काठमाडौंः राजस्व अनुसन्धान विभागले करीब १६ करोड रुपैयाँ विगो बराबरको राजस्व छली गर्ने १० जना विरुद्ध सोमवार मुद्दा दर्ता गरेको छ ।
विभागले ती अभियुक्तहरुविरुद्ध भन्सार छली एबं झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको विजक प्रयोग गरी राजस्व चुहावट गरेको तथ्यको आधारमा उच्च अदालतमा मुद्दा दर्ता गरिएको बताएको छ । जसमा एक जना भारतीय नागरिक पनि रहेका छन् ।
झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको विजक सुनसरीको धरान उप–महानगरपलिका–१२ बस्ने ग्लोवल इम्पेक्स ईन्टरनेशनलका प्रोपाइटर किसनकुमार अग्रवालले ४ करोड ४२ लाख रुपैयाँ विगो बराबरको राजस्व छली गरेको अभियोग छ । उक्त विगो असुल गरी जरिवाना र कैद सजायको माग लिई उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको विभागले बताएको छ ।
उनले मालवस्तु स्थानीय खरीद तथा आयात नगरी, झुट्टा खरीद देखाई विभिन्न फर्मलाई विक्री बीजक जारी गरी उक्त फर्मबाट विक्री रकम भुक्तानी लिई सो बीजकमार्फत असुल गरेको मूल्य अभिवृद्धि कर रकम सरकारी कोषमा दाखिला नगरेको पाइएको छ । साथै उनले विभिन्न फर्मलाई नक्कली एवं झुट्टा बीजक उपलब्ध गराई जालसाजीसमेत गरेको आरोप छ ।
यसैगरी विभागले सोही स्थानका एसएन इन्टरनेशनलका सञ्चालक रामनिवास अग्रवालमाथि मुद्दा चलाएको छ । उनले ४ करोड ५२ लाख रुपैयाँ विगो बराबरको राजस्व छली गरेको खुलेको छ ।
अग्रवालमाथि मालवस्तु खरीद तथा आयात नगरी, झुट्टा खरीद देखाई विभिन्न फर्मलाई विक्री बीजक जारी गरी उक्त फर्मबाट विक्री रकम भुक्तानी लिई सो बीजकमार्फत असुल गरेको मूल्य अभिवृद्धि कर रकम सरकारी कोषमा दाखिला नगरेको आरोप छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया