हो ।

खुला समाजका अरू अवयव विकसित भइनसकेको हाम्रोजस्तो मुलुकमा लोकतन्त्रकै दुरुपयोग गरेर चुनाव र दलको आडमा निर्वाचित तानाशाह (अटोक्र्याट-डेस्पोट) पैदा हुने भय हुन्छ । अटोक्र्यासी÷डेस्पोटिजम कुनै प्रणाली होइन, व्यक्तिमा अन्तर्निहित शासकीय दुष्प्रवृत्तिको एउटा प्रकट रूप हो । प्रधानमन्त्री ओली यतिखेर त्यसको नेपाली भर्सन बनेका छन् । हामीले यसरी चर्चा गर्न पाउन्जेल उनको अझ चर्को रूप आइसकेको छैन भनेर मान्नुपर्ने हुन्छ । अहिलेका प्रयत्नहरू त्यो अवस्थाबाट रोक्नका लागि हो ।

अब त, ठाकुरको कथित ‘तटस्थता’ पनि सकियो । ओलीका विरुद्ध पहिलेजस्तै अविश्वासको प्रस्ताव पनि नजाने, उनले विश्वासको मत पनि नपाउने स्थिति दोहोरिन सक्छ ।

विकृति, विचलन नियन्त्रण गर्नुपर्ने विषय हुन्, पूरै फाल्न सकिन्न । तर निरंकुशताको नियन्त्रण हुँदैन, त्यसलाई फाल्नैपर्छ । निरंकुशतामा त्यसलाई फाल्ने कुरा प्रमुख हुन्छ, विकृतिको पक्ष गौण हुन जान्छ । २०४८–५८ मा पनि विकृति निकै मौलाएको थियो । जब ज्ञानेन्द्रको शाही निरंकुशता बढ्यो, राजनीति त्यतातिर केन्द्रित भयो । ज्ञानेन्द्र हटे, ठूलो राजनीतिक परिवर्तन भयो । तर विकृति झन् बढ्यो । नयाँ शक्तिका रूपमा आएका माओवादी र मधेसी दलहरू पनि त्यसमै रमाए । कोही चोखो रहेन ।

विकृति र विचलनको रजगजमा राजनीतिले ‘सबैको हित’ भन्ने आफ्नो स्वाभाविक एवं मौलिक तत्व गुमाउँछ । लोकतन्त्रका अन्तर्निहित रसायनहरू सुक्न थाल्छन् । निजी लेनदेन, फाइदा–बेफाइदाको हिसाबकिताबमा राजनीति चल्छ । नेता, कार्यकर्ता, समर्थक सबै, यहाँसम्म कि मतदातासमेत यसमा मलाई के फाइदा भनेर भोटको मोलमोलाइ गर्न थाल्छन् । निजी फाइदा नदेखे नेताहरू पनि राजनीतिको कुनै मुद्दा उठाउन चाहँदैनन् । यतिखेर यो प्रवृत्ति नेपालको राजनीति चरम विन्दुमा पुगेको छ । पार्टी एकताका नाममा एक थरी आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्न चाहन्छन्, जोखिम मोल्न चाहँदैनन् । एमालेमा माधव–झलनाथ समूहको अलमल त्यसकै परिणाम हो । विपक्षी नेपाली कांग्रेस पनि सत्तामा रहुन्जेल ओलीबाट लिने फाइदाको मोलमोलाइमै छ । जब राजनीति गर्ने मानिस जोखिम मोल्न तयार हुँदैन, निरंकुश शासनलाई रोक्ने कसले ?

मैले यहाँ अलि प्राथमिकतासाथ उठाउन खोजेको कुरा लोकतान्त्रिक कलेवरको राजनीतिमा पनि निरंकुश शासक जन्मिन्छ भन्ने हो । विकृति र विचलनले ओली हुनु वा नहुनुमा त्यति फरक राख्दैन । यो हिजो पनि थियो । ओली हटेपछि भोलि पनि रहनेछ, मात्रा तलमाथि होला । फरक त्यति मात्र हो, निरंकुशता र विकृति मिसिएपछि विकृतिको चर्चा गर्नुको अर्थ रहँदैन । निरंकुशताले सबैलाई उछिन्छ ।

नेपालमा राजनीतिक नेताको मनोविश्लेषण गर्ने, त्यसको अध्ययन गर्ने चलनै छैन । जिन्दावाद र मुर्दावादको नाराजस्तो प्रशंसा र विरोधलाई नै हामीले अध्ययन, मूल्यांकन ठान्यौं । बीपी कोइरालाले राजा महेन्द्रका बारेमा थोरै मनोविश्लेषणात्क टिप्पणी गरेका छन् । महेन्द्रमा कस्तो दोष मनोग्रन्थि थियो र त्यसले कसरी उनको राजनीतिक व्यवहारलाई ग्रसित गरेको थियो भनेर संक्षेपमा चर्चा गरेका छन् बीपीले आफ्ना स्मरणहरूमा । त्यो पनि एउटा ‘अब्जर्भेसन’ मात्र हो, अध्ययन होइन । त्यति टिप्पणी पनि हामीले नेताहरूका बारेमा गरेका छैनौं ।

राजनीतिमा सिद्धान्त र प्रणाली महत्‍वपूर्ण विषय हो, तर त्यो स्थूल पक्ष हो । तर परिणाम दिने व्यक्तिको काम र व्यवहारले हो । व्यवहारकेन्द्री अध्ययन र विश्लेषणबाट जसमा मनोविज्ञान पक्ष निकै महत्वपूर्ण मानिन्छ, व्यक्तिका व्यवहारहरूको सूक्ष्म पक्षलाई बुझ्न सकिन्छ । मनोविज्ञानले व्यक्तिको जीवनको पूर्वभागमा भोगेका भौतिक वञ्चितिले उसको जीवनको पछिल्लो भाग प्रभावित गर्छ । एउटा सामान्य अवलोकन गर्न सकिन्छ, यसबीचमा कांग्रेस, एमाले, माओवादी वा मधेसीलगायत जो जति मन्त्री भए, सत्ताको स्वाद बसिसकेपछि उनीहरूको जीवनशैलीमा मात्र होइन, चेहरामै परिवर्तन आएको छ, किन होला ? विगतको वञ्चिति र हाल हात लागेको अवसरप्राप्तिको मात्राको मनोवैज्ञानिक विश्लेषण गर्न सके त्यसै स्पष्ट हुन्छ । आक्षेप र अनुमानको पछि लाग्नुपर्दैन ।

प्रधानमन्त्री ओलीलाई म व्यक्तिगत रूपमा चिन्दिनँ । उनीसँग मेरो दोहोरो कुराकानी त के, भेट नै भएको छैन भने हुन्छ । उनका बारेमा मैले जान्ने आधार सार्वजनिक स्रोतहरू मात्र हुन् । उनको मनोग्रन्थि र व्यवहार जान्न त्यही नै यथेष्ट छन् । ओलीको मात्र किन र ? के प्रचण्डमा छैन मनोव्यवहारको प्रभाव ? किन होला, उनले आफूलाई भेट्न आउने मानिसका बीच नेपालको झन्डा र बुद्धको मूर्ति सधैं प्रदर्शन गर्छन् ? देउवा होऊन् वा माधव नेपाल, कोही पनि विगतको चेतन वा अवचेतन छायाबाट मुक्त हुन सक्तैन । सबै व्यक्तिका काम र व्यवहार त्यसबाट प्रभावित भइरहेका हुन्छन् । कान्तिपुरबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार