असार २६, २०८२ बिहिबार July 10, 2025

अगाडि जाने कि पछाडि फर्कने ? – केशब दाहाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अगाडि जाने कि पछाडि फर्कने ? नेपाली राजनीति कहिलेकाहीँ अनौठा प्रश्नहरूसँग ठोक्किन आइपुग्छ । यो त्यस्तै अनौठो र अनावश्यक प्रश्न हो । तर लोकतन्त्रमा राम्रा र नराम्रा सबै खाले प्रश्न आउँछन् । त्यसैले प्रश्नहरूसँग भागेर हुँदैन । प्रश्नहरूलाई सामना गर्नुपर्छ ।

वस्तुतः २०४६ सालदेखि आजसम्म आइपुग्दा हाम्रो राजनीति जुन तहमा परिणामविहीन भयो, त्यसले यो प्रश्नलाई जागृत गर्नु अस्वाभाविक होइन । निश्चय नै, पछिल्ला उपलब्धिहरूले जनताको जीवनलाई बदल्न सकेनन् । सर्वत्र अस्थिरता देखियो । भ्रष्टाचार र गुटतन्त्र व्यापक बन्यो । परिणाम, प्रश्न आयो- यो सब किन भइरहेको छ ? अब कता जाने ? अतः आजलाई यी र यस्तै प्रश्नहरूमाथि केही विमर्श गरौं ।

१. असफलताको भाष्य

पछिल्ला राजनीतिक असफलताहरूलाई हेर्ने हामीसँग मुख्यतः तीन खाले दृष्टिकोण छन् । पहिलो दृष्टिकोणले संघीय लोकतान्त्रिक गणतन्त्रलाई पछिल्ला असफलताहरूको मुख्य कारण मान्छ । परम्परागत शक्ति, पूर्व संस्थापन समूह, राप्रपा र कांग्रेस अनि एमालेको सानो तप्का यो दृष्टिकोणको पक्षमा क्रियाशील छ । दोस्रो दृष्टिकोणले भन्छ, अहिलेका उपलब्धिहरू संसारकै उन्नत र अकाट्य उपलब्धिहरू हुन् । देशमा जे भइरहेको छ, गज्जब छ । त्यसैले यसलाई निरन्तरता दिनुपर्छ । वस्तुतः यो कांग्रेस र एमालेभित्र हुर्किएको सत्तासीन दृष्टिकोण हो ।

तेस्रो दृष्टिकोणले भन्छ-अवश्य नै संघीय लोकतान्त्रिक गणतन्त्र हाम्रो महत्त्वपूर्ण उपलब्धि थियो, तर यसलाई परम्परागत राजनीतिले उठ्नै नसक्ने गरी कमजोर, विकृत र गतिहीन बनाइदियो । अतः अब यथावस्था संघीय लोकतान्त्रिक गणतन्त्रले परिणाम दिँदैन । त्यसैले यसलाई समृद्ध गर्नुपर्छ, जसका लागि राजनीतिक पुनर्गठन र लोकतान्त्रिक अग्रगमन आवश्यक छ । तेस्रो मतमा मुख्यतः विवेकशील साझा पार्टी, पूर्व नयाँ शक्तिसम्बद्ध राजपा समूह, कांग्रेस–एमालेभित्रको आलोचनात्मक युवा जमात, नागरिक अभियन्ताहरू र वैकल्पिक राजनीतिको वकालत गर्नेहरू छन् । यद्यपि यी सबै विचारधारा ध्रुवीकृत छैनन् । अनेक पार्टी, समूह र उपसमूहहरूमा विभक्त छन् ।

पहिलो दृष्टिकोण मान्नेहरू पछाडि फर्कनुपर्ने वकालत गर्छन् । उनीहरू संवैधानिक राजतन्त्र र केन्द्रीकृत शासन व्यवस्थाको पक्षमा छन् । राजनीतिशास्त्रमा यस्तो प्रवृत्तिलाई पश्चगामी प्रवृत्ति भनिन्छ । दोस्रो दृष्टिकोण राख्नेहरू अहिले जे छ यसैलाई निरन्तरता दिन चाहन्छन् । उनीहरूका लागि यो रामराज्य हो । उनीहरू यथास्थितिवादी हुन् । तेस्रो दृष्टिकोण राख्नेहरू संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ समृद्ध र प्रभावकारी बनाउनुपर्ने मत राख्छन् । उनीहरू अगाडि जान चाहन्छन् । उनीहरू अग्रगामी हुन् । समग्रमा हेर्दा, यिनै तीन दृष्टिकोणबीचको अन्तरविरोध नै समकालीन नेपाली राजनीतिको मुख्य अन्तरविरोध हो । आजका संकटहरूको समाधान पनि यिनै अन्तरविरोधहरूभित्र निहित छ ।

२. हलचलको पक्षमा

राजनीतिमा अग्रगामी हलचल आजको आवश्यकता हो । यसको अर्थ, निश्चय नै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्छ, तर अहिलेकै अवस्थामा टेको लगाएर यो उभिन सक्दैन । यसलाई यति धेरै जर्जर बनाइयो कि साधारण सुधारको टेकाले मात्र यसलाई लड्नबाट बचाउन सकिँदैन । अतः यसलाई जोगाउने हो भने बलियो टेको दिनुपर्छ । राजनीतिक पुनर्गठन र लोकतान्त्रिक अग्रगमनको टेको, जसलाई निम्नानुसार सूत्रबद्ध गर्न सकिन्छ—

२.१. लोकतन्त्रिक अग्रगमन : हामीले गर्नैपर्ने पहिलो र महत्त्वपूर्ण काम लोकतन्त्रको अग्रगामी व्याख्या र प्रयोग हो । आज हामीसँग जुन लोकतन्त्र छ, यो सीमित लोकतन्त्र हो । यो प्रतिनिधिमूलक लोकतन्त्र हो । यो औपचारिक लोकतन्त्र हो, जसलाई दोस्रो र तेस्रो पुस्ताको ठिमाहा लोकतन्त्र भन्न सकिन्छ । हामी संघीय लोकतान्त्रिक गणतन्त्रलाई प्रभावकारी बनाउन चाहन्छौं भने ‘चौथो पुस्ताको लोकतन्त्र’ यसको पहिलो र मुख्य सर्त हो ।

चौथो पुस्ताको लोकतन्त्र भनेको के हो ? सर्वप्रथम लोकतन्त्रका पुस्ताहरूबारे कुरा गरौं । जस्तो, पहिलो पुस्ताको लोकतन्त्र मुख्यतः परम्परागत लोकतन्त्र हो । जो प्राचीन नगरराज्य वा गणराज्यहरूमा अभ्यास गरिन्थ्यो । तर मेसेडोनियामा अलेक्जेन्डर महान्को उदयसँगै लोकतन्त्रको प्रारम्भिक अभ्यास विलुप्त हुँदै गयो र संसारभर व्यक्तिको शासन (मोनार्की) सुरु भयो । सत्तामा वंश परम्पराहरू स्थापित हुँदै गए । सामन्तवादी युग सुरु भयो, जसले पहिलो पुस्ताको लोकतन्त्रलाई निर्ममतापूर्वक इतिहासको गर्तमा दबाइदियो ।

भनिन्छ, सामन्तवाद लगभग २३०० वर्ष चल्यो । र, १७ औं शताब्दीको सेरोफेरोमा विश्व राजनीतिमा तीन वटा ठूला घटना भए । पहिलो, बेलायतको गौरवमय क्रान्ति । दोस्रो, फ्रान्सको राज्य क्रान्ति । तेस्रो, अमेरिकाको स्वतन्त्रता संग्राम । यी तीन वटा उथलपुथलले मुख्यतः पुरानो सामन्ती वंश परम्पराको अन्त्य गरे र प्रतिनिधिमूलक लोकतन्त्रको नयाँ युग प्रारम्भ भयो । यो लोकतन्त्रको दोस्रो पुस्ता हो । तर कालान्तरमा यो व्यवस्थाका पनि सीमाहरू प्रकट हुँदै गए, जसले जनताको सार्वभौम अधिकारलाई पूर्ण रूपमा प्रवर्द्धन गरेन । न त सामाजिक न्याय स्थापित भयो, न सम्पूर्ण समृद्धि । यो व्यवस्था भ्रष्ट र संकीर्ण हुँदै गयो ।

हामी सानो र गरिब देशको हीनताबोधमा फस्यौं । आफूलाई निम्छरो बनायौं । त्यसैको प्रतिक्रियास्वरूप कोही अन्धराष्ट्रवादी भयौं, कोही प्रगतिशील राष्ट्रवादी, कोही लम्पसारवादी । यसलाई सुधार्नुपर्छ ।

मुख्यतः दोस्रो पुस्ताको लोकतन्त्रले उजागर गरेका असन्तुष्टिहरूको जगमा कम्युनिस्ट पार्टीको घोषणापत्र लेखियो । परिणाम, लेनिनको नेतृत्वमा सन् १९१७ मा रुसमा सर्वहारा क्रान्ति भयो । अक्टोबर क्रान्ति । त्यसपछि संसारभर मार्क्सवादी आन्दोलनहरूको लहर चल्यो । समाजवाद, जनवाद, जनतन्त्रजस्ता लोकतन्त्रका कम्युनिस्ट मोडलहरू प्रयोगमा आए । पूर्वी युरोप, चीन, रुसलगायतमा कम्युनिस्ट सत्ताहरू स्थापित हुँदै गए, जसलाई लोकतन्त्रको तेस्रो पुस्ता भन्न सकिन्छ ।

यद्यपि दोस्रो र तेस्रो पुस्ताका लोकतन्त्रका आफ्नै सीमाहरू थिए, जसले २० औं शताब्दीको अन्त्यसम्म आइपुग्दा व्यापक आलोचना र असन्तुष्टिको सामना गर्नुपर्‍यो । र, त्यसैको जगमा संसारभर नयाँ लोकतन्त्रको खोजी सुरु भयो । २१ औं शताब्दीको लोकतन्त्र ।नेपालमा जनआन्दोलन २०६२–६३ कांग्रेस र कम्युनिस्टहरूको नेतृत्वमा भएको संयुक्त जनआन्दोलन थियो । यो अर्थमा त्यो आन्दोलनले हामीलाई जुन लोकतन्त्र दियो त्यो मूलतः दोस्रो र तेस्रो पुस्ताको लोकतन्त्रको संयुक्त स्वरूप हो । त्यो ठिमाहा लोकतन्त्र हो, जसका आफ्नै सीमाहरू थिए । अतः त्यसले २१ औं शताब्दीका सपना र आवश्यकताहरूलाई सम्बोधन गर्न सकेन । हामीलाई चाहिएको थियो नयाँ लोकतन्त्र, तर आयो पुरानो लोकतन्त्र । यसर्थ नै चौथो पुस्ताको लोकतन्त्र आजको आवश्यकता हो ।

चौथो पुस्ताको लोकतन्त्र सहभागितामूलक लोकतन्त्र हो । प्रत्यक्ष लोकतन्त्र हो । समावेशी लोकतन्त्र हो । परिणाममुखी लोकतन्त्र हो । यसले भन्छ— ‘जन्मले हरेक व्यक्ति बराबर हुन्छ, उसको सार्वभौमिकता बराबर हुन्छ, उसको अधिकार बराबर हुन्छ र त्यो हस्तान्तरणीय हुँदैन । अतः जनप्रतिनिधिहरूले सदैव र सबै मुद्दाहरूमा मतदाताहरूको सार्वभौमिकताको प्रतिनिधित्व गर्न सक्दैनन् । यसर्थ नै राइट टु रिकल, नो भोट र रिफरेन्डम आवश्यक छ ।’

चौथो पुस्ताको लोकतन्त्रले मुख्यतः दलहरू हुनु र आवधिक निर्वाचनमा जनताले भोट हाल्नुलाई मात्र लोकतन्त्र मान्दैन । यो त्योभन्दा माथिल्लो स्तरको लोकतन्त्र हो, जसले राज्यमाथि जनताको नियमित पहुँच र नियन्त्रणको माग गर्छ । मुख्यतः समयसँगै लोकतन्त्र गतिशील हुनुपर्छ । यो स्थिर र जड हुनु हुँदैन । र, यसले जनतालाई राज्यको निष्क्रिय उपभोक्ता हैन, सक्रिय मालिक बनाउनुपर्छ । यो नै चौथो पुस्ताको लोकतन्त्रको आधारभूत प्रस्ताव हो । यो नै लोकतान्त्रिक गणतन्त्रलाई समृद्ध गर्ने आजको मुख्य आधार हो ।

२.२. प्रणालीहरूको रूपान्तरण : चौथो पुस्ताको लोकतन्त्रले स्वभावतः हाम्रो वर्तमान शासकीय स्वरूपमा परिवर्तनको माग गर्छ, जसका लागि गर्नुपर्ने कामहरू धेरै छन् । यद्यपि सात वटा महत्त्वपूर्ण प्रस्तावमाथि यहाँ चर्चा गरौं । पहिलो, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था । दोस्रो, सांसदहरू नै मन्त्री बन्ने प्रणालीको खारेजी । तेस्रो, प्रभावकारी शक्ति सन्तुलन र शक्ति पृथकीकरण । चौथो, कार्यकारी प्रमुखको कार्यकालको सीमा निर्धारण । पाँचौं, संवैधानिक संरचनाहरूको स्वतन्त्रताको सुनिश्चितता । छैटौं, निर्वाचनमा सुधार । सातौं, सुसंस्कार र सुशासन ।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था शासकीय सुधारको महत्त्वपूर्ण आधार हो । आफ्नो कार्यकारी प्रमुख छान्ने सार्वभौम अधिकार जनताले पाउनुपर्छ । यो लोकतान्त्रिक अधिकार हो । यसो गर्दा निर्वाचित कार्यकारीहरू तानाशाह हुन सक्छन् भन्ने जुन अभिमत छ, त्यसका लागि यथोचित नियन्त्रणका प्रबन्धहरू गर्न सकिन्छ । त्यसै गरी हामी सांसदहरूमध्येबाट मन्त्री छान्ने परम्परागत संसदीय प्रणालीको अभ्यास गरिरहेका छौं । यसले एकातिर सांसदहरूको नीतिगत र व्यवस्थापकीय जिम्मेवारी गौण बन्दै गएको छ भने, अर्कातिर स्वयं सरकार अस्थिर र क्षमताविहीन हुँदै गएको छ ।

सरकार गठन/विघटनमा निरन्तर सांसदहरूको संख्या हावी हुँदै जानु राम्रो कुरा होइन । यसका विकृतिहरू हामी सबैले देखेकै छौं । अतः यसलाई बदल्नुपर्छ र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले निश्चित मापदण्डका आधारमा संसद्बाहिरबाट मन्त्रिमण्डल गठन गर्ने विधिमा जानुपर्छ । यसो गर्दा मुख्यतः व्यवस्थापिकाले कार्यपालिकालाई स्वतन्त्र ढंगले नियमन गर्न पाउँछ । मन्त्री बन्ने लोभबाट सांसदहरू मुक्त हुन्छन् र निर्वाचनका बेथितिहरू पनि बिस्तारै सुधार हुँदै जानेछन् । यहीँनेर हामीले गर्नुपर्ने अर्को महत्त्वपूर्ण काम स्थानीयदेखि संघीय तहसम्मका सबै कार्यकारी प्रमुखहरूको पदावधि निर्धारण हो, जसलाई एक व्यक्ति दुई कार्यकालमा सीमित गर्नुपर्छ ।

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको शक्तिसन्तुलन र शक्तिपृथकीकरण आजको अर्को महत्त्वपूर्ण मुद्दा हो । अर्को मुद्दा हो— संवैधानिक अंगहरूको निष्पक्षता र प्रभावकारिता । अहिले राज्यका सबै अंगमा कार्यपालिकाको अनावश्यक प्रभाव बढ्दै गएको देखिन्छ । साथै, राज्यसत्ताको पार्टीकरण तीव्र हुँदै गएको छ, जुन लोकतन्त्रमा कसै गरी सुहाउने कुरा होइन । अतः यसलाई विधिसम्मत सन्तुलनमा लैजानुपर्छ । र, संवैधानिक अंगहरूमा हुने नियुक्तिलाई दलीय प्रभावबाट मुक्त गर्नुपर्छ । यसै गरी भ्रष्टाचारको अन्त्य र सुशासनको सुनिश्चितता हाम्रो अर्को मुद्दा हो, जसका लागि अख्तियार, सम्पत्ति शुद्धीकरण र सतर्कता केन्द्रजस्ता अंगहरूको संरचनागत सुधार वा शक्तिशाली लोकपालको गठन आवश्यक देखिन्छ ।

सुसंस्कृत राजनीति, स्वच्छ र निष्पक्ष निर्वाचन लोकतन्त्रको आधार हो । यसका लागि दलहरूको आर्थिक अनुशासन, आन्तरिक लोकतन्त्रको अभ्यास र सदस्यहरूको सार्वभौमिकताको प्रवर्द्धनजस्ता विषयहरूलाई अनुगमन गर्ने र कारबाही गर्न सक्ने गरी निर्वाचन आयोगको क्षमता वृद्धि गर्नुपर्छ । साथै, निर्वाचन कानुन र निर्वाचन आचारसंहिताको उल्लंघन आजको अर्को ठूलो समस्या हो । निर्वाचन आयोगलाई स्वतन्त्र र प्रभावकारी बनाई यस्ता समस्याहरू तत्काल हल गर्नैपर्छ । मुख्य कुरा लोकतन्त्रले ‘शक्तिको केन्द्रीकरण’ हैन, शक्तिको ‘लोकतान्त्रिक वितरण र सुसंस्कार’ को माग गर्छ । पार्टी र राज्य संरचनाहरूलाई त्यहीअनुसार पुनर्गठन गर्नु आजको अर्को अग्रगामी कार्यभार हो ।

२.३. राज्यचरित्रमा बदलाव : राजनीतिक परिवर्तनलाई स्थापित गर्न राज्यको उपरी संरचनामा फेरबदल गरेर मात्र हुँदैन । यसको चरित्र बदल्नुपर्छ । जस्तो, राजाको ठाउँमा राष्ट्रपति राख्दैमा राजनीतिक परिवर्तनको कार्यभार सकिँदैन । अहिलेको संकट के हो भने, हामीले राज्यको स्वरूप मात्र फेरबदल गर्‍यौं, चारित्रिक रूपान्तरण गरेनौं । चारित्रिक रूपान्तरण विशेषतः राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणसँग सम्बन्धित विषय हो । जस्तो, लैंगिक लगायत सामाजिक विभेदको अन्त्य कसरी गर्ने ? आर्थिक असमानता र शोषण अन्त्य गर्ने तरिकाहरू के–के हुन् ? अर्थतन्त्रको चरित्र कस्तो हुने ? विकासका ठूलठूला कुरा मात्र गरेर हुँदैन । साना तर जनताको जीवनलाई बदल्ने विषयहरूमा राज्यले ध्यान दिनुपर्छ ।

आजसम्म राजनीतिक पार्टीहरूले जनतालाई कम महत्त्व दिएको देखिन्छ । कसैले वर्ग भन्यौं । कसैले जात भन्यौं । कसैले क्षेत्र भन्यौं । कसैले धर्म भन्यौं । कसैले राजा भन्यौं । राजनीतिले सत्तास्वार्थका लागि समाजलाई फरकफरक प्रवर्ग र स्वार्थमा विभाजित गर्‍यो । अबको राजनीति र राज्य मूलतः मानवतामुखी र कल्याणकारी हुनुपर्छ । यसले गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, सुरक्षा र सार्वजनिक यातायातलाई आफ्नो दायित्वभित्र राख्नुपर्छ । भूमिसुधार, गरिबलाई रासनकार्ड, पूर्वाधार विस्तार, औद्योगिकीकरण, राष्ट्रिय उत्पादन वृद्धि, रोजगारी सृजना, आवासको ग्यारेन्टी, बिजुली र पानीको सर्वसुलभ वितरणजस्ता नागरिकको दैनिक जीवनसँग जोडिने विषयहरूमा अबको राज्य जिम्मेवार हुनुपर्छ । अन्यथा रूपमा संघीय लोकतान्त्रिक गणतन्त्र र चरित्रमा लुटतन्त्र कसरी सुहाउँछ ? संघीय लोकतान्त्रिक गणतन्त्रको अर्थ, ओज र गरिमा राज्य र राजनीतिको चरित्रमा झल्किनुपर्छ ।

साथमा हाम्रो नागरिक जीवनलाई उत्पादनमूलक र उद्यमशील बनाउनेतिर हाम्रो ध्यान जानुपर्छ । नागरिक उद्यामशील नभई न हामी समृद्धितिर जान सक्छौं न त राज्यले आर्थिक विकासमा फड्को मार्न सक्छ । यसै गरी राज्य जनताको सेवक बन्नुपर्छ । सरकारलाई शासक नभई सेवकका रूपमा पुनर्व्याख्या गर्नुपर्छ र हाम्रो राज्यचरित्रलाई त्यहीअनुसार रूपान्तरित गर्नुपर्छ ।

२.४. नेपाली मौलिकताको खोजी : हामीले सोच्नैपर्ने अर्को महत्त्वपूर्ण विषय नेपाली मौलिकताको खोजी हो । किनभने प्रत्येक देशको आफ्नै मौलिक राजनीतिक, आर्थिक, सामाजिक चरित्र हुन्छ । चीनले आफ्नै चरित्रको समाजवाद भन्छ । उत्तर कोरियाको आफ्नै छ । अमेरिकाको लोकतन्त्र र स्क्यान्डिनेभियन लोकतन्त्रका पनि फरकफरक मौलिकता छन् । भारतको लोकतन्त्र र बंगलादेशको लोकतन्त्र पनि फरक छ । यो विशेषतः ‘स्टेट क्राफ्टिङ’ सम्बद्ध कुरा हो ।

जस्तो, विगतमा हामी सानो र गरिब देशको हीनताबोधमा फस्यौं । हामी स्वयंले आफूलाई कमजोर र निम्छरो बनायौं । त्यसैको प्रतिक्रियास्वरूप हामी कोही अन्धराष्ट्रवादी भयौं, कोही प्रगतिशील राष्ट्रवादी, कोही लम्पसारवादी । यसलाई सुधार्नुपर्छ । खासमा देश गरिब हुनु वा सानो हुनु राष्ट्रियता कमजोर हुनु होइन । अतः यसको विकल्पमा हामीले स्वाभिमानपूर्ण, जनमुखी र परस्पर हितमा आधारित मौलिक भू–सम्बन्धसहितको देशभक्तिलाई प्रवर्द्धन गर्नुपर्छ । यो हाम्रो ‘स्टेट बिल्डिङ’ को एक महत्त्वपूर्ण आधार हो ।

हाम्रो अर्को विशेषता नेपालको विशिष्ट इन्द्रेनी सभ्यता हो । हामी धार्मिक रूपमा त विशिष्ट छौं नै, भौगोलिक रूपमा पनि विशिष्ट छौं । सामाजिक रूपमा पनि विशिष्ट छौं । हिन्दु, बौद्ध, किरातजस्ता हाम्रा धार्मिक आस्थाका केन्द्रहरू छन् । यो हाम्रो विशिष्टता हो । साथमा हिमालय पर्वतमालासहितको भौगोलिक विविधताले हामीलाई संसारकै अनौठो परिचय दिएको छ । यो भूगोल मात्र हैन, हाम्रो सभ्यता हो । यसरी हेर्दा, हामीसँग आध्यात्मिक, भौगोलिक र सामाजिक विविधताको अनुपम सभ्यता छ । अर्थात्, हामी न शुद्ध भौतिकवादी मात्र छौं न त शुद्ध अध्यात्मवादी । हामी न पश्चिमाजस्ता मात्र छौं, न त शास्त्रवादमा आधारित परम्परागत पूर्वीयाजस्ता । विविधताबीचको उदारता, सद्भाव, एकता र आध्यात्मिकता नै हाम्रो विशिष्टता हो । यो नै हाम्रो ‘स्टेट बिल्डिङ’ को अर्को आधार हो ।

३. पुनर्गठन र ध्रुवीकरण

तर माथिका सम्पूर्ण राजनीतिक कार्यभार पूरा गर्न हलचल चाहिन्छ । शक्ति चाहिन्छ । यसका लागि राजनीति ठीक हुनु आवश्यक छ । पार्टीहरू ठीक हुनु आवश्यक छ । नेतृत्व ठीक हुनु आवश्यक छ । यसर्थ नै राजनीतिक पुनर्गठन र अग्रगामी राजनीतिक ध्रुवीकरण आजको आवश्यकता हो ।

राजनीतिक, वैचारिक र सांगठनिक पुनर्गठनपछि मात्र राजनीतिले नयाँ बाटो समाउँछ । अनि मात्र संघीय लोकतान्त्रिक गणतन्त्र समृद्ध हुनेछ । अन्यथा राजनीतिक पुनर्गठनबिना गरिएका सुधारहरूले नयाँ परिणाम दिनेछैनन् । अतः अहिलेलाई यति भनौं— ‘पछाडि भयंकर अँध्यारो खाडल छ । त्यसैले अगाडि जानुको विकल्प छैन । मुख्य कुरा अगाडि जानेहरूबीचको ध्रुवीकरण वा सहकार्यर्ले नै भोलिको राजनीतिक विकल्प सुनिश्चित गर्नेछ । के यसका लागि तपाईं तयार हुनुहुन्छ ? मुख्य प्रश्न यही नै हो ।कान्तिपुर दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार
इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितको मागसहित प्राध्यापकहरू आन्दोलनमा
२०८२ असार २६, बिहिबार
प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी तीनदिन देखी सम्पर्कविहीन
२०८२ असार २६, बिहिबार
संघीय संसदका ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
२०८२ असार २६, बिहिबार